मान्छे सधैँ बालक र जवान हुँदैन । अहिले, म पनि बुढी भएकी छु । आठ भाइबहिनी नाति नातिनीहरु छन् । तीन बहिनी छोरीहरुबाट। नातिहरू लक्का जवान भैसकेका छन् । नातिनिहरुमा भर्खर बैँसका टुसाहरु पलाउँदै छन् । प्रेम, सबैले गर्छन । मेरा नानीहरू पनि गर्छन् माया, प्रेमका कुरा । म सुन्छु । नातिले घरको कुनामा लुक्दै फोनमा कसैसँगै जीवन बिताउने कुरा । रातको अधेरिमा गुन्जिने रंगिन सपनाहरू । म पनि बुझ्छु प्रेमका केही भाषाहरू । अहिले पो बुढो भइयो त ! म पनि एकबेलाको नामुद प्रेमी न थिए !
पल्टाउदै जाँदा जिन्दगीका पानाहरु । सम्झेर ल्याउँदा ती प्रेमिल दिनहरु । मेरो प्रेम कहानी ! उसलाई बुझ्न मरिहत्ते गरेका पलहरू । मेरी आमा, जसले मलाई जन्म दिईन । जसको काखमा म हुर्के, बढे । मलाई हिड्न सिकाएकी, मेरी आमा । चपाउन सिकाएकी, मेरी आमा । आमा र आफूपछी अरू कसैलाई चिनेकी थिए भने, उ नै थियो । जसलाई मैले त्यति बेला देखि नै चिनेकी थिए । जतिबेला मैले आफूलाई म को हुँ भनेर चिन्न सक्ने भएकी थिए ।
आमाले, खाना पकाउँदा, उसकै कुरा गरेको सुन्थे । बाबाले कामबाट फर्किँदा पनि उसकै नाम लिएको सुन्थे । खानदानी छ ! बडो अजीवको छ रे ! उ बिना हाम्रो घरमा चुलो बल्न पनि मुस्किल पर्छ ! झट्ट हेर्दा पनि मेरा बाबा आमाले देखेका अरू सबैभन्दा पृथक् । विशाल र बलवान छ रे ! सहयोगी पनि । म उसको बारेमा केही जान्न खोज्थे । टाढा जानु पर्दैनथ्यो । घरमै, उसका बारेमा धेरै नै सुन्न पाइन्थ्यो । उसकै कुरा चल्थे । प्राय छाकमा !!
कथा मानौँ या कहानी ! ६५ वर्ष अगाडी । म भर्खर बाम्मे सर्ने भएकी थिए । अलिकति केही बुझ्ने भएकी थिए । त्यसपछि उसैसँग भएको थियो । पहिलो मुलाखात । प्रेममा नाममा । उ लक्का जवान थियो । परिपक्व थियो । सबै कुराले भरिपुर्ण थियो। मेरा लागि। साँचै अच्चमको थियो। दिनहरू बित्दै गए, मैले ऊ बारे जान्ने प्रयास गर्दै गर्दा । म पनि पहिलाभन्दा ठुली हुँदै गए । उसलाई आफै पढ्न सक्ने भए । बुझ्न सक्ने भए। ऊसँग झन् नजिक हुन थाले । उ पनि म प्रति आकर्षित हुँदो हो, सायद ! त्यसपछिका प्राय दिनहरूमा उ भेटिन थाल्यो । सम्बधहरु नजिकिँदै गए । आउतजाउत्, पालोपैचो । सरसापट सबथोक चल्न थालेको थियो ।
सबै सामान्य चलिएरहेको थियो । मन्द गतिमा । थाहै नदिई, उसले मलाई प्रस्ताव राखी रहेको रैछ ! मैले सोचे, आखिर यति नजिक छौँ भने सँगै किन नबस्ने ? अनि मोडियो हाम्रो मित्रताको सम्बन्ध । अझ भनौँ छिमेकीको सम्बन्ध, परिवारमा । म खुसी थिए । सँगै खेत बारीमा रमाउँदै काम गर्ने आशामा ! सँगै बसेर खान पाउने आशमा । सम्बन्ध अझै बलियो हुने आशमा !!
मायमोह…..
