असार १६, काठमाडौं । भारत हुँदै नेपाल प्रवेश गरेको मरुभूमि सलह किरा हालसम्म २६ जिल्लामा पुगिसकेको कृषि मन्त्रालयको अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले बताएको छ ।
विभिन्न जिल्लामा पुगेको सलहमा सातवटा समूह तुलनात्मक रुपमा ठुलो रहेको कृषि मन्त्रालयले जनाएको छ ।
सबैभन्दा धेरै समूहमा सलह मकवानपुरको बकैया हेटौँडा नगरपालिकामा देखिएको छ । त्यहाँका किसानले एक हजार रोपनी क्षेत्रमा लगाएको मकैबालीमा क्षति गरेको बताएका छन् । मकवानपुरबाट सलह चितवन प्रवेश गरेको केन्द्रले जनाएको छ ।
यसैगरी रुपेन्देहीको सैनामैना क्षेत्रमा ५ देखि ७ लाखको संख्यामा रहेको सलहको समूह पाल्पा तथा कपिलवस्तुतर्फ गएको छ ।
पाल्पामा चारदेखि पाँचलाखको समूहमा पुगेको सलह अहिले स्याङ्जा र गुल्मीतिर गएको छ । आठदेखि दस लाखको समूहमा कपिलवस्तु भित्रिएको सलह अहिले अर्घाखाँची, दाङ, प्युठान, रोल्पातिरका क्षेत्रमा गएको छ ।
यसैगरी सिन्धुलीमा पनि सलह देखिएको छ ।
गएको शनिबार भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रबाट नेपालमा सलह छिरेको थियो । कृषि मन्त्रालयले सलहले गर्ने क्षति कम गर्न लागि परेको बताएको छ ।