Logo

कोरोनाभाइरस नेपाल: लकडाउन खुल्यो तर कैयौँ क्षेत्र अझै बन्द छन्, कहिले खुल्लान्



Spread the love

काठमाडौं । सरकारले कोरोनाभाइरसको महमारीका कारण बन्देज लगाइएका कतिपय सेवा स्वास्थ्य मापदण्ड अघि बढाएर खोलेको छ भने अझै नखुलिसकेका क्षेत्रहरूलाई खोल्ने तयारी भएको अधिकारीहरूले जानकारी दिएका छन्।

तर अझै पनि सर्वसाधारणको दैनिकीसँग जोडिएका कतिपय क्षेत्रबारे कुनै निर्णय भएको छैन। जाडोयाममा कोभिड-१९ को जोखिम अझ उच्च हुने भन्दै कैयौँ विज्ञहरूले जनस्वास्थ्यमा खेलवाड हुने किसिमका कदम चाल्न नहुने बताइरहेका छन्।

अहिले पनि महामारीका कारण बन्देजात्मक व्यवस्थाबाट प्रभावित कुन क्षेत्र खुलाउन के पहल भइरहेको छ?

१) अन्तर्राष्ट्रिय सीमा
कोभिड महामारीपछि शुरूमा अन्तर्राष्ट्रिय सीमाबाट मालसामानको ढुवानी बाहेक अन्य किसिमका आवतजावतहरू बन्देज गरिएको थियो। हाल भारततर्फ १३ वटा र चीनतर्फ एउटा नाका सञ्चालनमा रहेको गृहमन्त्रालयले जनाएको छ। तराइका कतिपय जिल्लाका बासिन्दाले सीमा वारपारको आवतजावत थप सहज बनाउन माग गरिरहेका खबरहरू प्रकाशित भइरहेका छन्।

त्यसबारे गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा भन्छन्, “बिरामीहरूको आवतजावतमा समस्या पर्‍यो र बिहेबारीको समयमा पनि समस्या पर्‍यो भन्ने गुनासाहरू आइरहेका छन्। शवहरू यता उता गर्न समस्या पर्‍यो भन्ने जानकारी आइरहेको छ। प्रमुख जिल्ला अधिकारीहरूले यस्ता माग छन् भनेर पठाएपनि नेपाल सरकारले निर्णय नगरेसम्म हामीले केही गर्नसक्ने अवस्था छैन।”

२) राजधानीको जोर बिजोर सवारी गुडाउने नियम
लकडाउनलाई खुकुलो पार्ने क्रममा सरकारले राजधानीमा एक दिन जोर र अर्को दिन बिजोर नम्बरका सवारी साधानहरूलाई गुड्न अनुमति दिने निर्णय लिएको थियो। उक्त निर्णय अहिले पनि संशोधन गरिएको छ। महानगरीय ट्राफिक महाशाखाका प्रमुख जनक भट्टराईले जोर बिजोर प्रणाली स्थगन गर्ने बारे कुनै निर्णय आफूहरूलाई नआएको बताए।

३) सवारी चालक अनुमतिपत्र
कोभिड-१९ को महामारीका कारण सवारी साधन अनुमतिपत्र वितरण देखि सवारी साधन अनुमतिपत्र प्राप्त गर्न दिनुपर्ने परीक्षा लगायतका काम रोकिएको झण्डै आठ महिना पुगिसकेको अधिकारीहरू बताउँछन्।

यसलाई जतिसक्दो चाँडो खोल्ने पक्षमा आफूहरू भएपनि यो विषय प्रदेश सरकारको पनि क्षेत्राधिकारमा पर्ने भएकाले छलफल चलरहेको यातायत व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले बताए।

उनका अनुसार जाडो याममा कोभिड-१९ को सम्भावित जोखिम र जाँच पास गर्न गर्नुपर्ने ‘ट्रायल’ लगायत सञ्चालन गर्ने पूर्वाधार साँघुरा रहेकाले विभागले तत्कालै ठोस निर्णय लिइसकेको छैन। चालक अनुमतिपत्र परीक्षा सञ्चालनको विषय ‘उच्च तहमा’ पनि छलफलमा रहेको उनले जानकारी दिए।

त्यसबाहेक यही समयमा झण्डै १२ लाख स्मार्ट लाइसेन्स छापेर वितरण अघि बढाउन सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको उनको भनाइ छ।

