–प्राप्ती दंगाल
ईश्वर
घोर अन्याय
अन्याय भयो प्रभु
सहन सकिंन लेखेँ
एउटा पत्र
अन्याय भयो प्रभु
ममा के छ र दोष ?
के म छोरी हुनुमा
म आमाको गर्भबाट
नौ महिना पालिएर
जन्मनुमा
हे ईश्वर
त्यसैले त म आफूलाई भन्छु नि
म बाँचेर मरिरहेकी छोरी ।
व्यथा सुनाउँछु म तिमीलाई
हे परमात्मा
तिमी त यस पृथ्वीको दृष्टिगोचर
अन्याय गर्ने माथि न्याय गर्ने रे
तर
खै कसरी भनुँ प्रभु
तिम्रो यो वास्तविकता
खै त तिम्रो दृष्टिगोचर
छोरी माथिको अन्यायको धावामा
हे ईश्वर
त्यसैले त म आफूलाई भन्छु नि
म बाँचेर मरिरहेकी छोरी ।
प्रकृतिको ऐन
जीवनमा जन्मेपछि एकदिन मर्नुपर्छ
प्रभु
तर
खै म त दिनदिनै मरिरहेकी छु
हे ईश्वर !
म त सृष्टिकर्ता जननी हुँ जो
समाजले दिएको निच वाणी हृदयमा
आलो पारी राख्न विवश छु
र संस्कारले बज्राएका अनेकौँ प्रकारका
घाउहरु सजाएर राखेकी छु
अवश्य एक दिन त्यस आलो वाणी
र त्यस उल्लेखनीय घाउ तिमीलाई
म देखाउने छु
हे ईश्वर
त्यसैले त म आफूलाई भन्छु नि
म बाँचेर मरिरहेकी छोरी ।
छोरीलाई तिमीले किन हृदय विनाको
बनाइ दिएनौ भन न
सपनाको बिट मार्ने एक अजम्वरी योद्धा
आफ्नो सपना तुहाएर
हृदयलाई कयौँ चोटी
ठेस लाग्दा पनि
ऐया भन्न नसक्ने
विरङ्गना हुँ
ईश्वर
त्यसैले त म आफूलाई भन्छु नि
म बाँचेर मरिरहेकी छोरी ।
के को सजाँय हो यो प्रभु
के को ?
उत्तर देउ
नौ महिना कोखमा राख्ने
आमाले त
अन्याय सहनुपर्छ
धैर्यशील हुनुपर्छ
सहनशील बन्नुपर्छ
किनकी तँ छोरी होस्
भनेर अन्यायीरुपी घुम्टो आडाइदिन्छिन्
जबकी
उनी पनि आफू एउटी छोरी
त्यही व्यथा लिएर पनि
मेरो स्वतन्त्रताको लाखौँ
उत्साहपूर्ण इच्छाका पखेटालाई
आफ्ना ती सामाजिक कु–संस्कारले
काट्न पछि पर्दिनन्
हे ईश्वर
त्यसैले त म आफूलाई भन्छु नि
म बाँचेर मरिरहेकी छोरी ।
त्यहीं आमाले
जब
म उनका गर्भमा हुर्किदा
लिङ्ग अज्ञानतामा दिएको स्पर्श
र
आज मलाई दिने स्पर्श
किन फरक ? प्रभु
आमाले त मलाई र मेरा दाजुभाइलाई
एउटै पीडाबोध गरेर
यस धर्तीमा ल्याएकी होइनन् र ?
हे ईश्वर
त्यसैले त म आफूलाई भन्छु नि
म बाँचेर मरिरहेकी छोरी ।
ईश्वर, पलपल कति मरुँ
पाइ पाइ सपना कति चुडाउँ
अन्यायका धापमा बसेर
म कति गलित बनुँ
अन्धविश्वासका जराहरुमा
म कति खेती गरेर बसिरहुँ
परमेश्वर,
अब मेरो हृदय ढुङ्गाको भइसक्यो
रित्ति सकेछन यी मेरा कोमल आँखाका आँशुहरु
कहाँ–कहाँ
अल्झिए मेरा बुनेका कल्पनाहरु
हे ईश्वर
त्यसैले त म आफूलाई भन्छु नि
म बाँचेर मरिरहेकी छोरी ।
प्रभु
त्यही आमाको कोखबाट
छोरा छोरी एकै गरी जन्मेका त हुन् नि
तर
किन ?
मेरो ललाटका रेखा अपूरा
उसका पूरा
प्रश्न गर्न चाहान्छु
कि मेरो छैठीको लेखा लेख्दा
तिम्रा कलमका मसी सिद्धिए
वा
तिम्रा ती हातहरुले
मेरा नसिवमा लेख्न घृणा गरे
प्रभु, तिम्रा ती हातहरुले
मेरो ललाटमा लेखिएका
धब्बाहरु मेटिएका छैनन्
म तिम्रो त तिरस्कृत पात्र रहेछु
हे ईश्वर
त्यसैले त म आफूलाई भन्छु नि
म बाँचेर मरिरहेकी छोरी ।
हे ईश्वर
प्रभु
गुनासो पोखेर
म यहाँ भ्याउँदिन
अवश्य
म एक दिन मौका पारेर
मेरा गुम्सिएका र विरोधीभावहरु
तिम्रो अदालतमा वकालत गर्दै
आशा गर्ने छु कि
यो छोरीको अन्तिम गुनासाको
पत्र बन्न पुगोस्
जब
छोरा र छोरी माथिको लैङ्गिक
विभेदतामा पलाएका
यी अन्यायी हाँगाहरु
तिम्रो न्यायरुपी कैँचीले
काट्न सकोस्
र
म पछिका छोरीहरुले
यस्ता गुनासोले भरिएको
पत्र लेख्न नपरोस् ।