८ माघ, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको सडकमा कारको ठक्करबाट पाटे बाघ मरेपछि हिरासतमा रहेका कार चालक ६ लाख ५० रुपैयाँ धरौटी साधरण तारिकमा रिहा भएका छन् ।
बारा जिल्ला अदालतको अन्तरिम आदेशपछि कार चालक सर्लाही बलरा नगरपालिका–३ का ५३ वर्षीय अजय मिश्र रिहा भएका हुन् ।
जिल्ला अदालत बाराले ६ लाख ५० हजार धरौटी मागेर पुर्पक्षका लागि तारेखमा छोडेको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी रमेश यादवले जानकारी दिए ।
माघ ५ गते बारा अदालतले मिश्रलाई धरौटी बापतको रकम लिई तारेखमा छाड्न निकुञ्ज प्रशासनलाई आदेश दिएको थियो ।
पुस १८ गते शनिबार बिहान ७ बजे हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले आधाभार जंगल क्षेत्रमा पोथी पाटेबाघलाई ठक्कर दिएको थियो । सडक पार गर्न उफ्रिएको बाघको टाउकोमा कारले ठक्कर दिएपछि बाघको घटनास्थलमै मृत्यु भएको थियो ।