Logo

सम्झनामा सानु पहाडी : अन्याय र रोगसँग लड्दालड्दै अवसान



Spread the love

२८ असोज, इलाम । निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध तथा महिला र दलितको हक दिलाउन लड्ने एउटा नाम हो, सानु पहाडी । उनको जीवन जहिल्यै अन्यायविरुद्ध लडेरै बित्यो ।

सानु शिवा विसं २०१९ भदौ १५ गते ताप्लेजुङको फुङ्लिङमा जन्मिएकी थियो । परिवारमा नौ दाजुभाइ, दिदीबहिनीमध्ये शिवा जेठी छोरी थिइन्। सानै उमेरदेखि गीतसङ्गीतमा रुचि राख्ने शिवा ग्रामीण भेगका सांस्कृतिक कार्यक्रममा रमाउने गर्थे । उनलाई समाजमा हुने जातीय भेदभावले शिवालाई नराम्ररी प्रभाव पार्यो ।

सोही कारणले उनी जनताका गीत गाउँदै जनवादी गायिका बनिन् । “म समाजमा परिवर्तन चाहन्थेँ,म गाउँघरका दिदीबहिनीसँग घाँसदाउरा गर्दै गीत गाउँथे”, शिवा भन्थिन्,“महिलालाईं साह्रै भेदभाव गरिएको थियो जुन कुरा मलाई सहन गाह्रो हुन्थ्यो ।” शिवा महिला, पुरुष बराबर भएको देख्न चाहनुहुन्थ्यो तर समाजका लागि त्यो पाच्य थिएन ।

उनी भन्थिन्, “श्रीमतीले केलाएर, सबै थोक गरेर बनाएको गुन्द्रुक पनि बेच्नका लागि श्रीमान्को अनुमति चाहिने कस्तो संस्कार ?” शिवा २०४८ साल मङ्सिर ३ गते इलामका डम्बर पहाडीसँग ‘स्टेज म्यारिज’ गरेर इलाम झरिन्। साहित्यकार (एकलाइने कविताका कवि अर्थात् एलाक) पहाडीसँग विवाद भएपछि शिवालाई साङ्गीतिक क्षेत्रमा जम्न झनै सहज भयो ।
“नेपालमै हाम्रो पहिलो स्टेज म्यारिज भएको होला, त्यसभन्दा पहिले भएकै थिएन, जम्मा एक हजार सात सय रुपियाँमा विवाह भएको थियो” शिवाले कुनै बेला विगत स्मरण गर्दै भनेकी थिइन्,“पत्रपत्रिकामा पनि हाम्रो विवाहको राम्रै कभरेज भएको थियो ।”

विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा

विसं २०३६/०३७ देखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा शिवा सहभागी भएकी थिइन् । विशेष गरी शिवाले महिलाका पक्षमा आवाज उठाएको देखिन्छ । “म जनवादी गीतबाट प्रभावित भएर त्यतैतिर लागेँ”, शिवा भन्थिन् । उनका रचना प्रायः महिलामाथि हुने अन्यायअत्याचारका विषय हुन्थे । दलित साहित्य सांस्कृतिक प्रतिष्ठानका सदस्य शिवाले थुप्रै जनवादी गीत गाएकी छन् । इलाममा उनी महिलाको समूह गठन गरेर उत्पादनमूलक क्षेत्रमा जोड दिने कार्यक्रम ल्याउन लागिपरिन्। “मैले इलाममा ४० सालदेखि ५२ सालसम्म रहँदा चार हजार महिलासँग काम गर्न पाएँ ।” उनले ग्रामीण महिलालाई प्राथमिकता दिएर महिला विकासमा लगाउनुभएको थियो । यसले गर्दा शिवा आफैँलाई चिनाउन सहज भयो भने समाज परिवर्तन गर्न समेत सहज हुँदै गयो ।

विसं २०६२/६३ को आन्दोलन चलिरहेका बेला उनका दुवै मिर्गौला फेल भए । विसं २०६३ मा उनका दुवै मिर्गौला फेरिए । भारत, तमिलनाडुमा रहेको एपोलो हस्पिटलमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसको एक वर्षपछि पाठेघरमा ट्युमर भएको थियो । पछि शल्यक्रिया गरेर पाठेघर फालियो । त्यसको दुई वर्षपछि फेरि हृदयाघात भएर मुटुको दुई भल्भ हाल्नुपरेको थियो । एउटा आँखामा मोतीविन्दु भयो । विसं २०७२ मा एउटा आँखाको शल्यक्रिया गरिन् ।

उनी भन्थिन्, “म यति रोगी हुँदाहुदै पनि आफूलाई रोगी ठान्दिन र कहिल्यै बिरामी जस्तो भएर ओछ्यानमा बसेको पनि छैन । म पहिलेदेखि गीत गाउनुभन्दा पनि अगाडिदेखि नै के भन्थेंँ भने हामी क्रान्तिकारीहरू रोग लागेर ओछ्यानमा मर्नु नपरोस् । बरु सङ्घर्षको मैदानमा गोली खाएर मर्नुपरोस् भन्दै हिँडेको मान्छे त्यही भएर रोग लागेर ओछ्यानमा मर्न चाहन्न, सङ्घर्षको मैदानमा जनताको लागि लड्दालड्दै मर्न चाहन्छु ।”

शिवाले ‘चौँरी गाईं चर्ने ठाउँ, कोइलीले गाउने गाउँ’ ,‘टारी खेत साहुलाई बन्धकीमा राखी, विदेशियौ धन कमाउन’लगायत थुप्रै गीत गाएकी छन् ।

साङ्गीतिक जगत् र राजनीतिक क्षेत्रकी हस्ती सानु पहाडीको निधन आज बिहान काठमाडौंमा भयो । केही दिनयता शारीरिक रूपमा अस्वस्थ्य देखिएपछि उनलाई काठमाडौंं मेडिकल कलेजमा भर्ना गरिएको थियो । सानुको मृत्युपछि राजनीतिक क्षेत्रका व्यक्तिले समेत दुःख व्यक्त गरेका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्