Logo

मिथुन उल्कावर्षा मङ्सिर २८ गते रातभर सक्रिय रहने



Spread the love

२५ मंसिर, काठमाडौँ । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । यो मिथुन उल्का वर्षा क्षुद्रग्रह तीन हजार २०० फेथनले अन्तरीक्षमा छाडेका ससाना धुलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटरमाथि जलेर देखिने जनाइएको छ ।

उल्का वर्षाको समयमा उल्का मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामकरण गरिएको हो । उल्का वर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदूषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्बीर खिच्न सक्नेछन् । अवलोकनका लागि मङ्सिर २८ गते आइतबार राति ८ बजेदेखि भोलिपल्ट बिहान ५ः३० सम्मको समय अनुकूल हुने अध्यक्ष भट्टराईले बताउनुभयो ।

मौसमले साथ दिएमा उल्का वर्षा हेर्नका लागि यो सन् २०२० कै उत्कृष्ट समय हुनेछ । यो उल्का वर्षा पुस २ गतेसम्म जारी रहने जनाइएको छ । उल्का वर्षा हेर्नलाई कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन । उल्का वर्षा अवलोकन गर्न र आफ्नो क्यामेरामा कैद गर्ने प्रयासका लागि सोसाइटीको टोली पोखरा जाने जनाइएको छ ।

देशका अन्य भागमा रहेका सोसाइटीका सदस्यले आफ्नै स्थानबाट हेर्ने र तस्वीर लिनेछन् । अवलोकनकर्तालाई आफ्ना तस्वीर सोसाइटीलाई पठाउनसमेत आह्वान गरिएको छ । सोसाइटीमा प्राप्त तस्वीरलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने जनाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्