Logo

सन् २०२० मा विश्व घेराबन्दीमा चीन



Spread the love

एजेन्सी । सीको निरंकुशताको आलोचना सन् २०२० मा चीन विश्‍व आलोचना र विवादको केन्द्रमा रह्‍यो ।

सन् २०२० को सुरुवातसँगै चीनको वुहानबाट सुरु भएको कोरोना प्रकोपले विश्व महामारीको रुप लियो । चीनले कोरोना प्रकोपको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा विश्वव्यापी महामारीको रुप लिएको भन्दै संयुक्त राज्य अमेरिकालगायतका विश्‍वका मुलुकहरुले चीनको आलोचना गरे ।

कोरोना महामारीसँगै सुरु भएको सन् २०२० मा चीनको चर्को आलोचना थालेपछि चीनले उक्त विषयबाई विश्वको ध्यान मोड्‍न थप गल्तीहरु गर्दै लगेको पाइएको छ । अमेरिका, अस्ट्रेलियालगायतका मुलुकहरुले कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्न स्वतन्त्र टोली वुहान जानुपर्ने प्रस्ताव गरेका थिए ।

जसका कारण अस्ट्रेलियासँगको सम्बन्धमा पनि दरार पैदा भयो । चीनले आफ्ना छिमेकी मुलुकहरुमाथि सीमा अतिक्रमण र विस्तारवादको नीति अवलम्बन गर्‍यो । सोही अनुसार भारतीय भूभागमा दाबी गर्न सुरु मेदेखि सुरु भएको थियो । चिनियाँ विस्तारवादको नीतिको परिणामस्वरुपमा जुन १५ मा भारतीय सीमा सुरक्षामा खटिएका भारतीय सेनामाथि आक्रमण गर्‍यो ।

लद्दाखको गलवान भ्यालीमा भएको उक्त आक्रमणमा २० भारतीय सेनाको मृत्यु भयो । चीनले भने आफ्नोतर्फबाट भएको सेनाको क्षतिको विवरण भने गुपचुप राख्‍यो । २१ औं शताब्दिमा पनि हिंसात्मक आक्रमण गर्ने चिनियाँ कदमको विश्वभर निन्दा भयो र भारतको समर्थन गरियो । त्यसको प्रतिशोधस्वरुपमा भारतले विभिन्‍न चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगायो भने चिनियाँ उत्पादन बहिष्कार गर्ने अभियान चलायो ।

यो अभियानमा विश्वका अन्य मुलुकहरुमा पनि चलाइयो । अमेरिका, बेलायतलगायतका मुलुकहरुले चिनियाँ टेक जाइन्ट हुवावेमाथि प्रतिबन्ध लगाए । भारत, पाकिस्तानलगायतका मुलुकहरुम चिनियाँ भिडियो एप टिकटकलगायतका एक सयभन्दा बढी एपहरुमाथि प्रतिबन्ध लगाइयो । चीनले जुन अन्तिममा हङकङको स्वतन्त्रता नै नियन्त्रणमा लिने गरी नयाँ सुरक्षा कानुन लागु गर्‍यो । यस कानुनको पनि चर्को आलोचना र निन्दा भयो ।

एक मुलुक दुई प्रणाली भनेर बेलायतसँग गरेको सम्झौता चीनले उल्लंघन गरेको भन्दै हङकङबासीको स्वतन्त्रता खोसिएको भन्दै चर्को आलोचना भयो । चीनले हङकङमा सन् २०१९ देखि प्रजातन्त्र र स्वतन्त्रताको माग गर्दै आएकाहरुलाई नियन्त्रणमा लिने र यातना दिने काम थाल्‍यो ।

सन् २०२० मा चीनमा एक सयभन्दा बढी पत्रकार र अधिकारकर्मीहरुलाई नियन्त्रणमा लिइयो । सन् २०२० मै उइगरहरुमाथिको नरसंहारलाई थप बल पुर्‍याएको, धार्मिक र सांस्कृतिक स्वतन्त्रता कुण्ठित गरेको भन्दै मानवअधिकारवादी संगठनहरुले चर्को आलोचना गरेका छन् ।

समग्रमा भन्दा चीन सन् २०२० मा विश्वको नजरमा निकै तल खसको पाइन्छ । विश्वको घेराबन्दीमा परेको भन्दा पनि फरक पर्दैन ।

प्रतिक्रिया दिनुहोस्