“तिनीहरु असलीमा कहिल्यै जिउँने छैनन्, जो जिउनुको साटो फगत यसको अर्थ खोज्दै हिडेका छन्।”
फ्रान्सेली लेखक अल्बर्ट कामुका यी महङ्गा शब्दहरुलाई एकछिन साइड लगाउदै, आउनुहोस् ! केही पात्र र प्रसंगहरुको मजा लिदै, जिन्दगीका बेखुब आयामहरुबारे खुलेयाम चर्चा गरौं।
पहिलो प्रसङ्ग :-
म कृष्ण भगवानको फ्यान हुँ।
एक जबर्जस्त फ्यान।
(पुनश्च: ‘फ्यान’ शब्दलाई ‘भक्त’को रुपमा कदापि नबुझियोस्)।
किनकिन मलाई कृष्णको जिन्दगी, एक कम्प्लिट प्याकेज जस्तो लाग्छ। भब्य, शानदार, जबर्जस्त, मस्तमौला। मानौं उनको जिन्दगी, कुनै नामुद कलाकारले कुँदेको एक रहरलाग्दो कोलाज हो। जहाँ, जिन्दगीका हरेक स्वर्णिम रंगहरु बहुतै सुन्दर ढंगबाट लिपिएको छ।
चटपटे बचपन, रोमान्टिक किशोरकाल, सार्थक विद्यार्थी जीवन, क्षेत्रीय एवं राजनीतिक वयस्ककाल अनि, दार्शनिक प्रौढावस्था। अहो ! कति सुन्दर समिश्रण। लाग्छ, उनको जिन्दगीमा त्यस्तो कुनै खाली स्पेस नै बाँकी छैनन् होला, जहाँ केही थप रंगहरू अझै थप्न सकियोस्।
यस अर्थमा पनि, जिन्दगी जिउने सवालमा उनी मलाई, निकै सचेत एवं खुलस्त लाग्छन्। बिना कुनै कम्प्रोमाइजेसन।
सायद यहि कारणले पनि होला, मलाई मर्यादा पुरुष ‘राम’ र उनको रामायणले कहिल्यै आकर्षण गरेनन्। न बचपनमा, न त अहिलेसम्म पनि। मेरो फुच्चे खोपडीले बुझ्नै नसकेर हो या किनकिन, रामको सिधा-सादा श्यामश्वेत जिन्दगीले कहिल्यै कुनै गहिरो प्रभाव पार्न सकेन। बिना सन्देह, मलाई उनको जिन्दगी वास्तबमै बडो मर्यादित लाग्छ। बिल्कुल बोतल भित्रको पानी जस्तै।
कहिलेकाही त सोच्छु, उनले आफ्नो जिन्दगी बाँचे या खाली गुजारे मात्र!
दोस्रो प्रसङ्ग :-
मेरा एक अनन्य मित्र छन्। एकदमै घनिष्ठ। यति घनिष्ठ कि, सधैं जसो भेट हुँदा हामी हात मात्रै मिलाउदैनौं कि, बोनसमा एक न्यानो अंकमाल पनि साटासाट गर्ने गर्छौं।
मित्र, एकदमै गम्भीर। यति गम्भीर कि, उनी पछिल्लोपटक गज्जबले हाँसेको सायद दशैं अघि नै होला। उनको यो ‘सोलो-गम्भीरता प्रदर्शनी’ देख्दा मलाई सधैं जसो एकखाले अजीबको काउकुती लाग्छ। अरे यार कसरी बाँचेको छ यो मान्छे ?
न रामरी कुरा गर्छ, न खुलेर हाँस्छ। न कहिल्यै कतै घुम्न निस्कन्छ, न कहिल्यै कुनै गीत सुनिरहेको भेटिन्छ। न कुनै कुरामा चासो, न कुनै कुरामा चिन्ता। न साथीभाइ, न हाँसोठट्टा। न कुनै फिल्म, न कुनै मनोरञ्जन। बस् ! एक रुटिन समय अनि, गम्भीर शुन्यता।
उसलाई देख्दा लाग्छ, संसारको सम्पुर्ण ‘गम्भीर रसायन’ केवल उसमै केन्द्रित छ।
घरीघरी त सोच्छु-व्यथित हुन्छु, ऊ जिन्दगी बाँच्दैछ या फगत गुजारी रहेछ मात्र ?
