भन्छन्, जिन्दगी दु:ख हो,
भन्छन्, जिन्दगी सुख हो !
भन्छन्, मलाइ नि प्रकृतिले नै जन्माएकी रे
भन्छन्, मेरी आमा त्यहीँ रुख हो !!
म जन्मिए,
मेरी आमालाइ काटेर-चिरेर
मेरी आमालाई फाटेर।
म टुहुरो हुनु, मेरो सबैभन्दा तितो सत्यता
विवशता हेर्नुस !
म टुहुरो भनी रुनु, सबैभन्दा ठूलो मुर्खता।
सत्य यहि हो,
म जन्मिन्छु जिन्दगी सँग जिन्दगी साटेर !!
हो, म जन्मिए मेरी आमालाई काटेर।
जबसम्म म शान्त छु,
म चुपचाप छु, म खाली छु !
तब सम्म म अबोध छु,
म स्वतन्त्र छु,भाग्यशाली छु !!
तर, जब म भरिन्छु,
म कोरिन्छु, म लेखिन्छु !
अनि मात्र म सिमामा बाधिन्छु !!
र, एउटाै बोली बोल्ने लाटो भैदिन्छु !!
यी मान्छेहरुलाई सायद थाहा नहोला,
जबसम्म म चुपचाप बस्छु,
तबसम्म ज्ञान अपार हुन्छ !
र, जब म बोल्न थाल्छु,
ज्ञानको माध्यमले ब्यापार हुन्छ।
जिन्दगी सुरु हुन्छ मेरो प्रेम बाट,
मेरो र उन्को नामको पहिलो अक्षर पनि मिल्छ,
म हुँ कागज र उनी मेरी प्रेमिका कलम !
उनी बिना म अधुरो छु।
मलाई आवाज दिएकी त्यही प्रेमिकाले हुन्,
साच्चिकै उनी बिना त म अधुरो छु,
उनी नभए म लाटो छु !
उनी नभए म बहिरो छु !!
प्रेमपत्र भई प्रेम सिकाउने पनि मै हुँ,
समाजको चित्रण, प्रकृतिको सुन्दरता
त्यो क्यानभास, त्यो सृष्टि देखाउने पनि मै हुँ,
मान्छेहरु मलाई आफ्ना अाँखाले सुन्न खोज्दछ्न !
र, म बोल्दै जान्छु
जसरी म बोल्दै जान्छु,
मान्छेहरुका आँखा मलाइ सुन्दै जान्छ्न।
र, यसरी नै मान्छेहरु ठुला बन्दै जान्छन्।
ईन्जिनियर बन्दै जान्छ्न।
डाक्टर बन्दै जान्छ्न…
म कहीं चिठ्ठी हु त कहीं
बच्चाहरुले बगाउने जहाज हुँ,
भाँडो नभएका भिकारीहरुको थाल हुँ
कविहरुको ऐना हुँ, म उनीहरुको सान हुँ।
त, कहि नागरिकता भइ चिनारी देखाउने
म देशको पहिचान हुँ !!
सरस्वती मेरै परिवार हो।
म कहिले ‘कोइसन पेपर’ हुँ,
त कहिले ‘यान्सर सिट’ हुँ !
त कहिले सानो बनेर, मधुरो बोल्ने
नक्कल गराउने चिट हुँ !!
म सबुत हुँ,
परिक्षा दिने र लिने कठघारा हुँ,
पागलहरुले खाने आहारा हुँ,
त कहिँ अखबार बनेर,
संसार सुनाउने बुढेसकालको सहारा हुँ।
मेरा पिडाहरु पनि धेरै छन्,
दुखका घडाहरु पनि धेरै छन्,
जड्याहा लोग्ने मरेपछी,
अनपढ स्वास्नी सामु,
गाउँका ठालुहरुले उनलाई ऋणी बनाई,
मलाइ नै देखाउछन्, झुठो तमसुक बनाएर !
प्रेममा बिछोड भएपछि, धोका खाएपछि
विवश ती प्रेमीहरु,
मलाइ नै जलाउँछन्, ठोलो दु:ख मनाएर।
थाहा छ ! यो दुनिया चलाउने पनि मै हुँ
जसलाई यहाँ नोट भन्छ्न्,
गर्व रे ?? गर्वको के कुरा ,
आफू चल्न मलाई साटिरहेछ्न
दु:ख लाग्छ मेरै निम्ति यहाँ,
भाइले भाइलाई काटिरहेछन्।
ऊ मुग्लान छिरेको पनि मलाई नै पाउन हो,
दुख लाग्छ, विरक्तिएर गरिबीमा,
मेरो आशमा लाचार पत्नीहरु, बुढी आमाहरु
आफ्नो लोग्ने पठाउँछन्, आफ्नो छोरो पठाउँछन् !
र, जब छोरो फर्केर आउदैनँ,
त्यहीँ आसमा उनीहरु, मलाई हेर्छन्
र, मै माथी गोलो लगाउँछन्।
उता फेला पर्छ, छोराको कात्रो !
र यता,
गोलोहरुले भरिएको म भित्ते पात्रो !!
सबैका शत्रु भएझै, मेरा पनि त शत्रु छन्।
र, मेरो सत्यनाशको तयारी गरिरहेछ्न।।
अनेक प्रविधि यी ‘वर्ड नोटप्याडहरू’
मलाइ जित्न ठूलो आशको सवारी गरिरहेछ्न,
तर दुख छैन मलाई, मेरो बिनाशको।
आमा मारेर जन्मिएको छोराको लासको।।
त्यसैले बाचुँ या मरुँ मलाई कुनै महत्व छैन !
दुख त छ मेरी प्रेमिकाको मलाई,
किनकी,
म छैन त मेरी उनको पनि कुनै अस्तित्व छैन।
ए ! मलाई च्यात्नेहरू हो,
म हुलुको छु भनी,
मलाइ थिच्नेहरु हो !!
म निर्जीव हु, म सास फेर्दिन
तर होस गर,
मेरै लागि हुन यी मान्छेहरु सास फेरिरहेका
मलाइ दुख भन्ठान्नेहरु, मलाइ जलाउनेहरू
बुझिदेउ एकपल्ट,
तिमी जले नि धुवाँ आउँछ, म जले नि धुवाँ !
यस्तै छ जिन्दगी मेरो, उहीँ जानोस !!
मैले बनाए संसारलाई जटिल
या बनाए मैले सहज !!
‘का’ छ ‘काग’ पनि छ
तर, कालो दाग ममा कहि छैन।
म कागज हुँ
म कागज हुँ
म कागज हुँ,
म कागज !!!