११ पुस, एजेन्सी । अफ्रिका आईले केन्याको राजधानी नाइरोबीमा हुने बच्चा बेचबिखनको कालोबजारबारे हालै एउटा समाचार प्रकाशित गर्यो।
उक्त समाचार छापिएपछि बेचबिखनको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। तर यस्ता गैरकानुनी काममा संलग्न अर्को पक्षमा रहेका महिलाहरूको धारणा के छ? आफ्नो बच्चा ७० पाउन्डमा बेच्न एउटी आमालाई के कुराले बाध्य पार्यो?
आमाबुवा हुँदा आफ्नो जीवन सहज भएको अदामा बताउँछिन् । पैसा हुँदैनथ्यो, उनका लागि विकल्पहरू त्यतिबेला नै सीमित थिए। उनी विद्यालय गइन् र रमाइलो मानिन्। उनका बुवा उनी १२ वर्ष हुँदा बिते र त्यसकै केही वर्षमा आमा पनि बितिन्।
“त्यसपछि जीवन निकै कठिन भयो,” पश्चिम केन्याको ग्रामीण भेगमा रहेको उनको गाउँमा कुरा गर्दै उनले भनिन्। “म विद्यालयबाट बाहिरिनुपर्यो र आफ्ना लागि आफैँले केही गर्नुपर्ने भयो।”
बाइस वर्षकी हुँदा अदामाको एकजना पुरुषसँग भेट भयो। उनी गर्भवती भइन्। तर उनीहरूको छोरी जन्मिएको तीन दिनपछि ती व्यक्तिको मृत्यु भयो। उनको एक्लोपन अझ बढ्यो। बिरामी भइरहने शिशुलाई उनले जेनतेन १८ महिनाकी बनाइन्। त्यसपछि बाँच्नका लागि उनलाई तत्काल पैसा चाहिने भयो। उनले सानी छोरीलाई वृद्ध हजुरआमासँग छोडेर काम खोज्नका लागि नाइरोबी गइन्।
“तैँले तेरो बच्चाको लागि एउटा जीवन दिन गइरहेको कुरा नबिर्सेस्,” उनकी हजुरआमाले भनिन्। अदामा नाइरोबी आइपुगिन् र त्यहाँका गल्लीहरूमा खरबुजा बेच्न थालिन्। तर त्यसबाट त्यति कमाइ हुँदैनथ्यो र जति कमाइ भएको थियो त्यो पनि उनी घरमा नभएको बेला उनीसँगै एउटै घरमा बस्नेले चोरिदिइन्। सहरमा पनि जीवन सहज थिएन। केशभन्दा तल निधारको माथिपट्टि उनको एउटा खत छ। आफ्नो बचाउ गर्दा उनलाई त्यस्तो भएको हो।
“केही पुरुषहरू मसँग जिस्किरहेका थिए र एउटा यस्तो समय आयो मैले उनीहरूसँग लड्नैपर्यो,” उनले भनिन्।त्यसपछि उनी निर्माण कार्य भइरहेको ठाउँमा काम गर्न गइन्, जहाँ उनलाई पैसा दिइएन र त्यसपछि उनी नाइटक्लबमा काम गर्न गइन्। त्यहाँका हाकिमलाई उनले काम गरेबापतको पैसा गाउँमा रहेकी हजुरआमालाई सीधै पठाइदिन भनिन्।
त्यसको केही समयपछि डेरा गरेर बस्न सकियोस् भनेर उनले अलि धेरै तलब आउने नयाँ काम खोजिन्। निर्माणकार्य हुने त्यो ठाउँमा भने अलि राम्रो पैसा आउँथ्यो र त्यहाँ उनले एकजना मानिस भेटिन्। उनीहरू एकअर्कासँग भेट गर्न थाले र ती पुरुषले आफूलाई बच्चा चाहिएको बताए।
अदामाले पनि एउटा प्रस्ताव गरिन् – यदि उनकी छोरीलाई सँगै राख्ने भए बच्चा जन्माउन सकिन्छ। ती पुरुषले सहमति जनाए र गर्भवती भएको पाँच महिनासम्म डेराको भाडा र खानेकुराको पैसा तिरिदिए। अदामा भने आफ्नी छोरी सहरमा कहिले आइपुग्लिन् भनेर कुरिरहेकी थिइन्। तर एकदिन ती पुरुषले उनलाई छोडेर गए र कहिल्यै आएनन्।
