–समीक्षा खतिवडा
“कहाँ छस् ?”
“म घरमै छु यार ।”
“ए तँ घर पो गएको, म काठमाडौंमा छु, तँसँग यतै भेट हुन्छ कि भन्ने सोंचेर म्यासेज गरेको ।”
च्याटबक्सको संवादले खिसिक्क हाँसे, आफैलाई हेरेर । के जरुरी थियो र अर्काको घरलाई घर भन्न । कोठामा छु भन्दिएको भए कुरा लम्बिने नै थिएन ।
“हैन, घर भन्नाले, घरबेटीको घर !” हाँसोयुक्त इमोजी जोडेर यस्तो रिप्लाई गरेँ ।
“कहाँनेर हो तेरो कोठा ?”
कोठा ! आखिर त्यो मेरो कोठा मात्रै न थियो । वर्षौदेखि बसेर आफ्नैजस्तो लागेपनि त्यो घर अर्कैको थियो । महिना मरेको दिन कोठाभाडासहित बत्ती, पानी, ईन्टरनेट, फोहोर सबैको हिसाब नबुझाए त्यहाँबाट बास उठ्ने निश्चित थियो ।
तर, त्यहीं कोठाका चार पर्खाल थिए, जसले मलाइ सबैभन्दा नजिकबाट चिनेका थिए । सानो सफलतामा उफ्रिएर कोठाभरी नाँचेको तिनैले देखेका थिए । सानै दुखमा आत्तिएर रुनुपर्दाको साक्षी पनि तिनै चार पर्खाल थिए ।
भविष्यको बारे पुर्वानुमान लगाउने कुनै शास्त्रको अध्ययन नगरेपनि मलाइ आफ्नो भविष्यको बारे यति ज्ञान पक्का थियो कि अझै केही वर्ष यो कोठासँग त्यति सजिलै बिछोड हुनेवाला छैन ।
हैसियतले सिकाएको हो वा बस्दाबस्दै प्रिय भएको, गजब कोठामोह उब्जिएको रहेछ मेरो मनभित्र । जसको महशुस भने अर्काले गराइदिनुपर्यो ।
आफ्नो मनमा आफ्नै कोठाप्रतिको प्रेमबोध गर्दै म्यासेज रिप्लाई गरेँ ।
“बानेश्वर ! तँ कहाँ छस ? आइज न चोकतिर, म लिन आउँछु ।”
“म यतै, मैतिदेवी छु। तेरो नम्बर छोड्दे न है, भोलि दिउँसाे आउँछु, तेरो काम छैन होला ।”
फेरि अर्कोपटक खिस्रिक्क गरे ओठ । हो त नि, मेरो के काम छ र दिउँसो ? त्यहीं बिहान एकछिन कलेज जाने त हो । त्यसपछि दिनभरी मसँग जसलाई दिन पनि पर्याप्त समय हुन्छ ।
मान्छेलाई त्यस्तै बोल्दा मजा आउँछ कि त्यसरी बोलेको सुन्नुपर्दा मीठो लाग्दैन भन्ने कुराको ज्ञान हुन्न कुन्नि ? आफ्नोपन जताउँछन् र फेरि घोचिरहन्छन् शब्दैपिच्छे । दुख्यो भन्ने कस-कसलाई ? आखिर घोच्ने ठाँउ दिएको आफैले न हो ।
हुन्छ, भनेर नम्बर छोड्दिएँ ।
उ र म, बाल्यकालका निक्कै मिल्ने साथी । उ निम्नवर्गीय परिवारको, म मध्यमवर्गीय । उसमा र ममा त्यति मात्रै फरक थियो कि उ चप्पल चुँडिदा फित्ता फेर्थ्यो, म चप्पल नै फेर्न पाउँथेँ ।
एस.एल.सी पछि म नयाँ चप्पल लगाएर काठमाडौं आएँ । उ फित्ता फेरिएका चप्पल लगाएर कतार पुग्यो ।
