काठमाडौं। नेपालमा कोरोनाविरुद्धको खोप आउन अझै ६ महिना लाग्न सक्ने विज्ञले बताएका छन् ।
खोप निर्माणमा सफलता मिल्दै गएको विभिन्न खोप निर्माता कम्पनीहरुले दाबी गरे पनि सबै परीक्षण सकिएर नेपाल आउन भने अझै कम्तीमा ६ महिना लाग्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अमेरिकाको बायो टेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोपको प्रभावकारिता ९४ दशमलव ५ प्रतिशत देखिएपछि थप आशा बढाएको छ । तर नेपालमा यसको प्रभाव र खोप ल्याउने प्रक्रिया कस्तो हुन्छ भन्नेमा भर पर्ने मन्त्रालयले जनाएको छ ।
जाडो मौसममा कोराना सङ्क्रमण अझ बढ्न सक्ने विज्ञले बताउँदै आएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चीन र रुसमा बनिरहेका खोपलाई नेपालमा परीक्षणका लागि प्रयोग गर्ने योजना बनाइरहेको छ ।
विभिन्न देशका धेरै कम्पनीले खोप निर्माण ९० प्रतिशत सफल भएको दाबी गरेकाले नेपालमा पनि यसले आशा भने जगाएको छ ।