आफैँलाई पाल्न पर्याप्त पैसा नभएका थुप्रै महिलाहरू गर्भवती भएर बच्चा जन्मिएपछि आफू एक्लैले दुई जना हेर्नुपर्ने अवस्थाले कति तनाव हुन्छ भन्नेबारे जानकार छन्। कुनै अपरिचितलाई आफ्नो बच्चा बेच्नेबारे धेरैले सोच्न पनि सक्दैनन्। तर केन्यामा गरिबीमा रहेका केही त्यस्ता आमाहरू छन् जसका लागि बाँच्ने सीमित विकल्पमध्येको अन्तिम भनेको आफ्नो बच्चा तस्करलाई बेच्नु हो।
तस्करहरूले अचम्म लाग्नेगरी निकै कम पैसा दिन्छन्। आफ्नो दोस्रो सन्तान पेटमा आउँदा सारा जम्मा १७ वर्षकी थिइन् र उनका अनुसार बच्चालाई हुर्काउनका लागि उनीसँग कुनै स्रोत थिएन।
उनले आफ्नो सन्तान एकजना महिलालाई बेचिन् जसले उनलाई करिब २० पाउन्ड दिने प्रस्ताव राखिन्। “त्यो बेला म सानै थिएँ, मैले जे गरेँ त्यो गलत हो भनेर मलाई कहिल्यै लागेन,” उनले भनिन्। “पाँच वर्षपछि भने मलाई त्यो कुराले दुःख लाग्यो र मैले त्यो पैसा फिर्ता गर्न चाहेँ।”
उनले त्यति नै पैसामा अरू महिलाले पनि बालबालिका बेचेको आफूलाई थाहा भएको बताइन्। “चुनौतीका कारण थुप्रै किशोरीहरूले बच्चा बेच्छन्। विद्यालयमै भएको बेला किशोरीहरू गर्भवती हुन्छन् र सायद घरमा गर्भवती भएको कुरालाई लिएर आमाहरूले कचकच गरिरहन्छन्। अनि १५/१६ वर्षका किशोरीका लागि त्यो ठूलो समस्या हो।”
अफ्रिकी देशमध्ये किशोरावस्थामै गर्भवती हुने देशमा केन्या पनि एक हो। स्वास्थ्यविज्ञहरूका अनुसार कोरोनाभाइरसको महामारीका बेला यो समस्या झन् बढेको छ र केही महिलाहरू यौन क्रियाकलापमै धकेलिएका छन् र केही विद्यालयले छोडेका छन्।
“यस्तो अवस्थामा रहेका थुप्रै महिला र किशोरीहरूका कथा मैले सुनेकी छु। भर्खरका युवतीहरू जागिरको खोजीमा सहर आउँछन् सम्बन्धमा रहन्छन् र गर्भवती हुन्छन्। अनि उनीहरूलाई पुरुषले छोडेर भाग्छ,” केन्याकी मानवअधिकारको क्षेत्रमा कार्यरत वकिल प्रुडेन्स मुटिसोले भनिन्। “बुवाले नहेर्ने भएपछि यी महिला र युवतीहरूले पैसा कमाउने बाटो खोज्छन्। र, यही अवस्थाले उनीहरूलाई बच्चा बेचबिखन गर्ने तस्करहरूसम्म पुर्याउँछ। मानिसहरूले यसबारे खुलेर भन्दैनन् तर यही नै भइरहेको छ।”
अदामाले निर्माण क्षेत्रमा काम गर्दा आफूले सिमेन्टका गह्रुङ्गो भारी बोक्न सक्दासम्म गर्भवती भएको कुरा लुकाइन्। तर पछि उनले भाडा तिर्नै सकिनन्। तीन महिनासम्म त घरपतिले केही भनेनन् तर त्यसपछि चाहिँ निकालिदिए। “भाग्यले कहिले खानेकुरा पाउँथेँ,” उनले भनिन्, “कहिलेकाहीँ पानी मात्रै पिउँथेँ, प्रार्थना गर्थेँ र सुत्थेँ।” बिबिसी