२ माघ, नयाँदिल्ली । भारतको तीनदिने भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ ।
नयाँदिल्लीस्थित हैदरावाद हाउसमा केही बेरअघि भेटवार्ता सुरु भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल हुने बताइएको छ ।
दुई देशका विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गलालगायत सहभागी छन् ।
उहाँहरु बीचको भेटलगत्तै हैदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु हुनेछ । यो बैठक लामो समयदेखि हुन सकेको थिएन । बैठकमा छलफलका लागि दुवै देशले लगभग तीन दर्जना बढी एजेण्डा तय गरेको बताइएको छ ।
नेपाली पक्षले बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यद्यपि भारतीय पक्ष भने सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्र मन्त्रीस्तरीय आयोगको बैठकमा विस्तृत रुपमा छलफल गर्ने पक्षमा छ । बिहीबार साँझ भारतको विदेशमन्त्रालयले पनि त्यही धारणा सार्वजनिक गरेको थियो ।