आज, वर्षौँपछी स्वदेश फर्किएछ, त्यसैले भेट्ने मन गरेर म्यासेज गर्यो । म उसको कालो चप्पलमा निलो फित्ता देखेर खुब हास्थेँ, भोलि उ मेरो कोठा देखेर हांस्ला कि नहास्ला ? सोंच्दासोंच्दै निदाएछु ।
भोलिपल्ट कलेजबाट निस्कंदै गर्दा उसको फोन आयो । चोक पुगेर उसलाई पनि सँगै लिएर कोठा फर्किएँ । बाटोमा कुराकानीको क्रममा उसले बिहानको खाना खाएकै छैन भन्ने थाहा पाएपछि खल्ती छामेँ ।
धन्न पाईन्टको खल्तीमा एक हजारको एउटा नोट फेला पर्यो ।
“एक्कैछिन है ! ” उसलाई रोकेर नजिकैको मासुपसलबाट एक किलो चिकेन लिएँ । अलि पर तरकारी पसलबाट अदुवा, लसुन, टमाटर र धनिँया ।
“दुःख नगरेको भए हुन्थ्यो नि यार, जे छ त्यहीं तरकारी खाए भइहाल्थ्यो नि !” उसले पनि आफ्नो औपचारिकता पूरा गर्यो ।
‘जे छ त्यहीं’ यी शब्द सुन्दा मेरा ओठ तेस्रो पटक खिस्रिक्क परे । कोठाको चारखुट्टे खाटमुनि बाले छ महिनाअघि पठाइदिनुभएको एक बोरा स्कुस र अर्को बोरा आलुको मैजारो बाँकी थियो । त्यहीं पनि चाउरिएर, टुसा पलाएर, हरियो भएर, वास्तविक स्वाद नै नभेटिने अवस्थामा ।
“के दुःख भयो र यार, बल्लतल्ल यत्तिका वर्षमा भेट भएको छ । एक छाक खाना त राम्रोसँग खाएर जा न ।” मैले पनि उस्तै औपचारिकता निभाएँ ।
उ आउने भनेपछि कलेज जानुअघि नै कोठा सफा गरेको थिएँ । कोठा छिर्ने बित्तिकै उसले चारैतिर नजर डुलायो ।
“बस न ।” खाटतिर इंगित गर्दै उसलाई भनेँ ।
खाटबाहेक बस्नका लागि अरु कुनै विकल्प पनि कहाँ थिए र ? उ मेरो खाट भाँच्चिएला कि झैं गरी सरक्क खाटकाे छेउमा बस्यो ।
ब्याग ढोका पछाडिको काँटीमा झुण्ड्याएर वासरुम पसेँ र कपडा चेन्ज गरेर आएँ ।
खाना बनाउने तरखर गर्दा उ बाहुला सुर्कंदै किचनर्याक छेउमा आयो र भन्यो, ” विदेश बसेर मासु पकाउन पर्फेक्ट भाछु यार, आज म तँलाई पकाएर खुवाउछु ।”
“पर्दैन छोड न, म पकाइहाल्छु नि ।” मैले ईन्कार गर्दा पनि उ मानेन । मासुको जिम्मा उसलाई दिएर खाना बसालेँ ।
साँच्चै मीठो पकाएछ । उसले पकाएको मासुको स्वादले मलाई खरिदारको फस्ट पेपरको किताब किन्नलाई छुट्ट्याएको हजार रुपैयाँ पनि बिर्साइदियो ।
खाना खाएपछि बाल्यकालका कुरा सम्झिएर एकछिन हास्यौँ ।
कुराकानीकै क्रममा उसले आफू विदा मिलाएर आउनुको उद्देश्य बतायो, “तराईमा अलिकति जग्गा जोडियो, घर बनाएर बा-आमा पोहोर देखि नै उतै बस्नुभएको छ। घर कस्तो बन्यो, त्यो पनि हेर्न पाएको छैन । आएको बेला बिहे पनि गरेर जाउ भन्ने सुर छ ।”
“ए ! काका-काकी तराईतिर पो हुनुहुन्छ अचेल ? बिरामी भइरहनुहुन्थ्यो, अहिले कस्तो छ ?”
