२०४० साल जेठ १ गते ।
आरुघाटको भीमोदय स्कूलमा कक्षा तीनमा भर्ना भएर औपचारिक रुपमा विद्यार्थी बनेको मेरो पहिलो दिन ।
त्यतिबेला मैले भर्खर छ वर्षको उमेर पूरा भएर सात लाग्दै थिएँ ।
जेठको महिना । बिहान देखि नै चर्किदैं गरेको घाम । हलक्क बढेको मकैबारी । सिखटारको अम्रेनी डिलबाट ठाडै झरेको ओरालो बाटो, फैलिन बाँकी नै रहेको त्यस बखतको विशालनगर र त्यसलाई बुढीगण्डकी नदीको झोलुंगे पुलले जोडेको आरुघाटको पुरानो बजार । बजार कटेपछि बुढीगण्डकी नदीको छेउ हुँदै आँपको बगैंचासम्मको पुगेको तेर्सो बाटो । म यिनै बाटो हुँदै पुगेको थिएँ, आँपको बगैंचाभित्र रहेको भीमोदय स्कूल, जहाँ तीन कक्षामा भर्ना भएर स्कूलको औपचारिक पढाइमा जोडिएको थिएँ ।गर्मीले गर्दा वैशाख, जेठको महिनामा बिहानको समयमा पढाई हुन्थ्यो ।
धादिङ जिल्लाको उत्तर पश्चिमी कुनामा उत्तर दक्षिण लमतन्न परेको सल्यानटार । त्यसै सल्यानटार उत्तरतिर साँघुरिंदै जान्छ र उत्तरको शिखर भागमा अवस्थित गाउँ छ – सिखटार । टारको पूर्वी छेउ हुँदै गएको बाटोसँग जोडिएर बसेका घरहरु । देविस्थानको कमलादेवी मन्दिर कटेपछि आउँछ, क्षेत्री, ब्राम्हण र नेवारहरु मिलेर बनेको बस्ती सिखटार ।
त्यसै सिखटारको सिरानतिर रहेको हाम्रो घर । त्यतिबेलासम्म हाम्रो आफ्नै गाउँमा प्राथमिक स्कूल खुलिसकेको थिएन । बुबा घरबाट एक घण्टा जति उकालो चढेर पुगिने आघिञ्चोकको स्कूलमा प्रधानाध्यापक हुनुहुन्थ्यो । सल्यानटारकै माझगाउँमा रहेको अर्को प्राथमिक स्कूल पुग्न एक घण्टाको तेर्सो बाटो हिंड्नुपर्थ्यो । आरुघाटको भीमोदय मावि पुग्न पनि ठाडो ओरालो सहितको त्यस्तै एक घण्टा हिंडाइको बाटो । मेरा दाइ, दिदी आरुघाटकै स्कूलमा पढ्नुहुन्थ्यो ।
बुबाआमाले छ वर्ष नपुगीकन मलाई स्कूल भर्ना नगरिदिने सोचमा हुनुहुन्थ्यो । सानो उमेरमा घरमै पढ्न थालें । अक्षर चिन्न भने आमाकै काखबाट सिक्न थालें भन्दा हुन्छ । अहिलेजस्तो पूर्व प्राथमिक स्कूलको चलन थिएन । तीन वर्षको उमेरदेखि अंक, अक्षर चिन्न शुरु गरें, जबकि बुबाआमाको कान्छो सन्तान हुनुको नाताले पाँच वर्षसम्म त मैले आमाको स्तनपान नै गरेको थिएँ । मैले तीन वर्षदेखि छ वर्षको उमेरसम्ममा घरमै बसेर बुबाआमाबाट पढ्न सिकें । एक देखि तीन कक्षासम्मको किताबहरु पढें । घरमै पढे पनि पढाइमा तेज भएका कारण एकैचोटि चार कक्षामा भर्ना गरिदिने कि भन्ने कुरा पनि उठ्यो घरमा, तर उमेर सानो भएको, कक्षामा अरुसँग उमेरको भिन्नता धेरै हुने र चार कक्षामा अंग्रेजी, विज्ञान लगायतका धेरै विषय एकैचोटि पढ्न अलिक अप्ठेरो होला भनेर बुबाआमाले मलाई तीन कक्षामा भर्ना गरिदिने निर्णय लिनुभयो ।
