५ साउन,गुल्मी – गुल्मीमा विगत चार वर्षमा सडक दुर्घटनामा परि ६४ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक कार्यालय गुल्मीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७३/७४ मा तीन महिला ,सात जना पुरुष र एक बालबालिका गरि ११ जनाले ज्यान गुमाए । त्यस्तै आर्थिक वर्ष ७४/७५ मा पाँच महिला र १४ पुरुष गरि १९ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष ७५/७६ मा पनि १९ जनाले सडक दुर्घटनामा परि ज्यान गुमाएका थिए । जसमा चार महिला , चार बालबालिका र ११ जना पुरुष रहेका थिए ।
गत आर्थिक वर्षमा पनि १५ जनाले ज्यान गुमाए । तीन महिला ,१० पुरुष र २ बालबालिकाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले उल्लेख गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा गुल्मीमा साना ठुला गरि पाँच हजार ८७ सवारी साधन कारबाहीमा परेका छन् भने ३१ लाख ८९ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख राजिव श्रेष्ठले सल्लेरी खबरलाई बताए ।
चार वर्षमा कति गम्भीर घाईते भए ?
विगत चार वर्षको सडक दुर्घटनालाई हेर्दा गुल्मी जिल्लाले ठुलो मानवीय क्षती व्यहोर्नु परेको छ भने गम्भीर घाइते हुनेको संख्या समेत भयानक छ । विगत चार वर्षमा १ सय २० जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले उल्लेख गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा पाँच महिला १५ पुरुष र छ बालबालिकाका गम्भीर घाईते भएका छन| । त्यस्तै आर्थिक वर्ष ७४/७५ मा छ महिला, १७ पुरुष र पाँच बालबालिकाका गम्भीर घाइते भएका छन् । आर्थिक वर्ष ७५/७६ मा दश महिला , १७ पुरुष र पाँच बालबालिका गम्भीर घाइते भएका छन् । साथै आर्थिक वर्ष ७६/७७ मा पनि गम्भीर घाइते हुनेको संख्या ठुलो मात्रामा रहेको छ । चालु आर्थिक वर्षमा चार महिला , २३ पुरुष र ७ बालबालिका गरि ३४ जना गम्भीर घाइते भएका छन ।
कति सवारी कारबाहीमा परे कति राजस्व जुट्यो ।
विगत चार वर्षमा गुल्मीमा साना ठुला गरि २१ हजार छ सय ७१ सवारी कारबाहीमा परेका छन् भने १ करोड ३१ लाख १२ हजार ५ सय राजस्व जुटेको छ । आर्थिक वर्ष २०७३/७४ मा पाँच हजार दुई सय ९३ सवारी कारबाहीमा परेका छन भने ३२ लाख १ हजार राजस्व सङ्कलन भएको छ । त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा चार हजार आठ सय दुई वटा सवारी कारबाहीमा पर्दा २८ लाख ९३ हजार पाँच सय राजस्व जुटेको छ । आर्थिक वर्ष २०७५/७६ मा छ हजार तीन सय ८९ सवारी साधन कारबाहीमा परेका छन भने । ३८ लाख २९ हजार राजस्व जुटेको छ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा पाँच हजार ८७ सवारीसाधन कारबाही मा परेका छन् भने ३१ लाख ८९ हजार राजस्व उठेको छ ।
नागरिकमा अझै चेतना भएन : ट्राफिक प्रमुख श्रेष्ठ
जिल्ला ट्राफिक कार्यालय गुल्मीका कार्यालय प्रमुख तथा प्रहरी प्रहरी नायव निरीक्षक राजिव श्रेष्ठले अझै नागरिकमा चेतनाको अभाव हुँदा सडक दुर्घटना रोक्न चुनौती थपिएको बताएका छन् । सोमबार सल्लेरी खबरसँग कुराकानी गर्दै श्रेष्ठले भने ” ग्रामीण क्षेत्रमा मात्र नभइ शहरमा पनि नागरिक सचेत नबन्दा समस्या जटिल भएको छ । ” उनले थपे, “वर्षेनी सडक दुर्घटनामा नागरिकले ज्यान गुमाएका छन् । भने कयौँ अङ्गभङ्ग भएका छन् । यो निकै दुखद् कुरा हो । तर धेरै सचेतनामुलक कार्यक्रम गर्दागर्दै पनि नागरिक, चालक तथा सह चालकले भनेको नमान्दा दुर्घटना बढिरहेको छ ।”
गुल्मीमा पनि सडक दुर्घटना न्यूनीकरणका लागि चालकसँग सडकमा एक मिनेट कुराकानी , चालक सह चालकलाई प्रशिक्षण तथा सचेतना कार्यक्रमसँगै व्यापाक प्रचार प्रसार गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।