Logo

ट्रम्प समर्थकद्वारा संसद् भवनमा हङ्गामा



Spread the love
अमेरिका

एजेन्सी। अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले संसद भवन क्यापिटलमा पसेर हङ्गामा गरेका छन्। अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो।

सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्यसपछि बहस रोक्नु पर्‍यो। ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए ।

थप सुरक्षा बल तैनाथ

अवस्था नियन्त्रण बाहिर गएपछि न्याशनल गार्डलाई क्यापिटल हिल पठाइएको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीट गरेर त्यसको जानकारी दिएकी हुन्।

उनले ट्वीटमा लेखकी थिइन्, “राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा न्याशनल गार्ड अन्य संघीय रक्षा सेवाहरूका साथमा बाटोमा छन्। हामी हिंसाविरुद्ध र शान्ति कायम राख्नका लागि राष्ट्रपतिको आग्रह पुन: दोहोर्‍याउँछौँ।”

क्यापिटल भित्र भिड अनियन्त्रित र हिंसक भएपछि क्यापिटल हिल प्रहरीले थप सुरक्षाबल पठाउन माग गरेको थियो। एउटा नाटकीय दृश्यमा प्रदर्शनकारीहरू उक्त भवनभित्र झुन्डमा प्रवेश गरेका थिए। त्यसबेला सांसदहरूलाई चाहिँ प्रहरीले सुरक्षा दिएर बाहिर ल्याउँदै थियो।

कङ्ग्रेसको एउटा संयुक्त सत्रले इलेक्टोरल कलेज मतको गणना गरेर त्यसलाई पुष्टि गरिरहेको थियो। प्राय: उक्त प्रक्रिया संक्षिप्त हुने गर्छ तर रिपब्लिकन सांसदहरूले केही मतपरिणामलाई अस्वीकार गरिरहेका थिए।

बाइडनको जितलाई रोक्ने कुनै पनि प्रयास विफल हुने निश्चित छ। केही दिनदेखि राष्ट्रपति ट्रम्पले उक्त सत्रको अध्यक्षता गर्ने उप-राष्ट्रपति माइक पेन्समाथि पनि मत परिणामलाई प्रमाणिकरण नगर्न दबाब दिइरहेका छन्।

तर बुधवार पेन्सले कङ्ग्रेसलाई लेखेको पत्रमा “कुन इलेक्टोरल मतको गणना गर्नुपर्छ भन्ने निर्णय गर्ने एकाधिकार” आफूसँग नभएको उल्लेख गरेका छन्। तर पनि ट्रम्पले आफ्नो हार प्रमाणिकरण रोक्न अन्तिम अस्त्र प्रयोग गरिरहेका छन्।

बाइडनले के भने?

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भिडलाई “पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन” आग्रह गरे।

उनले भने, “यो कुनै विरोध होइन। यो एउटा विद्रोह हो। डोनल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेरबन्दीलाई समाप्त पार्ने माग गरुन्।” उनले “अति भएको” पनि बताएका थिए।

एउटा अर्को ट्वीटमा उनले क्यापिटल बिल्डिङमा केही व्यक्तिहरूले जे गरे ती कानुन अवज्ञा गर्ने अतिवादी मानिसहरू भएको लेखेका छन्। उनले त्यसलाई देशद्रोह भनेका छन्।

ट्रम्पको आग्रह

राष्ट्रपति ट्रम्पले चाहिँ समर्थकहरूलाई शान्ति बनाइराख्न आग्रह गरेका छन्। उक्त घटनापश्चात् ट्रम्पले एउटा भिडिओ सन्देश जारी गरेर प्रदर्शनकारीहरूलाई घर फर्किन आग्रह गरेका छन्।

उनले भनेका छन्, “एउटा चुनाव भयो त्यसलाई हामीबाट चोरेर लगियो। त्यो एउटा उत्साहपूर्ण चुनाव थियो यो सबैलाई थाहा छ, विशेषगरी अर्को पक्षलाई थाहा छ। तर अहिले तपाईँहरूले घर जानुपर्छ। हामीले शान्ति कायम गर्नुछ। हामीले कानुन-व्यवस्था कायम राख्नुछ। हामी चाहन्छौँ कसैलाई क्षति नपुगोस्।” बिबिसी 

प्रतिक्रिया दिनुहोस्