Logo

नेटबिनाकाे एक रात



Spread the love


कुरा एक साँझको हो जुुन साँझमा मेरो मोबाइलमा कनेक्ट भएका दुुबै वाइफाइ चलेनन् । अचम्म लाग्यो सधैँ दुुबै चल्थे । एउटाको नेट ढिला चल्दा मैले अर्को कनेक्ट गराएर चलाउँथे । तर त्यो दिन किन चलेनन् मलाइ थाहा भएन । हुुनसक्छ मलाइ नेटबिनाको जीवनबारेमा अवगत दिन हो कि ? बाँकी कुरा राम जाने ।

मोबाइलमा भएको ह्याकर एप्लिकेशनले डब्लुपीएस डब्लुपीए भएको वाइफाइ ह्याक गर्न खोजेँ । बल्ल बल्ल दुुईटा त भेटाएँ तर दुबै कनेक्ट हुुन सकेनन् । अरु दुुई चारजनाले पनि डब्लुपीएस डब्लुपीए खुला राखेको भए कतै कनेक्ट हुुन्थ्यो कि ? छिमेकीहरुलाई एकचोटि गाली गर्न मन लाग्यो । वाइफाइ वन वफ गर्दै कति पटक मोबाइल राखेर किताब हेरेँ त्यसको हिसाबकिताब म यता गर्न चाहन्न ।

रातको ९ः३० बजिसक्यो । पसल पनि बन्द । नत्र पसलबाट रिचार्ज गरेर नेट चलाउन हुन्थ्यो । नेपाल टेलिकमले दिने सापटी पनि लिएँ । अगिल्लो पटक घर जाँदा सापट लिएर चलाएको थिएँ । पछि भने मैले फेरि क्यापिटल लेटरमा स्टार्ट लेखेर १४७७ मा पठाइ सापटी सेवा सुचारु गरेँ ।

नाथे सापट लिएकोले कतिबेर चल्थ्यो र ? डाटा सेभिङ्ग अन गर्न भुलेछु । एकैछिनमा विभिन्न एप्सकाे नोटिफिकेसनले लिएको सापटीले लामो समय चल्न सकेन ।

एक मिनेट नहुँदै मोबाइलको बारमा देखाउने डाटा काउन्ट बाइट्समा चलिरहेको थियो । लौ खतम । बाइट्समा चल्नेबित्तिकै टेलिकमले मेसेज गर्यो । तंपाइले यति रुप्पको सापटी सेवा लिइसक्नुु भएको छ । रिचार्ज गर्दा यति रुप्पे कट्ठा गरिनेछ । झनक्क रिस उठ्यो । राम्रोसँग चलाउन नपाउँदै रिचार्ज गर भन्दा । अनि क्यापिटल लेटरमा स्टोप लेखेर १४७७ मा पठाएँ । सापटी सेवा बन्द भएको छ भन्दै मेसेज गर्यो । मोबाइल फालेर किताब हेर्दे थिए । मोबाइलमा मेसेज आयो । तेरो नम्बर वन वे वारमा छ भनी । तनाब भयो । अब भोलि बिहानै रिचार्ज नगरि हुुँदैन । टेलिकम पनि कति बाठो ? एकरात पनि पर्खिन नसक्ने । हुन त त्यसै त्यति ठुुला भवन कसरी बनाउँला र ? नेपालकै टन्न पैसा कमाउने संस्थानमा जो पर्दछ ।

यति गरुन्जेलसम्म ११ बजिसकेको हुुन्छ । सुुत्नेबेला भइसक्यो अहँ अझै वाइफाइ चल्छ कि भनेर वाइफाइ अन गरे । अहँ चलेन । त्यसपछि सुुत्न कोशिस गरेँ । मरिगए निद लागेन । दायाँ, बायाँ कोल्टे फेरेँ अहँ सकिएन । फेरि उठे र कुुनै वाइफाइ ह्याक हुुन्छ कि भनेर एप्लिकेसन खोलेँ । के हुुन्थ्यो र भएन । अनि फेरि चलाइराखेको वाइफाइ विचार गरेँ । दुबै बाइट्समा चलिरहेका थिए । निद लाग्दैन नेट चल्दैन किताब पढ्न जाँगर छैन । अब के गर्ने ? दिनमा भए कतै निस्किन हुन्थ्यो । सारै फसादमा परियो ।

यताउता गर्दा रातको १२ बजिसकेछ । अब त जसरी भएपनि सुुत्नपर्छ । भोलि खानेपानी आउने पालो हो । बर्खाबेलामा भर हुुँदैन । आएको बेलामा भरेर जार किन्ने पैसा जोगाइ चिकेन खानुुपर्छ । मोबाइलको प्लेलिस्टमा भएको स्लिपिङ मुडमा भएका केही थान गीतहरु बजाएँ अनि सुत्न कोशिस गरेँ ।

कोशिस गरेको आधा घन्टा नबितेसम्म मलाइ निद लाग्दैन । विगत दुुई वर्षदेखि यहीं समस्याबाट ग्रसित थिएँ । मेरो एकजना साथी थियो जो पल्टेको पाँच मिनेटमा नै निदाउँथ्यो । उसको निद देखेर म आफै दङ्ग परेको थिएँ । मेरो सर्कलमा भएका साथीहरुमध्ये चाँडो उ नै निदाउँथ्यो । अरुलाई पनि मलाई झैँ आधा घन्टा लाग्थ्यो ।

बिहान छ बजेर तीस मिनेट जाँदा अलार्म बज्यो । आधा घन्टा पर सारेर सात बजे उठेँ । सिरानमा भएको मोबाइल झिकेँ । मोबाइल शिरानमा राख्नुहुुन्न भन्ने पढेपनि मैले भने शिरानबाट हटाउन सकेको थिएन । वाइफाइ खोलेँ । ठ्याक्कै १२ घन्टापछि चल्यो । त्यो पनि एउटा होइन दुईवटा नै । ट्विटर, इन्स्टा र फेसबुकको नोटिफिकेसन चेक गरेँ । दुई तीनवटा मेसेजको रिप्लाई दिएँ ।

म एकैछिन सोंचमग्न भएँ । एकदिन नेट नचल्दा यति गाह्रो हुन्छ ? के हामी पहिलादेखि नै यस्तै थियौँ ? इन्टरनेटतिर यति धेरै झुकाव किन ? के हामीले प्रविधिको बढी प्रयोग गरिहेका छौँ ? यस्ता खालका प्रश्नहरू मेराे मनमा खेलिरहे । यो खालको समस्याबाट ग्रसित भएको सायद ममात्र होइन होला । अहिले धेरैजना यसको शिकार भएका छन् । जो केही क्षण पनि बिना इन्टरनेट बाँच्न सक्दैनन् । इन्टरनेट बिनाको जीवन अब हामीले कल्पना गर्न सकिंदैन । यो थाहा भएकै कुरा हो । तर इन्टरनेटप्रतिको लगाव भने कमी गर्नु पर्दछ । बरु हामीले नेट नभएको समयमा आफूलाई किताब पढेर व्यस्त गराउन सकिन्छ ।

रातभर वाइफाइ ह्याक गर्ने चक्करमा ब्याट्री त तीस प्रतिशतमा पुगेछ । अनि मोबाइल चार्जमा राखेर म नित्यकर्मतिर लागेँ ।

प्रतिक्रिया दिनुहोस्