औधी माया लाग्थ्यो उसको । नराम्रो त सोच्न पनि सक्दिनथे । समयचक्र बित्दै गयो । हामीबिच हुनुपर्ने सबै भइरहेको थियो, संवाद, भेटघाट सबथोक । अचानक हाम्रो सम्बन्धले मोड लियो । सम्पत्ति र पैसाको कुरा गर्न थाल्यो उसले । माया र प्रेमका नाउँमा, मेरो खेतको कुलोमा बग्ने पानीमा गिद्दे नजर लाउन थाल्यो । मलाई उसको घरमा कति सम्पत्ति छ, जान्ने चाह समेत थिएन । उ मेरो घर उज्यालो भएको इर्श्या गर्न थाल्यो । म चाहन्थे, उसको र मेरो दुवै घर अन्धकारबाट मुक्त होउन् । उसको उद्देश्य नै रहेछ, मेरो घरमा सधैँ दाउरा ठोसेर मात्रै चुलो बलोस् । म चाहन्थे मेरो घरमा पकाएर खाउँ । उसको घरमा सुत्न जाऊँ । मेरो गाउँमा बाटो पुगोस् । गाडी गुडोस् । उसलाई त्यो मन नपर्दो रैछ । यिनै कुरालाई लिएर उ मलाई दबाउन खोज्ने सपना बोकेको रहेछ ! अझ, शान दिँदै भन्थ्यो, ‘हमारे पास सबकुच है । हाँक्नेके लिए कार, रेहने लिए सुरक्षित बंगला’! आखिर मेरो माया भए पो गरोस ती सब थोक। उसले त मेरी आमाको सम्पतिलाई माया गरेको रैछ । हाम्रो सम्पत्ति माथि डाह गरेको रहेछ !
उ साह्रै जिद्दी थियो ! आफूले भनेको हुनै पर्ने । म पनि उ जस्तै भइदिनुपर्ने । बाघ, जसको व्यवहार मलाई कहिले मन नपर्ने । त्यही बाघ, उसको प्रिय जनावर । उसलाई रब्बरको डल्लो, मुंग्रोले उडाउन मन पर्थ्यो। मलाई तिनै रुखका हाँगाबाट बनेको डन्डीवियो खेल्न मन पर्छ । ढुंगाका ‘चारी’ खेल्न मन पर्छ । खैर यी त भए, खेलका कुरा । सबैका आ-आफ्ना रोजाईहरु हुन्छन ।
उसले एकरथी पनि सोचेन । मलाई पनि लाग्दो हो । पहाडका फेदमुनि बसेर सुसेली हाल्ने रहर । डाँफे र कोइलीसँगै गीत गाउने इक्षाह देख्दैन उ, उसको घरमा आउने पानि । मेरी आमाहरूले रोपेका वर-पिपलहरूले संचित गरेर पठाईरहेका छन् । उसको फोक्सोका कुना कुनामा पुग्ने हावा । सुसेली हाल्दै फ्यालिदिरहेका छन् ।
माया मोहनी!!!
मैले केवल माया गरेकी थिए । बदलामा पनि बस् बढी भन्दा बढी माया नै चाहन्थे । पाप रहेछ उसको मायामा । कपट रहेछ ! छल गरेको रहेछ ! मुटुमै कुदिएको मेरो प्रेमलाई उसले गंगा झैँ जाने भेल सम्झेछ । क्रिकेट खेल सम्झेछ । जो एउटा खेलपछि सदाका लागि आउट भएर जाओस् । धोका के हो ? कसैले उसैबाट सिकोस् ! जालझेल के हो ? त्यो पनि उसले राम्रोसँग सिकाएर गयो ।
म माया गर्थे, उसले ‘मायाजाल’ बिक्ष्याएको रहेछ ! आखिर त्यै बाबुको सन्तान न थियो….. हातमा बन्दुक । जिउभरि गोली र छहराका पेटिहरु । मन नपरेको मान्छेलाई देख्ने नहुने । ड्याम्म ड्याम्म…. गोली बर्साईहाल्ने । कति क्रूर थिए उसका बाबु ! अरूले राम्रो लाएको, खाएको उनलाई असह्य हुने । कसैले केही नयाँ, राम्रो काम गरेको हेर्ने नसक्ने । अर्काको घरमा उज्यालो भएको देखि नसक्ने ! छिमेकी कार्की काकाजस्तै अर्काको बारीमा हरियो देख्नै नहुने । गोरु फुकाएर छोड्दी हाल्ने । उसले मोहनी लाएको रैछ, मलाई । म लट्ठ थिए, उसको मोहनिमा । आखिर सबै गर्न छुट रैछ, मायामा !! “इभ्री थिंग इज फेर इन लभ एन्ड वार” ।
गल्ती…..
