२० असार, दाङ – डिभिजन वन कार्यालय दाङले बगरलाई वन बनाउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । अघिल्लो वर्ष करिब ५० हेक्टर बगरलाई वन बनाएको कार्यालय यस वर्ष पनि करिब ४० हेक्टर बगर क्षेत्रलाई सामुदायिक वनमा परिणत गरेको छ ।
जिल्लाको विभिन्न गाउँ हँुदै बग्ने बबई, हापुर, सिस्ने, कटुवा र सेवारखोलाले छोडेको बगरमा वृक्षरोपणसँगै सामुदायिक वन घोषणा गरिएको छ भने गाउँमै पुगेर स्थानीयवासीलाई बिरुवा र सामुदायिक वनको विधान हस्तान्तरण गर्न थालेको छ ।
बगरलाई वन बनाउने अभियान लकडाउनको समयमा पनि निरन्तर जारी रहेको र सामाजिक दूरी कायम राख्दै निरन्तर वृक्षरोपण कार्य चलेको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए । अघिल्लो वर्ष र यस वर्ष पनि बगर क्षेत्रमा सिसौ, सिमल, खयर, अमला जामुनलगायतका प्रजातिका बिरुवा लगाइएको उनले बताए ।
बबई नदी तथा अन्य नदीले कटान गरेर छाडेको बगर क्षेत्रलाई वृक्षरोपण गरी हरियाली बनाउने योजनाअनुसार आफूहरुले काम गरेको डिभिजन वन अधिकृत ज्ञवालीले जानकारी दिए । “गत वर्ष बगरलाई वन बनाउने अभियानअन्तर्गत वृक्षरोपण गरिएको करिब ४० हेक्टर क्षेत्रफलमा लगाइएको बिरुवा हुर्कँदै गएपछि हामीहरु उत्साहित भएका छौँ”, उनले भने, “अघिल्लो वर्षभन्दा यो वर्ष हामीले झन् धेरै स्थानमा बिरुवा रोपेका छौँ ।”
बगरलाई वन बनाउने अभियानलाई प्रभावकारी बनाउन काष्ठ प्रजातिका बिरुवा लैजाँदा वन समूहलाई प्रोत्साहानस्वरुप २० प्रतिशत फलफूलका बिरुवासमेत निःशुल्क वितरण गरिएको छ । पहाडी क्षेत्रमा जडीबुटी र तराई क्षेत्रमा फलफूलका बिरुवा अन्य बिरुवासँगै रोपेका उपभोक्ताले छिट्टै उत्पादन लिनसक्ने भएकाले यस वर्ष ५० हेक्टर बगरमा दुई लाख ५० हजारभन्दा बढी काष्ठ तथा फलफूल बिरुवा रोपन अभियान सञ्चालन गरिएको प्रमुख ज्ञवालीले बताए ।
यस वर्ष वन क्षेत्रबाहेकका ऐलानी तथा पर्ती जग्गामा समेत वृक्षरोपणका कार्यक्रम सञ्चालनका लागि उपभोक्ताबाट माग आएको छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीका अनुसार अहिले वन कार्यालयबाट काष्ठ प्रजाति एवं फलफूलका बिरुवा वितरण भइरहेको छ । फलफूलका बिरुवाहरुमा विभिन्न प्रजातिका आँप, सुनकागती, बाह्रमो कागती, रुख कटहर, लिची, अनार, नास्पती, किवी, ङ«यागन फ्रुट, जुनार, सुन्तला, वयर रहेका छन् ।