एजेन्सी । कोरोना भाइरस विरुद्ध अक्सफोर्ड यूनिभर्सिटीले बनाएको भ्याक्सिनको परीक्षण सुरु भएको छ ।
यूनिभर्सिटीले बुधबार ब्राजिल र अफ्रिकाका मानिसमा परीक्षण गर्न सुरु गरेको छ ।
विश्वभरी कोरोना भाइरसको त्रास झन् पछि झन् फैलिंदै गएको छ । विभिन्न वैज्ञानिकहरुको समूह भ्याक्सिन बनाउनको लागि जुटिरहेका छन् ।
ब्राजिलको साओ पाउलोमा रहेको फेडरल यूनिभर्सिटीका शोधकर्ताहरुले यस भ्याक्सिनकाे परीक्षण ब्राजिलमा गरिसकेका छन् । ब्राजिलमा संक्रमितको संख्या अत्याधिक भएको हुनाले ब्राजिललाई छानिएको थियो ।
ब्राजिलमा ११ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ५३ हजारभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् ।
प्रस्तुत भ्याक्सिनको विकासमा अक्सफोर्ड यूनिभर्सिटीको साथमा औषधि बनाउने कम्पनी एस्ट्राजेन पनि सहभागी भएको छ ।
अक्सफोर्डको भ्याक्सिनलाई लिएर धेरैले आशा जगाएका छन् ।
दक्षिण अफ्रिकामा भएको परीक्षणमा करिब दुई हजारले भाग लिइरहेका छन् । जसमा १८ देखि ६५ उमेरसम्मका मानिसहरु रहेका छन् । परीक्षणमा भाग लिनेहरुमध्ये केही एचआईभी संक्रमित रहेका छन् । उनीहरुमा भ्याक्सिन लगाएपछि १२ महिनासम्म निगरानीमा राखिनेछ ।
बेलायतमा पनि यस भ्याक्सिनको परीक्षण गर्नका लागि चार हजार जनाको रजिस्टर भइसकेको छ । र अझै १० हजार मानिसलाई यस परीक्षणमा सहभागी गराउने योजना पनि रहेको छ ।
प्रस्तुत भ्याक्सिनको परीक्षण अमेरिकामा पनि गरिने प्रस्ताव गरिएको छ । अमेरिकामा ३० हजार जनाले परीक्षण गर्ने आशा रहेको छ ।