पहिलो दिन स्कूल जाने भनेपछि बुबाले नयाँ शर्ट, पाइन्ट किनेर ल्याइदिनुभएको थियो । आकाशे पृष्ठभूमिमा साना गोला बुट्टा भएको त्यो शर्ट र खरानी रंगको पाइन्ट अझै सम्झन्छु । त्यतिबेलासम्म स्कूलहरुमा स्कूल पोशाक तोकिने चलन आइसकेको थिएन । बिहान आमाले घरमा पुजाआजा गरेर निधारमा टिका लगाइदिनुभयो । बुबाको हात समात्दै आरुघाटको स्कूलतिर लागें । नयाँ लुगा लगाएर स्कूलतिर लाग्दा मनभरि अलिकति खुशी, अलिकति उमंग, अलिकति डर र अलिकति लाज पनि लागिरहेको थियो । बाटोमा भेटिएका गाउँलेहरुले बुबालाई “ए कान्छो पनि आजदेखि स्कूल जान लाग्यो” भन्थे ।
हुनत यसअघि पनि आरुघाटको स्कूलमा पुगेको थिएँ । आरुघाटमा वीरेन्द्र शील्ड खेलकुद प्रतियोगिता आयोजना हुँदा, मुनामदनको नाटक देखाईंदा र दाइ, दिदीलाई शायद छ कक्षामा भर्ना गर्दा त्यस स्कूल पुगिसकेको थिएँ ।
मेरो बुबाले पनि यही भीमोदय माविमै पढ्नुभएको थियो ।२०१५ सालतिर बुबालाई पढाउनुहुने स्कूलका शिक्षक गुरु लक्ष्मीकान्त शर्मा खनालले अझै पढाउँदै हुनुहुन्थ्यो ।बुबाका कतिपय समकालीन सहपाठीहरुले पनि यसै स्कूलमा पढाइराख्नु भएको थियो ।
बुबाले मलाई भर्ना गर्ने औपचारिक प्रयोजनका लागि बुबाको स्कूलबाट दुई कक्षा उत्तीर्णको चिठी तयार पार्नु भएको थियो । भीमोदय स्कूलमा त्यो चिठी दिनुभएपछि बुबासँग चिरपरिचित गुरुहरुले “तपाईंले भनेपछि भइहाल्थ्यो नि । किन चिठी बनाउनु पर्थ्यो र ?” भन्नुभयो । बुबाले त्यस भेगका धादिङका विभिन्न स्कूलहरुमा २०२४ सालदेखि निरन्तर अध्यापन गराउँदै आउनुभएकोले बुबा शिक्षाक्षेत्रमा त्यतातिर सम्मानित रुपमा चिनिनुहुन्थ्यो ।
बुबाकै समवयी गणेश सर (गणेश कुमार श्रेष्ठ, आरुटार) ले मलाई तीन अंक जोड्ने एक सामान्य प्रश्न दिनुभयो । जोड्दा २२ हुन्थ्यो । तीन कक्षामा पढ्न चाहनेलाई पनि यति सजिलो प्रश्न किन दिनुभएको होला भनेर सोचे मनमनै, तर हतारले हो वा आत्तिएर, मैले त २१ पो लेखेछु ।
त्यतिबेला स्कूलमा तीन वटा भवनहरु थिए । जस्तापाताले छाएको उत्तरपट्टिको लामो पाँच कोठे भवन थियो भने दक्षिण पट्टि ढुंगाले छाएको भुईंतले लामो एक कोठे लामो भवन र त्यससँगै पश्चिमपट्टि जोडिएको दुई तले भवन । दुई तले भवन शिक्षक, प्रधानाध्यापकहरु बस्ने, विद्यार्थी भर्ना लगायतका कार्यालयगत काममा उपयोग भएको थियो । बिचको चौर बिहान प्रार्थनासभा गर्न र दिउँसो खेल्नमा प्रयोग