वर्षदिनको राजधानी वसाई, दुई दिन अघिसम्म दिनचर्या जसोतसो गुज्रेकै थियो। तर आज जन्मभूमि भट्टेडाँडा तर्फको प्रस्थान । उल्लासले भरिपुर्ण मन।
चार पांग्रेको झन्डै २७ घण्टे लामो यात्रा। लगतै सुन्दर पहाडी उकालोहरुको आगमन। रमाइला अनि मनमोहक प्राकृतिक दृश्यहरु। घनघोर जंगल । साँघुरो बाटो । झट्ट तल हेर्दा आँखै तिरमिर गर्ने कर्णाली नदि । माथि हेर्दा शिरको टोपी नै खस्ने अग्ला पहाडहरु। त्यसपछि आउने पिपल चौतारी र लगत्तैको दोवाटो। दोवाटो माथिबाट सुरु हुने तेर्सो बाटो । तेस्रो बाटोमा लहरै देखिने खरका छाना । माटो र गोब्बरले लिपेर रंगाइएका सुन्दर भित्ताहरु । आगन्तुक पाहुनालाई परैबाट स्वागत गर्न सजाइएका नमस्ते आकारका चुलीहरू। तिनै मध्य एक, आगन छेवैमा ‘खरंग-खरंग’ गर्ने कालो धोती र चोलो लगाएर उभिएकी मेरी बुढी आमा । नाकमा ठुलो फुली लगाएकी बहिनी । उमेर ३० वर्ष नपुग्दै आधा दर्जन सन्तान जन्माएकी दिदी। नाकबाट चुनै लागेका सिंगानका लहराले सजि सजाउ भान्जा भान्जीहरु। आधा जिउ ढाक्ने लुगा, त्यसैमा पनि ‘मैलका गोठी’ टल्किने मेरा बुबा। शहरबाट छोराको आगमनले खुसीले सबैजना दङ्ग छन्। यी भए , घर पुग्ने वित्तिकै देखिने दृश्यहरु!
चौतारीमा…
भोलिपल्ट घरै माथि रहेको चौतारीमा बस्दै गर्दा म सोच्छु, आखिरमा ‘कर्णाली’ के रैछ? नुनकै लागि दिनहुँ लाइन बस्ने मेरी बहिनीको कष्टलाई हेर्छु। दुई घण्टा हिडेर पानी बोक्ने दिदिका वेथा सुन्छु। मेरी आमाले मलाई जन्माएको महिना दिन नपुग्दै कोखमा च्यापेर, दाउराको ‘बिटो’ बोकेको सम्झिन्छु। पिछडिएको समुदाय, अझैँ छुवाछुत मुक्त हुन नसकेको समाज। प्वाल परेका विद्यालयको छानो। विद्यार्थी बिनाको, एकदम शुन्य! यी सबै मेरो गाउँ, मेरो ठाउँ। समग्र कर्णालीकै पहिचान हुन् भन्दा फरक पर्दैन। मानौं, दु:ख र कष्ट त हाम्रै भाइसन्तान नै हुन। जसलाई खोज्न महाभारत जानु पर्दैन यहाँ।
बुढेशकालको सहाराका लागि दर्जन बढी सन्तान जन्माएकी ‘माथिघरे’ साइली बज्यैलाई हेर्छु। उमेर ८० कट्दा पनि बारीमा जान छोडेकी छैनन्, बज्यै। ती बुढी बज्यै , जसलाई खानाका नाममा ‘तीन वासी कोदोका रोटी र नुनका ढिका’ टोक्दै गरेको देख्छु। घाटिमा अड्किएको रोटि नछिर्दा ,पानी दिने समेत कोही छैन। सुख प्राप्तिका निम्ती त्यत्रो बिघ्ना सन्तानलाई जन्म दिएकी आमाले अहिले तीनहरुको बोली सुन्न समेत पाएकी छैनन्। यी सब देख्दा लाग्छ, मानौं अरुले जीवन विताइरहेका छन्। बज्यैले काललाई आइज मात्र भन्न सकिरहेकी छैनन्। आफ्नो जिन्दगी अलि पर धकेल्न मात्र खोजीरहेकी छिन्।
मिठो खाने, राम्रो लाउने रहर हामीलाई पनि नभएको कहाँ हो र? तर के गर्नु पेटभरी खाने चामल छैन, यहाँ। पल्न घरे भुन्टी दिदीका कानमा गहनाका नाउँमा उन्यूका सिन्का कोचिएका छन। लगाउने सुन छैनन्, कान बुच्चै जस्ता देखिन्छन्। बुच्चा कानमा तोला सुन, यस्सो छड्के तिलहरी। यी धेरै परका सपना भए। माईली आमालाई ‘तिहुन’मा हाल्ने नुनको चिन्ता छ। छोराको जिउमा लाइदिने भोटोको चिन्ता छ।
जहाज चढ्ने सपना छैनन कर्णालीवासीहरुसंग, सुनकै महलमा बस्ने ठुला अनि महंगा सपना पनि छैनन। हामीहरुसंग छन् त वस ! सुख मनले दुई खुराक पेटभरी खाने सपना। अनि झाडा-पखाला र हैजाले मर्ने दिन सधैभरिका लागि भूकम्प र ज्वालामुखिले जस्तै कसैले तहसनहस बनाईदेओस। सन्तानलाई ठुला ठुला कलेजमा पढाउने सपाना पनि छैनन्। कम्सेकम मर्ने बेला आफ्नै सन्तानको काखमा प्राण त्याग्न पाइयोस्। न कि मरेकी आमाको लास भेटाउन ‘खरापत्थर’बाट क्रिया गर्दै हिडेको छोरा बिचमै भोकले मर्नु परोस्।
तिब्बतबाट मुगुको करन खोला हुँदै बग्ने कर्णालीका छालहरुले अहिलेसम्म बाजुरा र हुमलाका दु:ख बगाउन सकिरहेका छैनन्। कालिकोटमा पुग्दा विशाल रुप लिने कर्णालीले राराको सबै पानी खान आटि सक्यो तर पखाल्न मात्रै पनि सकिरहेको छैन। मुगुवासिका कष्टदायी दिनहरु! तिब्बतका सुन्दर हिमनदिबाट झरेको सङ्लो पानी ‘रकोस सरोबर’मा मिसिएर पनि हो कि, किन हो? कर्णालीका दिन उजाड लाग्दा छन्। जसको अर्थ नै राक्षस ताल भएर पनि होला, सायद! अझै छिमेकी कालापहाडको मजदुरी विना कर्णालीमा चुलो बल्दैन। सन्तान जन्माउन चाहने आमाहरु तिनै सन्तानका नाममा आफ्नो प्राण त्याग्न वाध्य छन्। कर्णालीका आमाहरुको यो कस्तो विवस्ता! कोखमै सन्तान गुमाउनुको पिडा कस्तो हुन्छ होला? त्यो कसैले कर्णालीका कलिला आमाहरुलाई हेरुन्! यी सबैका बाबजुत पनि कर्णालीका ‘मान्स’ बाँचेकै छन् ! खासमा भनौं टिकेकै छन्!!
