एजेन्सी । क्याटलान क्लब बार्सिलोनालाई हराउँदै जर्मन क्लब बार्यन म्युनिख च्याम्पियन लिगको सेमिफाइनलमा पुगेको छ । शुक्रबार राती भएको खेलमा बार्सिलोनालाई ८-२ गोल अन्तरले पराजित गर्दै बार्यनले सेमिफाइनलमा स्थान बनाएको हो ।
बार्यनको फराकिलो जीतको लागि फिलिप काेउटिन्होले २ गोल, थोमस मुलरले २ गोल गरेका थिए। त्यस्तै जोसुआ किम्मिच, जिनाबी, लेवान्डोस्की र इभान पेरिसिचले १-१ गोल गरे ।
खेलको तेस्रो मिनेटमा नै मुलरको गोलमार्फत बायर्नले सुरुवाती अग्रता बनायो । तर, बायर्नको उक्त अग्रता ३ मिनेट पानी टिकेन । सातौँ मिनेटमा अलाबाको आत्मघाती गोलबाट खेल बराबरीमा फर्कियो । २१ औं मिनेटमा इभान पेरिसिचले सर्ज जिनाब्रीको पासमा बायर्नले पुन: अग्रता बनायो । २७ औं मिनेटमा सर्ज जिनाब्रीले गोरेट्जकाको पासलाई सदुपयोग गर्दै गोल गरेपछि बायर्नले ३-१ को अग्रता लियो । ३१ औं मिनेटमा बायर्नले अर्को गोल थप्दै ४-१ को अग्रता बनायो ।
५७ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोना खेलमा फर्कने संकेत देखाए । खेलको ६३ औं मिनेटमा बायर्नले गोल गर्दै पुन: ३ गोलको अग्रता कायम गर्यो । ८२ औं मिनेटमा फिलिपे कोउटिन्होको क्रसमा लेवान्डोस्कीले हेडरमार्फत गोल गर्दै बायर्नलाई ६- २ ले अगाडी बढाए । ८५ औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै स्कोर ७-२ बनाए । ८९ औं मिनेटमा कोउटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता थप फराकिलो पारे ।
बायर्नले अब सेमिफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीचको विजेतासँग भिडन्त गर्नेछ ।