Logo

पीएसजीलाई राहत, कारबाहीबाट बचे नेयमार



Spread the love

५ भदाै, एजेन्सी – पेरिस सेन्ट जर्मन (पीएसजी)का ब्राजिलियन स्टार नेयमारले च्याम्पियन्स लिगको फाइनल खेल्ने भएका छन् । खेल मैदानमा विपक्षी खेलाडीसँग जर्सी साटासाट गरेका नेयमार प्रतिबन्धमा पर्न सक्ने अवस्था आएको थियो ।

तर, युइएफाले नेयमारलाई चेतावनीमात्र दिएसँगै उनी बायर्न म्युनिख विरूद्धको फाइनलमा उपस्थित हुने भएका हुन् ।

युइएफाले जारी गरेको कोरोना प्रोटोकल अनुसार खेलाडीले विपक्षी खेलाडीसँग मैदानमा जर्सी साटासाट गर्न पाउँदैनन् । तर, नेयमारले मंगलबार राती भएको सेमिफाइनलको खेलमा लाइपजिगका डिफेन्डर मार्सेल हल्स्टेन्वर्गसँग जर्सी साटेका थिए ।

त्यसरी जर्सी साट्दा खेलाडीलाई आगामी एक खेलमा प्रतिबन्ध गर्न सकिने युइएफाको नियमावलीमा उल्लेख छ ।

युरोपियन च्याम्पियन्स लिगको फाइनलमा फ्रेन्च क्लब पीएसजी र जर्मन क्लब बायर्न म्युनिख शनिबार भिड्दैछन् ।

बायर्नले पाँच पटक च्याम्पियन्स लिग जितेको छ भने पीएसजी इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको फाइनल खेल्दैछ ।

च्याम्पियन्स लिग जित्ने लक्ष्य बुनेको पीएसजीका लागि नेयमारको भूमिका महत्वपूर्ण हुनेछ । नेयमार प्रतिबन्धमा नपर्ने भएसँगै पीएसजीलाई ठूलो राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्