राजधानीमा…
उता, शहरमा महंगा रेस्ट्रुरा र तारे होटेलमा डिनर अनि लन्चसंगै व्हिस्की र वियरका थोरै सुर्काहारु। चिल्ला गाडीमा सवारीको ट्रेण्ड छ। तीनै मनुवाहरुको शहरमा चर्चा हुन्छ। खाना नपाएर मान्छे मर्ने ठाउँ हाम्रै देशमा छ, कर्णाली। नेपाली भाषाको उद्गम थलो मानिने, जुम्ला कर्णाली! जहाँका मान्छेलाई बोल्न नजान्ने, लाउन नजान्ने पाखे जति सबै कर्णालीतिर हुन्छन ,भानिन्छ!
राजधानी काठमाडौँमा कर्णालीकै नाममा गन्थन गाएर खल्ती भर्नेको पनि कमि छैन। कर्णालीमा सपनाका पोका बाँड्दै हिड्ने मनुवाहरु। जसले ती सुन्दर सपनाका पोकाहरु काठमाडौँका डस्टबिनमा थुपारिदिएका छन्। तिनै फोहोरका थुप्राहरुले काठमाडौँ दुर्गन्धित हुँदै गैरहेको छ। शहरमा गन्थनकारहरुको ताँतीको पनि लामो छ। बजार छप्पकै छोपेको छ। दिनहुँ छापिन्छन कर्णालीका कथा अनि वेथा। तर पुगदैनन् ती कथा, कर्णालीसम्म !
कर्णालीको छाती दुख्दा काठमाण्डू दुख्दैन
यो कथा कर्णालीको लुकाउँदा लुक्दैन!!!
हुने खाने र गन्थनकारहरुको भीड छ काठमाडौँमा
जाजरकोटमा हैजा आउँछ , मेट्रोका पोकासंगै शिक्षा पुग्दैन!!!!
र अहिले पनि…
जन्मभूमि भट्टेडाँडाको माया आघात लागेर आउँछ । अझ गोठालो जाँदा गुनगुनाएका सुसेलीहरु त यो मनमा अजर अमर नै भैस के। जो मेरा लागि कहिल्यै मर्ने सक्दैनन्। कर्णाली नदीका छालहरु सुसाउँदै गरेको सम्झिदा, मनै हुरुरु भएर आउँछ । खोला किनारमा बालुवा खेलाउँदा आमाले पिटेका क्षण। म कसरी विर्सन सकूँला र? जसले मेरी आमाको मायालाई विर्सनै दिंदैनन। बनभोजमा जोमसोम जाँदा चिसो सिरेटोले हान्दाको अनान्दको वयान गरी के साध्य? विश्व सुन्दरी भन्दा कम छैनन्, मेरी कर्णाली! सेत्ताम्मे दन्ते लहर फिजाएर मुस्कुराइरहने ती सुन्दर हिमशृंखलाका नाममा अहिले नै प्रेम प्रत्र कोरिदीउ जस्तो लाग्छ। झनै प्यारा लाग्छन ती सिँगाने भान्जा भान्जीहरु। तीनले खेल्ने गरेका झ्याल्बोट र चारी। जसले मेरो बालापनको झझल्को पनि आँखै अगाडी ल्याइदिन्छ्न्।
केवल थामाइदिन मन छ, तीनलाई कलम र कापीहरु। अनि हेर्न मन छ, गोठालो जाँदै गर्दा समाउने लाठिसंगै हातमा पुस्तक र कलम। फेरिदिनु छ, आमाको च्यातिएको पुरानो धोती। कालापहाडमा पत्थर फोड्ने ती पौरखी हातहरुले कर्णालीका पहाड फोडी, कर्णालीमा पनि चिल्ला गाडी गुडाएको हेर्न मन छ।
बहुतै माया लगेर आउछ, मेरी बुढी आमाको । जसले मैलो, खरंग खरंग गर्ने धोति लाएरै भए पनि आफ्नो साख धप्पकै ढाकेकी छिन् । राति, जंगलको अध्यारोमा हिड्दै गर्दा उज्यालो दिने जुनकिरीहरु । कुहुकुहु गर्दै डरै भगाइदिने ती कोइलीहरु………. प्रिय लाग्छन् ती गोरेटो अनि बाटोभरी हिड्दाहिड्दै भेटिने सल्लेरी सुसेलीहरु !!!