हुन्थ्यो । चौरको उत्तरमा जस्तापाताले छाएको पाँचकोठे एक तले भवन थियो । त्यसै भवनको पश्चिमपट्टिको छेउको कोठामा तीन कक्षाको पढाई हुने रहेछ । केहीछिन पछि पढाई भईराखेको त्यही तीन कक्षाको कोठामा गएँ । म कक्षाकोठामा पुग्दा नेपाली विषयको पढाई भईराखेको थियो । त्यतिबेला पुषबाट शैक्षिकसत्र शुरु हुनेभएकोले जेठ १ गतेसम्ममा किताबको आधाउधि पढाइ भइसकेको रहेछ । मेरो रोल नंबर भयो – ३९ । सबभन्दा पछि भर्ना भएकोले कक्षामा मेरो रोल नम्बर सबभन्दा अन्तिम बन्यो ।
हामीलाई तीन कक्षामा नेपाली विषय विणा मिस (विणा श्रेष्ठ), सामाजिक शिक्षा गायत्री मिस (गायत्रीदेवी श्रेष्ठ) र र गणित लक्ष्मी मिस (लक्ष्मी श्रेष्ठ)ले पढाउनुहुँदो रहेछ । वहाँहरु सबै आरुघाट बजारको हुनुहुन्थ्यो । कक्षामा म सबैभन्दा सानो थिएँ । अरु प्राय: सबै म भन्दा दुई तीन वर्षदेखि आठ-दश वर्ष सम्म बढी उमेरका थिए । त्यतिबेला जेठमा अर्ध वार्षिक परीक्षा हुन्थ्यो भने मंसिरमा अन्तिम परीक्षा हुन्थ्यो । म भर्ना भएको समयमा त अर्ध वार्षिक परीक्षा निकै नजिक आईसकेको थियो । गएको पाँच महिनामा सकिएका पाठहरु म आफैंले एक महिनाभीत्र पढ्नुपर्ने अवस्था आयो ।
पढाई हुँदा कक्षा कोठामै केही प्रश्नहरु हल गर्न, लेख्न पनि दिइन्थ्यो । यसअघि घरमै अध्ययन गरेकोले मेरो नियमित रुपमा लेख्ने, गृहकार्य गर्ने अभ्यास थिएन । एक कक्षादेखि नियमित रुपमा स्कूलमा पढ्दै आएका विद्यार्थीहरु जति छिटो र राम्रोसँग लेख्न सक्दिनथें । शुरुका दिनहरुमा मिसले कालोपाटीमा चकले लेखेर दिनुभएका गृहकार्यका प्रश्नहरु सार्न भ्याउँदिनथे । एक दुई वटा आन्तरिक परीक्षा प्रश्नहरु त मैले सारेरै भ्याउन सकिंन कहिलेकाहीं मिसहरुको गाली पनि खाइयो । यसरी प्रश्न सार्न समेत नसक्नेमा म लगायत कक्षाका अरु एक दुई जना सबभन्दा लद्दु विद्यार्थीहरु मात्र हुन्थे । मनमा साह्रै दु:ख लाग्थ्यो । शुरुका दुई तीन हप्तामा मेरो अक्षर पनि त्यति राम्रो थिएन । विना मिसले मलाई “अनुहार चाहिं यति राम्रो छ, अक्षर चाहिं किन यति नराम्रो लेखेको?” भनेर बेलाबेलामा हप्काउनुहुन्थ्यो ।
तर कक्षामा पढाइने पाठहरुको प्रश्न सोध्दा जवाफ दिन भने मलाई कुनै कठिनाइ हुन्थेन । सामाजिक शिक्षाको पहिलो दिनको कक्षामा धनुषा जिल्लाको विषयमा पढाइ भएको थियो । त्यतिबेलाको तीन कक्षाको किताबमा गोरखा र धनुषा जिल्लाको परिचय बारेको पाठ थियो । मलाई गायत्री मिसले त्यसदिन ‘धनुषा जिल्लाका मानिसहरुको प्रमुख खाना के हो?’ भनेर सोध्नुभएको प्रश्न मेरो स्कूल जीवनमा मलाई सोधिएको पहिलो प्रश्न थियो ।