४) शिक्षण संस्थाहरू सञ्चालन
कोभिड- १९ का कारण प्रभावित रहेको विद्यालयहरूमा मंशिरको पहिलो साताबाट आशिंक रूपमा पठनपाठन शुरू भएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कात्तिकको अन्तिम साता विद्यालय सञ्चालन कार्यढाँचा जारी गरिएपछि विद्यालयहरूमा शैक्षिक गतिविधि बढ्दै गएका छन्। त्यसअघि शिक्षा मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य मापदण्डलाई ध्यान दिएर विद्यालय सञ्चालन गर्नुपर्ने बताएको थियो।

सरकारले विश्वविद्यालयहरूलाई सुरक्षाका मापदण्ड पालना गर्दै भौतिक दूरी कायम गरेर परीक्षाहरू सञ्चालन गर्न अनुमति दिएको भन्दै प्रवक्ता शर्माले आफ्ना दैनिक गतिविधिको अनुगमन विश्वविद्यालय स्वयम्‌ले गर्ने बताए।

राजधानी आसपास सहित विभिन्न ठाउँमा कक्षा पुन: सञ्चालन गर्दा शिक्षक वा विद्यार्थीमा सङक्रमण देखा परेपछि चिन्ताहरू समेत व्यक्त भएका खबर आएका छन्।

५) मठ मन्दिर सहित धार्मिक र सांस्कृतिक स्थलको पुन: सञ्चालन
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले धार्मिक स्थल सञ्चालनको लागि आवश्यक मापदण्ड बनाइरहेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार चरणबद्ध रूपमा तीर्थस्थलहरू भक्तजनका लागि खोलिनेछ।स्थानीय स्तरबाट माग आएपछि स्थानीय प्रशासनलाई आफूहरूले मापदण्ड बनाएर पठाइदिने र त्यसका आधारमा उपत्यका बाहिरका कतिपय धार्मिक र सांस्कृतिक केन्द्रहरू सञ्चालनमा आउने उनको भनाइ छ।

गत चैत्र ११ गते लकडाउन घोषणा गर्ने क्रममा सरकारले मन्दिर, मस्जिद, गुरूद्वारा, गिर्जाघर जस्ता धार्मिक स्थलहरूमा दैनिक नित्य पूजा बाहेक अन्य गतिविधि सञ्चालनमा रोक लगाएको थियो।

६) रात्रिकालीन र मनोरञ्जनसँग सम्बन्धित व्यवसाय
गृहमन्त्रालयका प्रवक्ता बुढाका अनुसार अझै पनि रात्रिकालीन व्यवसाय र सिनेमा हल जस्ता मनोरञ्जनसँग जोडिएको उद्योगमा लागेको बन्देज कायमै छ।

उनले भने, “कोभिड-१९ को जोखिम अझै पनि विद्यमान रहेकाले सम्बन्धित निकायले अर्को निर्णय नगरेसम्म हामीले भन्न सकिने केही छैन।” पर्यटन मन्त्रालयका प्रवक्ता भट्टराईका अनुसार मनोरञ्जनसँग जोडिएका उद्योगहरू सञ्चालन गर्नेबारे नीतिगत निर्णय गरिनेछ।

७) खेलकुद गतिविधि
सरकारले सानो समूहमा स्वास्थ्य मापदण्ड पालना गरेर खेलकुद गतिविधि गर्न अनुमति दिएको छ।
“प्रतियोगिताको पूर्वतयारीका हिसाबमा कामहरू अघि बढाउने भन्ने निर्णय भएर त्यही अनुसार खेलसङ्घहरूले गतिविधि गरिरहेका छन्,”युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको खेलकुद महाशाखाका प्रमुख भक्त ढकालले बताए।

केही समय अघिबाट राष्ट्रिय फुटबल र क्रिकेट टोलीहरूले प्रशिक्षण अघि बढाएका छन्। कतिपय जिल्लामा पनि सानो स्तरका खेल गतिविधि भएका र हुनलागेका खबरहरू आएका छन्।

८) ठूला राजनीतिक भेला
सरकारले सम्भावित जनस्वास्थ्य जोखिमलाई ध्यान दिँदै ठूला राजनीतिक भेला र सभाहरू नगर्न भनेको भएपनि कतिपय स्थानमा सत्तारूढ दलकै नेताहरूको उपस्थितिमा त्यस्ता कार्यक्रम भएका छन्।

पछिल्लो समयमा राजतन्त्र पुन:स्थापनाको सहितको माग राखेर भएका प्रदर्शनमा सैयौँको संख्यामा मानिसहरूले सहभागिता जनाएको पाइन्छ। बिबिसी

प्रतिक्रिया दिनुहोस्