मनिषा भण्डारी
मेरी आमा, तपाई त्यो टालेको चोलीमा पनि कति सुन्दरी देखिनु हुन्थ्यो है …
आमा, म जन्मिदा तपाईको मुहारमा पक्कै पनि खुशीको भिन्नै रंग छायो होला। मनमा छुट्टै आनन्द प्राप्त भयो होला। आफू आमा बनेकोमा संसार नै जितेको जस्तो अनुभव भयो होला। जुन खुसी, जुन आनन्द एक आमाले मात्र महसुस गर्न सक्नु हुन्छ । तर, जीवनमा खुसी मात्र आउँछ भन्न कहाँ सकिन्छ र! सँग-सँगै दु:ख पनि त खुसीको साथी बनेर आउँछ नि है आमा! तपाईंलाई पनि मनमा अर्को त्रास पक्कै उत्पन्न भयो होला। हिजो सम्म त म आफ्नो एक्लो पेटको जिम्मेवारी थिए। जसोतसो पाल्न सक्थे। अब त मलाइ दुईवटा पेटको जिम्मेवारी थपियो, कसरी पूरा गरु भनेर!
मेरी आमा, तपाई जाडोले थुरथुर काप्न्नु भयो होला। सुत्केरी हुँदा लगाउने नयाँ, न्यानो लुगा याद आयो होला जुन तपाईंसँग थिएन। छेउमा म जाडोले थुरथुर काँप्दा आफ्नो धोतीको फेरले मलाई बेटारेर न्यानो बनाउन खोज्नुभयो। आफ्नो एक्लो जिन्दगी सम्झिनु भयो होला। आफु माइतीमा हुँदा भएको सुखको याद आयो होला। आफ्नी आमालाई सम्झिनु भयो होला। आफू सँगैको साथीको सुख देख्नु भयो होला। अनि, सबै सम्झेर त्यो बन्द कोठामा एकैचोटी भक्कानिएर रुनु भयो होला। त्यो हजुरको रुवाइ सुनिदिने म मात्र थिए तर मैले हजुरको दु:ख के बुझ्न सक्थे र!
हिजोसम्म एकाबिहानै उठेर जसोतसो कम्मरमा पटुकी कसेर काममा निक्लने मेरी आमा अब त मेरो चर्को रुवाइले तपाईको चल्दै गरेको पाइला पनि अड्किन्थ्यो होला। तपाईं प्रष्टसँग बुझ्न सक्नु हुन्थ्यो होला मेरो चर्को रुवाइले मागेको तपाईको सहारा र खाली पेटले मागेको आहारा। सुत्केरी हुदाँ गर्नु पर्ने आराम पनि तपाईंको लागि सपना जस्तै भयो। म दुई तीन दिनको हुदाँ नै तपाई आफ्नो काममा खटिन थाल्नु भयो। आफ्नो पेट भर्न नै बिर्सिनु भयो। मलाई देखेर आफ्नो ख्याल राख्न नै भुल्दै जानुभयो। आफू नखाए पनि मलाई भने भोको रहन नदिने तपाईंको बानी भैसकेको थियो। तर आमा म जति तपाईंको दुध चुस्दा पनि रुन छोड्दिन थिए, तपाईलाई लाग्थ्यो होला खाना दिदाँ पनि किन रोएको? आमा, म भोको नरहनको लागि पहिले तपाईंको पेट भरी हुनु पर्थ्यो। तपाईले जे खायो, त्यही खाएर म बाँच्थे। जब तपाई नै आफ्नो पेट भर्न बिर्सिनुभयो अनि म कसरी तपाईंको दूध चुसेर मेरो पेट भर्न सक्थें!