दशैंमा मात्र घर पुग्ने मलाइ उसका बुवा-आमा तराई झर्नुभएको कुरा थाहै थिएन ।
“बुवाको खुट्टा सुन्निने, दुख्ने समस्या थियो, पहाडको कामले हो कि चिसोले हो, तराई गएपछि त सब निको भईहाल्यो नि । आमा अलि खोक्नुहुन्थ्यो, त्यो पनि दाउरामा खाना बनाउन छोडेर ग्याँस प्रयोग गर्न थालेपछि धेरै कम भएको छ ।”
“ए !” प्रतिउत्तरमा यति मात्रै बोले म ।
मेरा बाको काँधले अझै जिम्मेवारी बिसाउने पालो पाएकै छैन । मेरी आमालाई पनि त उत्तिकै पोल्दो हो, चुल्होको पिरो धुँवाले ।
“राम्रै कमाएको रैछस् । काम कस्तो छ त ?” केहीबेरको सन्नाटालाई चिर्दै फेरि सोधेँ ।
“ठिकै छ भनौँ यार, दुख नगरी सुख कहाँ मिल्छ र ? पहिलापहिला जे पनि काम गरियो । अहिले काम सिक्दै गएपछि कम्पनीले सुपरभाइजर बनाइदिएको छ, फ्ल्याट दिएको छ । त्यस्तै त हो नि, अर्काको देशमा ।”
“बिहे गरेर फेरि फर्किहाल्ने हो ?”
“चालीस दिनको बिदा हो, म त फर्कन्छु । अब तेरी हुनेवाला भाउजुले के भन्छे । सानिमाले खोज्दिनु भएकी केटी हो, हाइ हेल्लो बाहेक खासै कुरा हुन पाएको छैन । उसको विचार के छ बुझ्छु, मानिछे भने उसलाई पनि उतै लैजाने सोंच छ । “
म मौन रहेर सुनिरहेँ ।
उ फेरि बोल्यो, “अनि तेरो सुना न, के छ नयाँनौलो ? खुब प्रगति गर्या छस् है ? मास्टर्स सिध्याउन लागिछस् । आफूले त पढ्न पनि सकिएन ।”
“खै के प्रगति भन्नु यार, पढ्ने बाहेक अरु केही लछारपाटो लगाउन सकिएको छैन ।” म चोथोपटक खिस्रिक्क हासेँ ।
शब्दकोषमा प्रगतिको अर्थ के छ कुन्नि ? यसबेला भने हामी दुई बालसखा एकअर्कालाई प्रगतिको शिखरतर्फ लम्कंदै गरेको देख्दै थियौँ ।
सायद प्रगतिको कुनै गन्तव्य हुँदैन, यो केवल एउटा यात्रा हो, जुन कहिल्यै टुंगिदैन । अक्सर मान्छेलाई अरुका प्रगति अथाह लाग्छन् । आफ्ना संघर्ष झिना ।
मलाइ मेरो साथीको प्रगतिप्रति कुनै डाहा थिएन । बरु थाहै नपाइ उसँग आफूलाई तुलना गरेर आफ्नो नजरमा आफै कमजोर साबित हुँदै रहेछु ।
मनमनै आफैलाई सम्झाउने कोसिस गरेँ, “धत् ! सबैको भागमा बराबर कहाँ पर्छ त ? फेरि उसका संघर्षबारे तँलाई केही ज्ञान छ र ? आफन्त, परिवार, चाडपर्व केही नभनी वर्षौ परदेशमा दु:ख गरेको थियो र पो आज मुस्कुराउँदै यति गफ गर्न पाएको छ । अर्काको आरिस गरेर आफ्ना पाईला कपाउनु मुर्खता मात्रै हो । तँ हिँडेको बाटो अलि लामो भयो होला तर गन्तव्य गलत छैन ।”
म आफैसँग मनमनै संवाद गरिरहंदा उ पनि टोलाइरहेको थियो । सायद सोंचिरहेको हुँदो हो, “तैँले तराईको घरजग्गा मात्रै सुनिस, पैंतालीस डिग्री घाममा बगाएको पसिना सुनिनस्, अहिले कम्पनीले दिएको फ्ल्याट मात्रै सुनिस्, पहिले एसीबिनाकाे सस्तो रुममा एउटा पातलो तन्ना बिच्छ्याएर सुतेको रात सुनिनस् । जति सुनाएँ त्यति मात्रै सुनिस्, मुखको सुनिस्, मनको सुनिनस् ।”
दिनभर उसँग त्यस्तै दु:खसुखका कुरा भए । धन्य, म उसको चप्पलको फित्तामा हाँसे झै उ मेरो कोठाको हालत देखेर हाँसेन ।
साँझ कोटेश्वर पुगेर उसलाई पूर्व जाने नाइट बस चढाएर आएँ ।
कोठा फर्कंदा बुवाको फोन आयो, “भाडा तिर्ने बेला भयो भन्थिस, तेरो खातामा पैसा हाल्दिएको छु, अलि बढी पैसा छ, फारु गरेर चलाएस् है ।”