स्कूल जानुअघि नै सामान्य जोड, घटाउ, गुणा, भाग गर्न सक्ने भईसकेको थिएँ । सामान्यतया: प्रावि तहका विद्यार्थीहरुले १ देखि १० सम्मको गुणा तालिका कण्ठस्थ पार्नुपर्थ्यो । स्कूल भर्ना अघि नै मलाई बीससम्मको गुणा तालिका कण्ठस्थ भईसकेको थियो । कहिलेकाहीं चार कक्षामा पढ्ने विद्यार्थीहरुले समेत मलाई उनीहरुको किताबको गणितको प्रश्न हल गर्न र बीससम्मको गुणा भन्न लगाउँथे । म त्यसको सही किसिमले उत्तर दिन सक्थें । पछिपछि त माथिल्लो कक्षाका विद्यार्थीहरु पनि मसँग विशेषगरी गणितका प्रश्नहरु हल गर्न सिकिमाग्न आउँथे । यो क्रम कक्षा दशसम्म यदाकदा चलिरह्यो ।
दुई तीनहप्तापछि मेरो नेपाली लेखाईमा अलि अलि सुधार हुँदै गयो । जेठको अन्तिमतिर लिइएको अर्ध वार्षिक परीक्षामा पनि सबै विषयमा उत्तीर्ण हुनसकें । जेठपछि असार, साउन दुई महिना वर्षे विदा हुन्थ्यो । त्यस समयमा प्राय: हामी सबैजसो खेतीपातीका काममा व्यस्त हुन्थ्यौं । भदौबाट मात्र फेरि कक्षा शुरु हुन्थ्यो ।
म प्राय: दाइ दिदीसँगै घरबाट स्कूल आउजाउ गर्ने गर्थें । समय बित्दै गएपछि बिस्तारै मेरो पढाइ पनि कक्षाका अन्य विद्यार्थीहरुको दाँजोमा पुग्न थाल्यो । नेपाली पढाउनुहुने विना मिसले बेलाबेलामा दन्त्य कथाहरु सुनाउनुहुन्थ्यो । ती मध्ये छट्टु स्याल पात्र भएका कथाहरु पनि धेरै थिए । चार पाँच कक्षामा पुगेपछि करुणाकर वैद्यले लेखेका दन्त्य कथा संग्रह किताबहरु पढेको थिएँ । मिसले सुनाउनुभएका केही दन्त्य कथाहरु तिनै किताबमा पनि रहेछन् ।
मंसिरमा अन्तिम परीक्षा भयो । प्रावितहका विद्यार्थीका लागि नेपाली भाषामा सुनाई, बोलाई, लेखाई पढाईको परीक्षा हुन्थ्यो । सुनाई, बोलाई, पढाईको मौखिक परीक्षा हुन्थ्यो । मेरो रोल नंबर सबभन्दा अन्तिममा भएकोले मौखिक परीक्षामा सबभन्दा अन्तिममा मेरो पालो आउँथ्यो । त्यतिबेलासम्म अन्य सबै विद्यार्थीहरु घर गइसकेका हुन्थे । स्कूल चकमन्न भईसकेको हुन्थ्यो । मिसहरुलाई समेत मलाई प्रश्न सोध्ने बेलासम्ममा घर जान हतार भईसकेको अनुभव गर्न सक्थें ।
कक्षा तीनको अन्तिम परीक्षा सकियो । म तेस्रो भएँ । पहिलो हुनेमा कमलादेवी ईटनी (सानागाउँ, सल्यानटार) र दोस्रो हुनेमा कृष्णमान श्रेष्ठ (पहल बहादुर श्रेष्ठ, विशालनगर) थिए । उनीहरु दुवैजना उमेरको हिसाबले मभन्दा कम्तीमा पनि पाँच सात वर्ष जेठा थिए ।
