२८ पुस, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले वैशाखमा हुने निर्वाचनको लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्।
प्रतिनिधिसभा विघटन गर्दै सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका अधिकृतहरूलाई आज गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन्।
उनले भने, “स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्, त्यसका लागि आवश्यक स्रोतसाधनको कमी भए मन्त्रालयलाई जानकारी गराउनुहोला, कुनै कमी हुन दिइने छैन।”
शान्तिसुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले गृह मन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरुप कामकारबाही अघि बढाउन निर्देशन दिए। उनले भने, ‘फिल्डमा उच्च मनोबलका साथ काम गर्नुहोस्। तपाईंहरुलाई कुनै चुनौती आए गृह मन्त्रालयबाट सहयोग र संरक्षण हुनेछ।’