तपाईको जीवन संघर्षमय बन्यो। मलाई घरमा एक्लो छोड्न तपाईंको मन मान्दैन थियो। सँगै च्यापेर लिँदा तपाईलाई म सजिलै काम गर्न दिदिनँ थिए होला। मेरी आमा आफुले टालेको चोली लगाएर हिड्नु भयो। मेरो खुसीको पछाडि दौडिँदा दौडिँदै आफ्नो खुसी आफ्ना इच्छा-चाहना सबै भुल्दै जानुभयो। म नयाँ नाना भन्दै चिच्याउँदा तपाईले जसोतसो जम्मा गरेको त्यो टालेको चोलीको गोजीमा भएको पैसा झिक्दै किनिदिनु भयो। गोजीमा बाँकी पैसा नभएर होला, आफ्नो चोली फेर्ने भएको छ भन्ने कुरा तपाईको दिमागमा आउनै छोड्यो। मेरी आमा दिउँसोभरी काम गर्दा भोक त पक्कै लाग्यो होला, तैपनी तपाईको टालेको चोलीको गोजी खाली देखेर होला तपाईले आफ्नो भोक नै बिर्सिन थाल्नु भयो। छिमेकी आन्टीले खान दिएको मिठाई खान मन लाग्यो होला तर मुखमा मात्र के राख्न थाल्नु भएको थियो, मेरो यादले मुखमा हैन पटुकीमा राख्न बाध्य बनायो। मेरी आमा म कसरी बुझ्न सक्थे तपाईको दु:ख तपाईको भोक म त बस् आफ्नै खुसीको लागि चिच्याउँथें, तपाईलाई दु:ख दिन्थें।
मेरी आमा, आफ्नो सँगैको साथीहरु सुनले नयाँ सारी चोलीले सजिएको देख्दा कति मन रोयो होला। उनीहरुको अगाडि जान मन लागेन होला तर पनि तपाईं आफ्नो साथीको लुगा भन्दा पहिले साथीको छोरीको लुगा हेर्नुहुन्थ्यो र मलाई त्यस्तै किनिदिने अठोट गर्नुहुन्थ्यो। धेरै कामको व्यस्तताले होला, आमा तपाईको आफ्नो कपाल नकोरेको पनि हप्तौं बित्थ्यो तर पनि मलाई भने चिटिक्क पारेर स्कुल पठाउन खोज्नुहुन्थ्यो। मेरी आमा, तपाई आफू कहिले आफ्नो साथीहरु जस्तो बन्न खोज्नुभएन तर मलाई भने कहिले साथीहरुको छोरी भन्दा कम हुन दिनुहुन्नथ्यो। आफ्नो लागि तातो पानी तताएर पिउने फुर्सद नहुने दिउँसोको कामले थाकेकी मेरी आमा म बिरामी हुँदा रातभरी कसरी अनिँदो बसी मलाई काखमा सुताउन सक्नुहुन्थ्यो होला।
मेरी आमा म तपाईलाई टालेको चोलीमा पनि सबैभन्दा सुन्दरी देख्थें। किनकी तपाईंको चोली पो फाटेको थियो। आमा सुन्दरता त फाटेको थिएन नि, चोली टालेको थियो। आमा तर तपाईंको मन त टालेको थिएन नि, मन खुल्ला थियो। तपाईको चोलीमा कालो दाग लागेको थियो होला तर तपाईंले हेर्ने ती आँखामा कुनै दाग थिएन। मेरी आमा, तपाईको मन कति सफा, कति निस्वार्थ प्रेम दिएर हुर्काउन जान्नु भएको। कहाँ थियो होला, तपाईको दु:ख बिसाउने चौतारी, कहाँ थियो आमा तपाईको आँसु लुकाउने ठाउँ! मेरो अगाडि सधैँ खुसी भएर उपस्थित हुन खोज्नुहुन्थ्यो, मेरी आमा तपाईको मन कुन कुराले बनेको छ होला! किन यति कोमल छ।
मेरी आमा, संघर्ष नै संघर्षले भरिएको तपाईको यो जीवनको यात्रामा कति दु:ख कष्टका अनुभव छन् होला। आमा, म यो तपाईको संघर्षमय जीवनको यात्रा कल्पना मात्र गर्दा पनि झस्किन्छु। कति महान् हुन्छन् है, आमा त्यसैले त यो ‘आमा’ शब्द यति अमुल्य छ।
सम्पादकीय नोट : सल्लेरी खबरले नवप्रतिभालाई विशेष स्थान दिँदै आएको छ । तपाइले पनि कलम चलाउने प्रयास गर्दै हुनुहुन्छ भने [email protected] मा आफ्नो लेख /रचना पठाउन सक्नुहुनेछ ।