२७ पुस, पर्सा । पर्सामा आफ्नै बुवा-आमाले छोरीको जलाएर हत्या गरेको खुलेको छ ।
गत कात्तिक २९ गते लक्ष्मीपूजाको दिन घरमा आगलागीमा परी १५ वर्षीया बालिकाको मृत्यु भएको भन्ने समाचार आएको थियो । तर, उक्त घटनामा छोरीको हत्या गर्न बाबु-आमाले घरमा नै आगो लगाएको रहस्य खुलेको हो ।
कात्तिक २९ गते पर्साको रामनगरीमा राती १० बजे एउटा घरमा आगो लागेको थियो । उक्त घटनामा परी १५ वर्षकी माना कुमारीको मृत्यु भएको थियो । दमकलको सहयोगमा आगो निभाइएपछि त्यहाँबाट १५ वर्षकी मानाको शव जलेको अवस्थामा फेला पारिएको थियो ।
सुतेको बेला घरमा आगलागी भएको भनेर बुवाआमाले दाबी गरेता पनि शंका लागेर थप अनुसन्धान गर्दा छोरीको हत्या गर्न घरमा नै आगो लगाएको घटना बाहिरिएको हो । १५ वर्षकी छोरी मानाले तल्लो जातको केटा मन पराएकै कारण बुवाआमाले मिलेमतोमा आगो लगाएर छोरीको हत्या गरेको पत्ता लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बताएका छन् ।
हत्याकी आरोपित लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा छोरीले तल्लो जातको केटा मन पराएको रिसमा घरमा नै आगो लगाएर छोरीको हत्या गरेको खुलेको हो ।
लालमतीका श्रीमान फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।