असार २०, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव एवम् प्रवत्ता सरोज सिटोलाले असार २१ बाट सवारी साधन चल्ने बारे हल्ला आएको र यसबारेमा महासंघले कुनै निर्णय नगरेको बताएका छन् ।
सिटौलाले फेसबुकमा स्टाटस राखेर उक्त कुराको जानकारी दिएका हुन् ।
उनले फेसबुकममा लेखेका छन्,‘मुलुकमा लकडाउन परेसँगै चैत १० गतेदेखि देशभर सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएसँगै नेपालका यातायात व्यवसायीहरु आर्थिक संकटमा परेका छन् । असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आएपनि महासंघले यस बारेमा कुनै निर्णय नगरेको स्पष्ट पार्न चाहन्छु ।’
महासंघले सार्वजनिक यातायात सञ्चालन गर्ने बारेमा मजदूर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा वार्ता र संवाद गरिरहेको सिटौलाले जनाएका छन् ।
सिटौलाले नेपालमा सार्वजनिक यातायात सञ्चालन गर्ने बारेमा महासंघले चाँडै नै सरोकारवाला निकायसँग बैठक बसी निर्णय गर्ने पनि उल्लेख गरेका छन् ।