Logo

नेकपाको बैठक स्थगित, अब बिहीबार बस्ने



Spread the love

प्रधानमन्त्रीकाे सचिवालय

असार १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी कमिटीको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

बुधबार करिब एक घण्टा बैठक बसेपछि बिहीबार पुनः बस्नेगरी स्थगित गरिएको छ । कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम भएकाले बैठक स्थगित भएको हो ।

छन्त्यालको बुधबार बिहान गंगालाल शहीद राष्ट्रिय हृदय केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार बसेको बैठकमा ५ जना स्थायी कमिटी सदस्यले आ–आफ्ना धारणा राखेका थिए । बैठकमा उपस्थित सदस्यहरुले प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका विषयमा आधारित भइ धारणा राखेका थिए ।

मंगलबार १८ जनाले प्रधानमन्त्री ओलीको राजीनामा माग गरी उहाँको कार्यशैली र अभिव्यक्तिको आलोचना गरेका थिए । गएको आइतबार ओलीले सरकार ढाल्न भारत लागिपरेको र त्यसमा पार्टीकै नेताहरु रहेको अभिव्यक्ति आएसँगै नेकपाभित्र विवाद चुलिएको छ ।

पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेका थिए ।

पार्टीका नेताहरुबाटै राजीनामा माग आएपछि ओलीले आफू निकटका मन्त्री र स्थायी समिति सदस्यहरुलाई बोलाइ छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्