–बदरीनाथ भट्टराई
मातृभूमिमाथि प्रेम ! के भनेको यो ? के छ यसमा रहस्य ? फेरी प्रेम गर्ने प्रणाली कुन हो ? के देशप्रेमको बारेमा मुख तथा कलम चलाउँदैमा देशप्रेमी कहलाइन्छ ? ‘हाम्रो झण्डा अमर रहोस् ! इन्कलाब जिन्दावाद !’ भनेर चिच्च्याउँदैमा अथवा देशप्रेमको दर्शन पत्रपत्रपत्रिकामा छपाउँदैमा देश्प्रेमी बनिने भए के थोयो र ? हो, रचनात्मक कार्य ठोस रुपले गर्दै विचारअको आदान-प्रदान र प्रचारको लक्ष्य गरेर दुनियाँँलाई सचेत तुल्याउन, शासकहरुलाई न्यायको बाटो देखाउन र मुख र कलम चलाउने आवश्यकता पर्दछ तर यही परिधिमा मात्र रल्लिएर देशप्रेम साग्रिँदैन । उ त आकाशजस्तै विशाल छ समुद्रजस्तै अगाध छ । यदि देशप्रेम वृक्षको रुपमा ढालेर कल्पित चित्र खिच्यौं भने अनन्त हाँगाबिँगा देखिन्छन । जसलाई फलेफुलेको गराउन समस्त जनताकाे एकता र उत्साह अत्यावश्यक देखिन्छ।
देशलाई उन्नत तुल्याउन के एउटा व्यक्तिकाे काेसिसले हुने हो र ? राष्ट्रपतिदेखि सिपाहीसम्मले कर्तव्यलमा चल्नु पर्छ, गरीबदेखि कुबेरसम्मको कोसिस गर्नुपर्छ । मुर्खदेखि विद्वानसम्मले सहयोग दिनुपर्छ, केटाकेटी बुढाबुढीसम्मले निरन्तर लागि रहनुपर्छ, सिपाहीले गरेको भन्दा सयखण्ड बढ्ता परिश्रम राष्ट्रपतिले गर्नुपर्छ । गरिबले एक थोपा पसिना बहाएको ठाउँमा धनीले एक पाथी धन छर्किनु पर्छ । मुढे बलले दश दिनमा हुने कामलाई बुद्धिले र युक्तिले एकै दिनमा गर्दिनु पर्छ । काधमा काँध मिलाएर सारा नेपालीले मिहिनेत नगरी नेपाल उन्नत हुन्छ भन्नु कल्पना हो, अझ सपना हो ।
पशुपन्छीतिर दृष्टि दियौँ भने पनि देशप्रेम प्राकृतिक हो भनेर हामी प्रमाण दिन सक्छौँ । फेरि पाँचै द्वीपमा वीर नेपाली भन्ने प्रसिद्दि हामीले पाइ सकेका छौँ । हामीमा सुरता छ, शाहस छ, बुद्धि छ, बल छ, आत्मविश्वास छ । अब विदेशीले अथवा स्वदेशीले नै पनि देशको स्वतन्त्रतामा धक्का दिन थाल्यो भने के चुप लागेर बस्नु ठीक होला ? अन्यायदेखि देखिकन पनि थर थरी कामेर निमुखा बन्नु उचित होला ? तर हुन लागेको रचन्नात्मक काममा बाधा पार्नु अथवा काम अर्को गरोस् माम भन्छु पनि त ठीक होइन । अर्कोले खुवाइदिएकोमा भन्दा आफ्नै हातले खाएकोमा बढ्ता स्वाद हुन्छ भन्ने कुरा के हामीले अनुभव गरेका छैनौ र ? वेदका ऋचाहरु तथा ‘अपि स्वर्णमयी लंका न मे लक्ष्मण राेचत्ते ।’ जननि जन्मभूमि स्वर्गादपि गरियसी,’ भन्ने उक्तिहरुदेखि लिएर “भाग्यको लहरमा लहरीलहरी, पुगेँ यस मरुस्थलमा कसरी ?, तर खेद छैन तिम्रै आकृति, लेखिएको छ मेरो हृदय भरी, मेरो ओखलढुङ्गा । ” इत्यादि कवि सिद्दिचरणको कविताहरु सम्ममा देश्प्रेम किशिम किसिमका भावना हामी पाउछौँ । त्यसैले प्रभावित भएर देशको स्वतन्त्रताकाे लागि कतिले आफ्नो नाउँ इतिहासको सुनौला पृष्ठमा लेखेका पनि छन् । तर ती अमर वीरहरुलाई भन्दा पनि देशप्रेमको प्रगति बढाएर रचनात्मक काममा तन, मन, धन दिनेलाई धन्यवाद दिनुपर्छ । नेपाल स्वतन्त्र छ भनेर फोस्रो धाक लगाउनु भन्दा परतन्त्रता हटाउने कोशीसतिर लाग्नु देश प्रेम हो ।
खै, नेपाल के कुरामा स्वतन्त्र छ र ? विदेशले बाटो रोकिदियो भने भोलि नै नेपालले नाङ्गो तथा उजाड हुनुपर्छ । जाबो सियो र धागो सम्ममा पनि अर्काको मुख ताक्नु पर्छ भने नेपाल स्वतन्त्र छ भनेर कसरी भन्ने ? अब त कामले स्वतत्रन्त पार्नु हाम्रो आवश्यक कर्तव्य भैरहेको छ । बरू आफुलाई बढता भएको चिज विदेशलाई दिएर स्वदेशको कोष बढाउनु परेको छ । निकासी पैठारीमा ध्यान नदिइ महङ्गीको उग्र ज्वालामा जनतालाई जलाउनु के देशप्रेम हो ?
