Logo

युगाैँ हिँडिसकेकाे बाटाे



Spread the love

–प्रवेश आचार्य

बरण्डामा  ममीसँग गफ गरिराखेको थिएँ । चाख लाग्दा गहिरा कुरामा गफ गइराखेको थियो । त्यो बेला मनमा  भने केही कुराहरु नाँच्दै थिए तर त्यसको नृत्य अनुहारमा देखिएको थिएन । दिक्क दिक्क लागिराखेको थियो । भन्नु पर्दा, केही लेखौँ र कतै पोस्ट गरौँ भन्ने कुराले ग्रसित थिएँ ।

गफ गर्दागर्दै एका एक तल रोडमा  एक जना बुढा मान्छे हिँडिराखेको देखेँ। उनी मेरो आँखा अगाडि एक्कासि आइपुगेका थिए ।  लगभग उनी ७० वर्षका त थिए नै होला । हेर्दा गज्जब चिटिक्क परेका, सफा चट थिए । सेतो-सेतो सफा कुर्ता, वाङ्ले सुरूवाल,  जुत्ता अनि हेन्डिल गोलो भएको लठ्ठी थियो । कपाल एकातिर सर्लक्क कोरेका थिए । कपाल धेरै जसो सेतो थियो र थोरै कालो कपालले  ‘म पनि छु है’ भन्दै हात उठाएको जस्तो देखिन्थ्यो । विशेष उनी आनन्दले बिस्तारै चुपचाप  हिँडिराखेका थिए र आँखा जमिनमा  अडिएको थियो ।

उनलाई देख्ने बित्तिकै अर्कै अनुभूति भो । मनमा चलेको नृत्य एकाएक बन्द भयो । त्यो दृश्य नै  धेरै कुरा सुनाउने खालको थियो । सुनायो  पनि । मैले आँखाबाट धेरै कुरा सुनेँ र मनले त्यो तस्वीरलाई मजाले छाम्यो । त्यो दृश्य धेरै बेर त रहिरहेन, ती बुढा मान्छे एक समयपछि बिलाए तर त्यो क्षण  मेरो मनमा बसिरह्यो । उनलाई देखेको त्यो एक क्षणमा मैले खोइ कसरी एक्कासि अर्कै अनुभूत गरेँ ।

केवल एउटा मौन दृश्यले यति धेरै बोलेको मैले कमै अनुभव गरेको छु ।  मिठो थियो त्यो दृश्य, मनलाई छुने । साथै त्यस्तै थियो मौसम पनि, पुरै साँझ र अलिअलि बतास । उनको त्यो सुस्त हिँडाइ सुस्तरी हिँड्ने सूर्यजस्तो थियो । जसले सुस्तरी नै भए पनि कयौँ युग हिँडिसकेको छ, कयौँ युग बाँचिसकेको छ । हाँस्दा थोते चन्द्रमा देखिन्थ्यो अनुहारमा । त्यो दृश्यले मलाई अनेक कुरा सोंच्न बाध्य बनायो । उमेर, जोस, रहर, सपना, आँसु, हाँसो, कर्तव्य  र बुढेसकाल । जीवनलाई बाँध्दाबाँध्दा हात-पाखुरा खुकुला हुन्छन् । कसिएका छालहरू जीवनको तापले पग्लिन्छन् । मुजा बनी निधारभरी, गालाभरी, हातभरी समयको परिभाषा बस्छ। दृश्य कविता जस्तै कोमल थियो तर त्यो कविताको कवि काे थिए ? दृश्य कुनै चित्र जस्तै मौन थियो तर  त्यो चित्रको चित्रकार को थिए ?

‘तिमी मलाइ चिन्दैनौ र मैले पनि तिमीलाई पहिलोपल्ट देखेको हुँ । ए बुढा कति सुस्तरी  हिँडेको ?तिम्रो सुस्त हिँडाइले मसिनो आवाजमा मेरो मनलाई अनेक कुरा सुनाइ राखेको छ।’

 ‘पहिले त म पनि बडो जोसिलो थिएँ ।’

‘हाम्रा पनि सपना कहाँ सानो थियो र !’

