एजेन्सी। युभेन्टसले इटालियन सिरी ए अन्तर्गत आइतबार स्पेजियालाई ४-१ ले हराएको छ ।
खेलको १६ औं मिनेटमा अल्भारो मोराटाले वेस्टन मकेनीको पासलाई सदुपयोग गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाए । घरेलु टोलीले ३२ औं मिनेटमा टोमासो पोबेगाको गोलमा खेल बराबरी गर्यो ।
५६ औं मिनेटमा पाउलो डिबालाको स्थानमा रोनाल्डो मैदान प्रवेश गरे । उनले मैदान छिरेको ३ मिनेट नबित्दै युभेन्टसलाई अग्रता दिलाए ।
६८ औं मिनेटमा एड्रीएन राबीओटले युभेन्टसको अग्रता दोब्बर पारे । ७७ औं मिनेटमा युभेन्टसले पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै ४-१ को जित पक्का गरे ।
यस जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
त्यसअघि अर्को खेलमा अपराजित रहेको मिलानले उडिनेजीमाथि उसकै मैदानमा २–१ को संघर्षपुर्ण जित निकालेको छ । मिलानको जितमा फ्रान्क केससिइ र ज्लाटन इब्राहिमोभिचले गोल गरे । घरेलु टोलीका रोड्रिगो डि पलले एक गोल फर्काए ।