Logo

सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि निःशुल्क



Spread the love

२० मंसिर, इलाम । कोरोना सङ्क्रमितलाई इलाम नगरपालिका–७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन र वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने भएको हो ।

होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न घरघरमा नै जाने र चिकित्सकको टोलीसहित औषधि वितरण गरिने वडाध्यक्ष नरेश श्रेष्ठले बताए । । त्यसका लागि वडाभित्र सङ्क्रमितको पहिचान गर्ने कार्य भइरहेको छ । आयुर्वेदिक औषधिले अन्य असर नगर्ने, शरीरमा रोगसँग लड्न सक्ने क्षमता बढाउने खालका औषधि चिकित्सकको सल्लाहबमोजिम नै खुवाउने व्यवस्था मिलाइने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

कोरोनाको कुनै पनि औषधि पत्ता लगाउन नसकेको अवस्थामा रोग प्रतिरोधात्मक औषधि सिफारिस गर्ने गरिएको छ । आयुर्वेदिक औषधि पनि चिकित्सकसँग सिफारिस गरेर मात्र वितरण गरिने बताइएको छ ।

हाल इलाम नगरपालिका–७ जिल्लाभरिकै बढी सङ्क्रमित रहेको वडा हो । इलाम सदरमुकाम र इलामकै प्रमुख व्यापारिक केन्द्र यहाँ रहेकाले पनि यस वडामा सङ्क्रमितको सङ्ख्या बढी रहेको छ । वडाध्यक्ष श्रेष्ठले यस वडामा सङ्क्रमितको अवस्था बुझ्ने, उहाँहरुको खानपानमा परिवारलाई सचेत गराउने र सरसफाइमा ध्यान दिन अनुरोध गरिने बताए। साथै कोरोना सङ्क्रमित बाहिर हिँडडुल गर्ने गरेको र कोरोनालाई सामान्य सम्झिएर अन्यलाई रोग फैलाउने काम गरेको पाइएमा कारवाहीका लागि सिफारिस गर्नेसमेत बताइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्