चार कक्षामा पुगेपछि आरुटारको जनशक्ति प्राविवाट आएका २७ जना विद्यार्थीहरु थपिए । उनीहरुलाई पहिले भर्ना गरिएको रहेछ । मेरो रोल नंबर भयो – ३० । कक्षामा करीब ६०-७० जना विद्यार्थीहरु थिए । पढाई हुँदै जाँदा कक्षाका केही विद्यार्थीहरु पढाई छाड्दै जान्थे । यसरी पढाई छाड्ने विद्यार्थीहरु हरेक वर्ष पाँच दश जना हुन्थे । चार कक्षामा पुगेपछि मात्र हामीले ‘ए, बी, सी, डी, ….’ चिन्नबाट शुरु गरेर अंग्रेजी विषय पढ्न थालेका थियौं । हामीलाई चार कक्षामा कृष्णकाजी श्रेष्ठ सरले अंग्रेजी पढाउनुहुन्थ्यो । वहाँले नै शुरुका दिनतिर कापीको शुरुको पृष्ठको पहिलो हरफमा ‘माई नेम ईज निरञ्जन श्रेष्ठ’ वाक्य लेखिदिनु भएर त्यसलाई पूरा पृष्ठमा सार्न लगाई मेरो अंग्रेजी वाक्य लेखनको शुरुवात गराईदिनुभएको थियो ।
त्यस पाँच कोठे भवनको सबभन्दा पूर्वको कोठामा चार कक्षाको पढाई हुन्थ्यो । कक्षा चढ्दै जाँदा क्रमश: पश्चिम पट्टिको कोठामा हामी सर्दै जान्थ्यौं । सात कक्षा सकिएपछि कक्षा आठको पढाई ढुङगाले छाएको दक्षिणपट्टिको एक तले भवनमा हुन्थ्यो । कक्षा नौ र दशको पढाई स्कूलको कार्यालय कामहरु गरिने भवनको भुईंतलाको कोठाहरुमा हुन्थ्यो । वैशाख, जेठको महिनामा जस्तापाताले छाएको एकतले भवनमा पढ्नुपर्दा गर्मीले खलखली पसिना आएर लुगाहरु भिजेर निथ्रुक्क हुन्थे । विशेषगरी गर्मी महिनामा बिहान सिखटारको डिलमा रहेको सिमलको रुखबाट सूर्य मास्तिर सर्दै जाँदा दिन रापिंदै जान्थ्यो र जस्ताको छाना तातिएर धेरै नै गर्मी हुने हुँदा हामी कहिले कक्षा आठ पुगिएला र दक्षिणतिरका अलि शीतल हुने कक्षाकोठामा पुगेर पढ्न पाइएला भनेर कल्पिन्थ्यौं ।
यी सबै कक्षाकोठाहरुमा सिमेन्टले बनाइएका कालोपाटीहरु हुन्थे । त्यसको एक छेउमा चक र डष्टर राख्ने ठाउँ पनि बनाइएको हुन्थ्यो । भवनको भित्री र बाहिरी भित्ताहरु सिमेन्टले प्लाष्टर गरेर त्यस माथि सेतो चुनाले पोतिएको थियो । सिमेन्टका ती भित्ताका कतिपय स्थानमा कोरेर हेडसर र अन्य शिक्षकप्रति गाली गर्लौज गरिएका तथा विद्यार्थी राजनीतिसँग सम्बन्धित ‘जिन्दावाद, मूर्दावाद’ शब्दहरु लेखिएका हुन्थे । त्यसैगरी दलिनका हतपत भेटन नसकिने स्थानहरुमा पनि यस्ता शब्दहरु लेखिएका हुन्थे । यी सबै कामहरु कुनै छुल्याहा र ऊपद्र्याहा स्वभावका विद्यार्थीहरुले गरेको काम हुनुपर्थ्यो ।
