Logo

एटलान्टासँग घरेलु मैदानमा लिभरपुल स्तब्ध, शत प्रतिशत नतिजासँगै बायर्न नकआउट चरणमा



Spread the love

एजेन्सी। यूईएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुल घरेलु मैदान पराजित भएको छ । बुधबार भएको समूह डीको खेलमा लिभरपुल एटलान्टासँग २-० ले पराजित भएको हो ।

६० औं मिनेटमा कप्तान गोमेजको पासमा गोल गर्दै इलिचिचले पाहुना टोलीलाई अग्रता दिलाए । त्यसको ४ मिनेट नबित्दै हान्स हाटबोएरको पासमा रोबिन गोसेन्सले गोल गर्दै लिभरपुललाई स्तब्ध पारे ।

समूहको अर्को खेलमा आयाक्सले अंकविहिन मिट्जील्यान्डमाथि ३-१ को सहज जित दर्ता गर्यो ।

शीर्षस्थानको लिभरपुलले ४ खेलमा ९ अंक जोडेको छ । आयाक्स र एटलान्टा ७-७ अंक जोड्दै अर्को चरणमा पुग्ने आसमा रहेका छन् ।

त्यस्तै, च्याम्पियन्स लिगको साविक विजेता बायर्न म्युनिख अपराजित यात्रा कायम गर्दै नकआउट चरणमा प्रवेश गरेको छ । बायर्नले बुधबार घरेलु मैदानमा आरबी साल्ज्बर्गमाथि ३-१ को जित निकालेको हो।

४३ औं मिनेटमा थोमस मुलरको प्रहार गोलरक्षकले बचाएपनि रिबाउन्डमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाए । ५२ औं मिनेटमा नै बायर्नले अग्रता दोब्बर पार्यो । कोमानको प्रहार म्याक्सिमिल्यन वेबरलाई लाग्दै गोल हुन पुग्यो। ६६ औं मिनेटमा मार्क रोकाले दोस्रो पहेंलो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटियो ।

६८ औं मिनेटमा कोमानको पासमा लेरोय सानेले हेडरमार्फत गोल गर्दै जिततर्फ अग्रसर गराएका थिए । ७३ औं मिनेटमा साल्ज्बर्गका मेर्गिम बेरिशाले सान्तवना गोल गरे ।

अपराजित बायर्न ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्