उसले सोच्थ्यो होला, धनकै भरमा माया पाइन्छ । बलकै भरमा प्रेम पाइन्छ । आखिर माया भन्ने कुरा कहाँ त्यस्तो हुँदो रैछ र ? यो त एकतर्फी नहुँदो रैछ । दुई बिचको समझदारीको पोका रहेछ । विश्व्वास रहेछ । सपानाहरुको महासागर रहेछ । सम्भावना बोकेको ठुलो ट्याङ्कर रहेछ । भूकम्पको छाल रहेछ । अनन्त यात्रा रहेछ ! यी सब थोक मैले उसलाई बुझाउन सकिन ! हजार प्रयास गरे मैले उसलाई सम्झाउन । सायद त्यति प्रयास गरेको भए चन्द्रमामा पुगी सक्थे होला म । तर सकिन उसलाई छुन पनि ! असफल भए मेरा कोसिशहरु ।
गल्ती, म बाट पनि नभएको कहाँ हो र ? उसकै नाममा कति शब्द खर्चेकी थिए । समय बर्बाद गरेकी थिए । जुन मैले ठिक गरिन सायद ! मैले उसलाई समयमै चिन्न सकिन । माया नापेर दिन जानिन । त्यसैले त भनिँदो हो, “माया अन्धो हुन्छ”।
मेरी आमा
उ झन् मात्दै गयो । मेरी आमालाई नै आमा भन्न छोड्यो । उ दुष्ट रहेछ । पापी रहेछ । आखिर उ स्वार्थी न रहेछ । उसले दाइजो चाहेको थियो । जो मेरी आमासँग थिएन । त्यसको सट्टामा उ मेरी आमालाई वृदाश्रममा थन्क्याइदीन चाहन्थ्यो । अनि राज गर्न चाहन्थ्यो । आमाका घाँस दाउरा गर्ने काल्नाहरुमा ! पहाडका पत्त्थर फोडेर निक्लेका चिसो पानीका मुहानमाथि । उसले मुटु मागेको भए, दिन्थे होला । मेरो प्राण मागेको भए पनि दिन्थे होला ! तर उसले मेरी आमाको जिउँदै हत्या गर्न खोज्यो । मेरी आमाको सम्पतिमाथि आँखा गाड्यो । त्यो मलाई असह्य भयो ।
आमाले सधैँ भन्ने गर्थिन-
“सबैलाई प्रेम गर, थोरैलाई विश्वास गर र कसैलाई पनि हानी नगर!”
माया, कसैलाई नगर्नु । कहिले नगर्नु । प्रेम, यसबाट टाढै रहनु । यसमा डुबिन्छ, उत्रिनै गाह्रो हुन्छ । प्राण जान्छ । र पनि पाइँदैन चाहेको माया । माया नापेर गर्नुपर्छ । चिनेर, बुझेर गर्नुपर्छ । तर पनि गरियो प्रेम, लाइयो माया ! हानियो लाथ, मेरी आमाका सुन्दर सपनाहरुमाथि । ठोकियो डाइलग- “प्यार कर्ना तो डर्ना क्या”!!! आखिर देखी न हाल्यो, माया प्रेम !!
र…..
यति चल्दै गर्दा कतिलाई लाग्दो हो । आखिर को थियो त ऊ ? लाग्नु स्वाभाविक पनि हो ! आखिरमा ऊ एउटा जाली थियो । फटाह थियो । चिल्लो घस्न उसको जति कसले सक्ने । मख्खै बनाउँथ्यो सबैलाई ! लाज भन्ने उसको रगतमै छैन । अहिले पनि ऊ ‘प्याच अप’ प्रस्ताव अगाडी बढाउन पछि नपर्ला सायद ! ऊ तपाईँ हाम्रै छिमेकी थियो । सुख र सेवा भन्दा दु:ख बढी दिने, धुर्वे हाती थियो । आफ्नै बाबुको हत्यारा थियो ! आफ्नै प्रेमिकालाई बलात्कार गर्न खोन्ने ‘नेपाल आमा’को नजिकको शत्रु थियो !!!मलाई सम्झेर पनि घिन लागेर आउँछ । जे होस् म उसको मोहनी फुकाउन सफल भए। घृणा गर्न पनि छोडीदिए !! र त मेरो प्रेम, कहानी भयो !
सल्लेरी विशेष साप्ताहिक स्तम्भमा दिनेश बस्नेत को अघिल्लो शृङ्खला!!