कक्षा चारमा पुगेपछि साथीहरुको दायरा ठूलो भयो । कक्षामा अलिकति पढ्नमा मन दिनेहरु नै मेरा मिल्ने साथीहरु हुन्थे । उमेरको हिसाबले सबभन्दा सानो म नै थिएँ । त्यसैले कतिपय खेलकुदका प्रतियोगितामा म भाग लिन सक्दिनथें । ठूला कक्षामा पढ्नेहरुले प्राय: भलिबल र कपर्दी खेल्थे भने साना कक्षातिर पढ्नेहरुले डण्डीबियो खेल्थे । भालेजुधाई र लुकामारी पनि खेल्थे । स्कूल जान थालेको दुई, तीन वर्ष पछि डण्डीबियो र भालेजुधाई खेल भने हराउँदै गयो । हामी छ, सात कक्षातिर पढ्दा रबरको झुत्तीलाई खुट्टाले ठ्याक लगाएर खेल्ने खेल पनि एकदम लोकप्रिय भएको थियो । छात्राहरुमा खुट्टी खेल्ने (कोठा कोठा बनाएर, खुट्टाले कुनै ढ्याकलाई हानेर कोठा नघाउँदै जाने), गट्टा खेल्ने लोकप्रिय थिए । हाम्रो स्कूलमा प्रशस्त मैदान भएकोले विद्यार्थीहरुलाई विभिन्न खेलहरु खेल्नका लागि ठाउँको कुनै अभाव थिएन । हाफ टायम वा कुनै खालि पिरियडको समय विद्यार्थीहरु खेलेर कटाउँथे । भलिबल भने प्राय: हाफ टायममा खेलिन्थो । भलिबल र कपर्दी खेल्दा लगाएका लुगाहरु कतै च्यातिनु सामान्य मानिन्थ्यो । च्यातिएका लुगा लगाएर घर पुगेपछि त शायद कतिपयले बुबाआमाको पिटाई पनि खाँदा हुन् ।
ग्रामीण परिवेशबाट स्कूल जानेहरु प्राय: सबैको परिवार कृषिकर्ममा आश्रित हुने भएकोले कतिपयले शायद बिहान घाँस काट्ने, खेतमा जाने काम समेत सकाएर स्कूल आउने गर्थे जस्तो लाग्छ, तर स्कूल आउनका लागि एक-डेढ घण्टा भन्दा बढी समय लाग्ने गाउँहरु जस्तै आगिञ्चोक, छापथोक, धावा, आरुपोखरी, वयाक, थुमी जस्ता टाढा टाढाका गाउँबाट आउने विद्यार्थीका लागि यो संभव हुन्थेन । म भने सानो उमेरको हुँदा बिहान अन्य कृषिजन्य वा घरका कामहरु सकाएर मात्र स्कूल जाने बाध्यताबाट लगभग मुक्त रहें ।
मेरो गाउँबाट भीमोदय स्कूल पढ्न जाने थुप्रै हुने भएतापनि मेरो कक्षामा भने प्राय: म एक्लै रहें । पछि सात आठ कक्षातिर पुगेपछि भने परीक्षामा अनुत्तीर्ण भएर कक्षा दोहोर्याई पढ्नेहरुलाई भेटाउँदै गएँ । कक्षा दशमा पुगेपछि त मैले आफ्नै दाइ दिदीहरुलाई पनि भेटाएँ । दिदी पढाई कमजोर हुनुहुन्थ्यो भने दाइ त झन् साह्रै कमजोर, हरेक कक्षामा अनुतीर्ण भई दोहोर्याएर पढ्नुपर्ने ।
कक्षा कोठामा जो पहिले पुग्थे, उसले नै अगाडिका बेञ्चमा बस्न पाउँथे । पढाईमा बढी चासो र चिन्ता भएका विद्यार्थीहरु सकभर बिहान छिटो गएर अगाडिको बेञ्चमा बस्न चाहन्थे । धेरै टाढाबाट आउनुपर्ने विद्यार्थीका लागि भने यो संभव हुन्थेन । पढाईमा कम रुचि भएका विद्यार्थीहरुका लागि पछाडिका बेञ्चहरु प्रिय लाग्थे । पछाडि बसेपछि आफ्नै धुनमा रमाउन पाउने, हल्ला गर्न पाइने र सर/मिसहरुको धेरै ध्यान पुग्ने र प्रश्न सोध्ने संभावना पनि कम हुन्थ्यो ।