‘सबै रहर त कहाँ पुरा हुन्छन् ।’

‘आँसु हाँसो दुबै रैछ यहाँ।’

‘जीवन यस्तै हो रहेछ छोरा ।’

तिमीसँगै  मलाइ पनि तिम्रो हात समातेर बिस्तारै  हिँड्न मन लाग्यो । आज जसको लठ्ठीको आवाजले  जीवनको ध्वनि सुनाइराखेको छ, जसको मौनताले नै जीवन व्याख्या गरिराखेको छ । जमिनलाई मात्र  हेरेर हिँडेको देख्दा आकाशमा केही छैन भन्न खोजे जस्तो लाग्छ । ए हजुरबा के तिमीलाई मन लाग्दैन फेरि जवान हुन ? के मन लाग्दैन बेसरी हाँस्दै फेरि संसारको कुरा गर्न ?  के मन लाग्दैन फेरि  सिगरेट तानेर रवाफ देखाउन ? के मन लाग्दैन जीवन, राजनीति, प्रेम, कला, दर्शनका अनेक कुराहरु  गर्न ?  जीवनको पल्लो छोरमा आइपुगेपछि पुरा नभएका प्यारा  सपना बारे कस्तो ख्याल आउँछ बा ?  मलाई  त अहिलेसम्म कसरी बाँच्ने भन्ने कुराको फिकिर नै छैन, छ त सिर्फ कसरी उठ्ने र कसरी उड्ने । आज तिम्रो मुखबाट सुन्न मन लाग्यो  कोसिस गर्नु, उठ्नु, उड्नु , लड्नु, जित्नु, हार्नु, हराउनु  र जिउनुको परिभाषा के हो ? जित्नु र जिउनुको फरक के हो  र  महत्त्व के हो ? त्याग के हो ?

कति एक्लै लठ्ठी टेकेर टुकु टुकु हिँड्छौ । जाऔँ आज कुदेर त्यो समयमा पुगौँ जब तिम्रो  सपनाको पनि संसार देख्ने आँखा थियो । जब तिम्रो सपनाले तिमीलाई पनि रातभर सुत्न दिंदैन थियो । जब तिम्रो जोसलाई कुनै अन्धो हुरीले पनि रोक्न सक्दैन थियो । जाऔँ त्यो प्रेमको समयमा जब तिमी आफ्नो मनलाई कसैको कामुक यौवनमा लिप्त पार्थ्यौ। जब तिमी पनि कसैको यादमा विक्षिप्त भएका थियाै । तिमीलाई कहाँ पुग्नु छ ?  यति  बिस्तारै हिँडेर घर कहिले पुग्छौ तिमी ? अनि कस्तो चिटिक्क परेर हिँडेको ? मनमा पुरा नभएको रहर कति छ ? ओठमा नखिल्खिलाएको हाँसो कति छ ? अचेल त साना जस्तो जिद्दी गर्न मन लाग्छ र ? यति बुढा भयौ  के बाआमाको याद आउँछ ? बुहारीले  कति माया गर्छे बा ? दाँत कति बाँकी छन् बा ? साँच्चै साथ कति बाँकी छन् बा ? कुनै तस्बीर हेर्दा त एउटा युग नै याद आउँदो हो है । तिमीलाई दुख दिने मान्छेलाई त्यहीं लठ्ठीले भुँडीमा हानिदिनु है बा !  जिम्मा मेरो भो ।

ए बुढा मान्छे सुनन, यसो जब म बाहिर हेर्छु ।  किसान खेत रोपिरहेको, मान्छे  हिँडिरहेको, बच्चाहरु  खेलिरहेको र समय आफ्नै गतिमा चलिरहेको । एक्कासि लाग्छ यो दृश्य दुर्लभ छ । भोलि तिमी यो बाटोमा नहुन पनि सक्छौ, भोलि समयको अनुहार बदली हाल्छ। हामी कति दुख गर्छौँ  बाँच्न, एक पल्टका निम्ति मिठो हाँस्न, सुमधुर सम्बन्ध गाँस्न । हाम्रा लागि कोही कति प्रिय छन्, कोही कति महत्त्वपूर्ण छन् । जब मान्छेको मुस्कान हेर्छु, उ: त्यहाँ पर्तिर गुञ्जिरहेको हाँसो सुन्छु, प्रफुल्लित आफूलाई निहार्छु  । मलाई अचम्म लाग्छ। म छक्क पर्छु । थाहा त सबैलाई छ हामी सबै एक दिन यहाँ रहदैनौँ  तर त्यसको डर हाम्रा अनुहारमा कहाँ र ?  हामी त मस्त बाँचिरहेका छौँ सोंच्दै सायद सपना भोलि पुरा हुन्छ । तिम्रो  त्यस मौन दृश्यले मलाइ यसको उत्तर दिए जस्तै लाग्यो । सत्य डर लाग्दो कहाँ हुन्छ र ? डर त केवल डरहरुको ।

प्रतिक्रिया दिनुहोस्