अन्तिम प्रसङ्ग :-
हाम्रो गाउँका एकजना अंकल यतै काठमाडौंमा बस्छन्। असनमा पसल, पैसा अक्खा कमाएका। पुक्क भुडी र झुप्प दारीले बुढा हिजोआज खुबै ज्याङ्गो देखिन्छन्। पोहोर मात्रै इमाडोलमा तिनतले घर पनि ठड्याउन भ्याए। आन्टी पोखराकी, मान्छे निकै राम्री-सोझी-मिजासिली। मलाई खुबै राम्रो मान्छिन्। बोलाइ रहन्छिन्, छुट्टिमा बेलाबेला गैरहन्छु।
फुच्चा-फुच्ची पनि निकै लोभलाग्दा छन्, गाला टोक्दिम् जस्ता। उनीहरु कै कारण पनि त्यो ठाउँ सधैं गैरहुँ झैं लाइरहन्छ। किन्तु, बच्चाबच्चीसँग खेल्नुको जो मज्जै बेग्लै हुन्छ।
हरेक बिहान ७ बजे हिडेका अंकल राती ८ बजे मात्रै फर्किन्छन्, शिवाय शनिबार। पैसाका लागि बिचरा उनको दौडधुप देख्दा नि दिक्क लाग्छ मलाई। कहिलेकाही त बुढाको माया नि लाग्छ। तर, उनको बानी सम्झेर फेरि पारो तात्छ मेरो।
कतै सुनेको थिए मैले, मान्छे अक्सर दुई किसिमका हुन्छन् रे। एकखाले हुन्छन्, जो उमेर बढ्दै जाँदा झन्झन् रिसाहा, क्रूर अनि भयंकर हुँदै जान्छन्। अनि अर्काथरी हुन्छन्, जो उमेरको बहाव सँगै अझ शान्त, मुलायम, मिजासिला, मृदुभाषी र रोमान्टिक हुँदै जान्छन् रे। अंकल परे पहिलो किसिमका। बिल्कुल खडुस।
फलत: हरेक दिन म जाँदा, खेल्दै-रमाउदै मुस्कुराइ रहेका फुच्चा-फुच्चीहरु, उनको घर प्रवेश सँगै एकाएक चुपचाप हुन पुग्छन्। मानौं उनीहरुको संवेदना एक्कासी कसैले स्वीच अफ गर्दिएको छ। अघिसम्मका त्यति जोसिला ती फुच्चे अनुहारहरु, अहिले एकाएक कति चाँडै काला-निला हुन सकेका होलान्। मलाई अचम्म लाग्छ।
यता, खडुस अंकल अचानक गर्जिन्छन्,”किन चिच्याइराँ हँ तिमीहरू ?”
फुच्चाफुच्चीहरु सुरुसुरु किताब निकालेर पढे जस्तो गर्न थाल्छन्।
अंकल अझै थामिएका हुदैनन्,”कति भन्नू पर्छ हँ तिमीहरुलाई ? खाली हाँस्या छ, चिच्याको छ ! के फिलिम हल हो यो ? अब आइन्दा फेरि यस्तो देखें भने, सबको हातखुट्टा भाच्छु म ! सुरुसुरु पढ्ने त्याँ।”
आन्टी र फुच्चा-फुच्चीको अनुहार हेर्न लायकको हुदैन। सब थरथर।
अंकल आफ्नो रबाफ कायमै राख्छन्,”खोइ ! यत्रो बेला सम्म नि खाना पाक्या छैन ? के हेरेर बस्थिस् हँ यतिञ्जेल सम्म ?”
आन्टी थरथर। तै चुप, मै चुप।
घर सुनसान। एक चिर शुन्यता।
मानौं संगीत भन्ने चिज यी भित्ताहरुले सुनेकै छैनन्। मानौं ‘मुस्कान साहित्य’बारे यी भित्ताहरु बिल्कुल अन्जान छन्। मानौं यी भित्ताहरु सँग, सबै परिवार सँगै बसेर हाँसेको हेर्ने सौभाग्य नै छैन। बस् ! उनीहरु जान्दछन् त केवल तितो कोलाहल र अँध्यारो चिर शुन्यता बारे जान्दछन्। बस् !!!
अ क्लोजिङ पोएम :-
के रिसराग,
के झर्कोफर्को !
के गाली गलोज,
के-को चिर शुन्यता !!
मुफ्तमा मिलेको छ
यो शानदार जिन्दगी !
आउनुहोस्,
कला र उन्मादको रंगमा
खुलेयाम पौडी खेल्दै,
मन्द उज्यालो मुस्कानको
बेफिक्र मज्जा लिदै,
गीत-संगीत र आवाजको
स्वर्गीय रसपान गर्दै,
रुप, रंग र सुन्दरताको
मस्तमौला स्वाद लिदै,
आउनुहोस्,
जीवन जिउने सवालमा
कम्प्रोमाइज नगरौं !
शानदार यो जिन्दगी
जबर्जस्त सेलिब्रेट गरौं !!
कमन !
लेट्स ह्याभ सम प्याक अफ लाइफ 🙂
चियर्स जिन्दगी !!!