मलाई जहिल्यै पनि पहिलो बेञ्चको पहिलो सिटमै बस्नुपर्थ्यो । यसका लागि कक्षामा पनि सबभन्दा पहिले पुग्नुपर्थ्यो । पहिलो बेञ्चको पहिलो सिटमा बस्नका लागि म अरुभन्दा धेरै चाँडो स्कूल जान थालें । स्कूलमा दिउँसो पढाई हुँदा घरबाट आठ-साढें आठ बजेतिर नै निस्कन्थे । यति छिटो स्कूल जाँदा घरमा दाल, भात, तरकारी सबै थोक पाकेकै हुन्थेन । म प्राय: दुधसँग वा दालसँग मात्र भात खाएर स्कूल जान्थें । कहिलेकाहीं बुबाआमा खेतबारीतिर बिहानै जानुपर्दा घरमा खाना आफैंले पकाउनुपर्थ्यो र भातमा पानी अड्कलिदिएर र दालमा नुन, बेसारहरु अड्कलिदिएर जानुहुन्थ्यो । हाम्रा गाउँका अन्य विद्यार्थीहरु सामान्यतया: नौ-साढे नौ बजेतिर मात्र स्कूल जान घरबाट निस्कन्थे ।
वैशाख, जेठ दुई महिना बढी गर्मी हुने हुँदा स्कूलको पढाई बिहानको समयमा हुने गर्थ्यो । बिहान ६ बजेदेखि एघार बजेसम्म पढाई हुने भएकोले हामी घरबाट बिहान पाँच, साढें पाँच बजेतिर निस्किसक्नुपर्थ्यो । हामी केही विद्यार्थीमा भने छिटो स्कूल पुग्नु पर्ने भूत सवार भएको थियो । कहिलेकाहीं त चार, साढें चार बजे झिसमिसेमै घरबाट स्कूल लाग्थ्यौं । यसरी छिटो स्कूल जानु पर्नेमा म भन्दा दुई कक्षा माथिल्लो तहमा पढ्ने हाम्रै गाउँका मणिकृष्ण पाण्डे लगायत पनि थिए । एकचोटि चार बजेतिरै स्कूल जान खोज्दा बुबाले हामीहरुलाई रोक्नुभएको थियो । अप्ठ्यारो ओरालो बाटो, अँधेरोमै बच्चाहरु स्कूल जान खोज्दा अभिभावकहरुका मनमा पिरलो हुनु स्वाभाविकै पनि हो ।
चार कक्षामा पढ्दा ताकाकै कुरा हो, एक चोटि म सँधै बस्ने सिटमा अर्का साथी पुरुषोत्तम शर्मा म भन्दा अगाडि आएर बसिदिएछन् । त्यो दिनभरि मेरो ध्यान पढाई केन्द्रित हुन सकेको थिएन । त्यसै क्रममा मैले जिस्किएर उसको पाइन्टको पछाडि कागजको लामो पुच्छर बनाएर झुण्डाइदिएको थिएँ । खासमा मैले एकछिनका लागि भनेर मात्र उनले थाहा नपाउने गरी पुच्छर राखिदिएको थिएँ । कक्षामा पढाई हुँदै गर्दा अचानक उनी लगायत केही साथीले त्यही बेला बाहिरबाट बेञ्च बोकेर कक्षामा ल्याउन बाहिर निस्कनु पर्ने भयो । हतपतमा मैले उनको पुच्छर निकालिदिनै बिर्सेछु । उनी बाहिर निस्कँदा त कक्षामा पढाउनु हुने सर लगायत सबैले उनको पुच्छर देखे । खोजिनीति भयो, कसले राखेको भनेर, मैले भन्ने कुरा पत्ता लागिहाल्यो । त्यसदिन सरको गाली खाएँ । वास्तवमा मैले उनको बेइज्जती गरिदिने भन्ने हिसाबले भन्दा पन एकछिनका लागि जिस्कन मात्र राखिदिएको थिएँ, तर त्यो सबैले थाहा पाउने घटना बन्न पुग्यो । संभवत त्यो घटना स्कूल जीवनमा मैले सर/मिसका गाली खानुपर्ने अत्यन्त सीमित घटनाहरु मध्ये एक थियो जस्तो लाग्छ ।
