२ माघ, काठमाडौं । संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले माघ ३ गते देशभर गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवाले अपील गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलनमा रहेको नेपाली कांग्रेसले शनिबार देशभरका ७५३ वटै स्थानीय तहबाट सरकारविरूद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।
पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु ।’
‘भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु,’ देउवाले भनेका छन्।