गरिबी बिक्रीमा छ
लालसलाम
जय नेपाल
जय मधेस
नमस्कार
भन्दा अलि पर हिँड्छ एक भुइँमान्छे
उसको भोट चिनिन्छ
च्यात्तिएको भोटो देखिंदैन
आँत कतै गर्मीले कालो बनाएको छ
कतै हिउँले छाला फाटेको छ
खुट्टाले चप्पल टेक्दैन, चप्पलले खुट्टा टेकिन्छ
आत्मा एकछाक खाना नपाएको चीत्कार कोही सुन्दैन ।
कतै खाना धेरै भएर मान्छे विषाक्त भएको छ
ओत लाग्ने छानोका प्वालबाट छिरेका काला रातका ताराले चियाउँछ
तातिएको प्रकाशले गरिबीको भद्दा मजाक उडाउँछ
एक क्यामेरामेन आउँछ , गरिबीको परिभाषा नयाँ बनाउँछ
रिपोर्ट बनाउँछ, रिटर्न कहिल्यै हुँदैन ।
हरेक पाँच वर्षमा उसको नामको घोषणपत्र बन्छ
प्रेसमा उसले त्यो छाप्छ, बोकेर बजार पुर्याउँछ
प्रेस मालिकले एक तला थप्छ
नेताले पद किन्छ उसकै चुँडेको चप्पल देखाएर
फाटेका खुट्टा देखाए डलरवादीले डलर खरिद गर्छ
पत्रकार उसकै फाटेको टोपीको सामाचार लेखेर धनी हुन्छ
साहित्यकार उसको पसिना कथा लेख्छ, धनी बन्छ
कलाकारले उसकाे प्वाल परेको कछाडको नाटकले स्टार बन्छ
उ आफुलाइ बाहेक सबै अरुलाई दिन्छ ।
नेतालाई भोट
कर्मचारीलाई घुस
साहित्यकारलाई कथा
सामाजिक कार्यकर्तालाई प्रतिवेदन
राज्यलाई जनसंख्या
फिल्म स्टारलाई मर्मस्पर्शी ड्रामा
तर उसलाई जय नेपाल, लालसलाम, नमस्कार, जय मधेस कसैले केही दिदैंन
उसले मान्दै आएको पशुपतिनाथ
हरेक दिन मन झुकेर तन झुकाउने चर्च, सुतेर
नमाज पढ्ने मस्जिद,
पुर्खाले देखाएको गुम्बा
सबका सब चुपचाप हेर्छन् उसको पीडा र छटपटी ।
उ आफ्नो गरिबी बेच्छ फगत उधारोमा
पूँजीवाद
समाजवाद
साम्यावाद
लोकतन्त्र
गणतन्त्र
सबका सब गरिबी किन्छन्
सबैलाई उ उधारोमा गरिबी र पिडा बेच्छ
यहाँ गरिबी उधारोमा बिक्रीमा छ ।
हराएकी प्रेमिका
झुक्किन्छन् आँखाहरु
सम्हालिन्छन् मनहरु
रोकिन्छन् आँसुहरु
बाँधिन्छन हातहरु
तर पनि तस्वीर सजाउँछन् मनहरु ।
पखालिन्छन् स्पर्शहरु
तर भाँचिदैनन् मनहरु
रोकिंदैनन् सपनाहरु
बिर्सिदैंनन् यादहरु
टाढिन्छन् तनहरु
तर, पनि जोडिन्छन् मनसँग मनहरु ।
हिँडेर खिइन्छन् पैतालाहरु
कुर्दा-कुर्दा थाकेका खुट्टाले थामेको छ उसको आत्मा
थाक्दैन भेट्ने प्रतिक्षामा बसेका एक जोर आँखाहरु
अहिले पनि त्यो ताजा याद छ छालालाई
एकान्तमा बाँधिइएको अंगालो
छल गरेर गइ वा झुकायो कसैले
हरेक दिन पर्खिएर बसेको छ
हराएकी प्रेमिका भेटिने आशामा
प्रेमिकाले छोडेको ठाँउमा ।