म संभवत स्कूलकै सबभन्दा अनुशासित विद्यार्थी मध्ये एकमा गनिन्थें । प्रायजसो: वर्ष नै कक्षामा शतप्रतिशत हाजिर हुने विद्यार्थीको रुपमा पुरस्कार पाउँथे । हामीलाई चार कक्षा देखि सात कक्षा सम्म सामाजिक शिक्षा पढाउनु हुने वासु सर (वासुदेव शर्मा लामिछाने) ले विद्यार्थीहरुलाई प्रश्न सोध्नुहुन्थ्यो ।प्रश्नको जवाफ दिन सक्ने विद्यार्थीहरुले प्रश्नको जवाफ दिन नसक्ने विद्यार्थीको कान निमोठ्नुपर्थ्यो वा कहिलेकाहीं गालामा पनि चड्काउनु पर्थ्यो । यसरी साथीहरुको कान निमोठ्नु पर्ने वा गालामा चड्काउनु पर्ने भूमिकामा धेरैजसो म नै हुन्थें । कक्षा सकिएपछि केही साथीहरु भने धन्न निरञ्जनबाट पिटाइ खाएकोले केही दुखाई भएन, ठूला उमेरका बाट पिटिनु परेको भए दुखाई सहनुपर्थ्यो भन्थे ।
कक्षा चारमा पढ्दाकै कुरा हो, सामाजिक शिक्षा विषयको पाठमा चौध अञ्चलको नाम थियो । सरले हामीलाई सबै अञ्चलको नाम कण्ठस्थ पार्न लगाउनुहुन्थ्यो । मेरा लागि चौध अञ्चलको नाम कण्ठ पार्नु कुनै ठूलो कुरो थिएन । त्यस पाठको पृष्ठमा नेपालको नक्शा समेत राखिएको थियो । त्यस नक्शामा सानो अक्षरमा जिल्लाका नामहरु पनि लेखिएका थिए । मेरो ध्यान ती जिल्लाका नामहरुमा पुग्यो । जिल्लाका नाम हेर्दै गएँ । एक दुई चोटि हेरेपछि त ती सबै जिल्लाको नाम याद गर्न सक्छु जस्तो लाग्यो । नभन्दै केही चोटि दोहोर्याएपछि केहीछिनमै ती सबै जिल्लाको नाम याद गर्न सकें । कक्षामा पढाई शुरु भएपछि वासु सरले विद्यार्थीहरुलाई चौध अञ्चलको नाम कण्ठस्थ सुनाउन लगाउनु भयो । कतिले भन्न सके, कतिले सकेनन् । कक्षा सकिने समयतिर कुनै साथीले निरञ्जनलाई त पचहत्तरै जिल्लाको नाम आउँछ भनेर सरलाई सुनाए । साँच्चै हो त भनेर वासु सरले मलाई पचहत्तर जिल्लाको नाम भन्न लगाउनुभयो । नभन्दै मैले पचहत्तर जिल्लाकै नाम कण्ठस्थ सुनाउन सकें ।
वास्तवमा यो मेरो त्यसै दिनको कक्षाको केही खालि समयको उपयोगमा गरिएको प्रयास मात्र थियो । स्कूलभरि मेरो परिचय पचहत्तर जिल्लाको नाम भन्न सक्ने विद्यार्थीको रुपमा परिचित भयो । अन्य धेरै सर/मिस र माथिल्लो कक्षाका विद्यार्थीहरुलाई समेत मैले उनीहरुको आग्रहमा पचहत्तर जिल्लाको नाम भनेर सुनाएँ । मलाई अझै पनि त्यस बेलाका सर/मिसहरुले चार कक्षामै पचहत्तर जिल्लाको नाम याद गर्न सक्ने विद्यार्थीको रुपमा सम्झनुहुन्छ र मेरो बारेमा अरुसँग कुरा गर्दा यो प्रसंग सकभर छुटाउनुहुन्न ।
क्रमश….