अब पनि हात बाँधेर बसिरह्यौँ भने भविष्यले हामीलाई के भन्ला ?
देशप्रेम गर्नुपर्छ भनी मुखले सबै भन्छन्, तर कामले कति जना गर्छन् भनेर चारैतिर आँखा लगाउनु के मुनासिब होइन ? अनि म चाहिँ कुन खालको हुँ भनेर आफ्नो हृदयतिर पनि त हेर्नुपर्ला । छर्लङ्ग पारेर भन्ने हो भने देशप्रेम कामले देखाउँछ, मुखले होइन, परिणामले स्पष्ट पार्छ उठानले होइन, क्रियात्मक प्रगतिले दर्शाउँछ, आडम्बरले होइन, पवित्र भावनाले झल्काउँछ, मिथ्य प्रचारले होइन ।
सबैको हृदयमा देशप्रेमको बीउ रहिरहेको हुन्छ । जलमल हालेर त्यसको अंकुर उमार्नु हाँगाबिँगा बढाउनु, अर्थात् सक्रिय रुपमा परिणत गराउनु मनुष्य मात्रको कर्तव्य हो । त्यसको निमित्त कसकसले कस्तो–कस्तो रुपबाट देशभक्ति दर्शाएका छन् भनी सिंहावलोकन गरेर मनन गर्नु पहिलो सिँढी हो । स्वदेशको उन्नतिका निम्ति तन, मन, धन दिनु दोस्रो हो । आक्रमण र परतन्त्रबाट बचाएर स्वावलम्बनको आडमा स्वदेशलाई खडा गराइ स्वतन्त्रताको सदुपयोग गराउनु तेस्रो हो । यसैगरी सयकडा सय नै शिक्षित पार्नु, औद्योगिक व्यवसाय बढाएर बेकारी हटाउनु, भोका र नांगाको जटिल समस्या हटाएर आर्थिक समानतालाई यथार्थ रुप दिलाउनु इत्यादि सिँढीहरु प्रशस्त छन् ।
देशप्रेमको आधारमा जाल बिछाएर कति व्यक्तिहरु आफ्नो स्वार्थसिद्ध गर्न खोज्छन् । गाग्रो फोेरेर भए पनि नाउँ कमाउनुमात्र उनीहरुको लक्ष्य हुन्छ । शासक वर्गको रागमा लटपटिएर कुनै मिथ्या प्रचार गर्ने हुन्छन् । फेरि कुनै चाहिँ द्वेषले उर्लिएर उनीहरुको जुम्रा खोज्दै कुर्लने हुन्छन् । तर ती दुबै थरीको रचनात्मक काम धेरै टाढा रहन्छ, वास्तवमा स्वार्थ त्याग नगरी देशप्रेमको प्रवाह बहने हो र ? तटस्थ भएर न्यायको तराजु अगाडि राखी कसमा कति देशप्रेम छ भनी हामीले त जोख्नुपर्छ । फाँसीवाद र नाजीवादको जस्तो छिमेकीहरुलाई सताउने ध्वंसात्मक देशप्रेम हामीलाई चाहिएको छैन, न त निर्धा दाजुभाइहरुको रगत सोसेर आफ्नो मतलब सिद्ध गर्ने भ्रमात्मक देशप्रेम हामीलाई चाहिएको छ । आतंक र अशान्ति मच्चाएर दुनियाँलाई थरथरी पार्नु के देशप्रेम हो र ? हो कुनै बेला शान्तिका लागि पनि क्रान्ति जरुरै चाहिन्छ तर त्यसको पनि त साँध छ फेरि सत्य र न्यायको अनुसरण गर्ने पनि त हुनुपर्छ ।
प्रकृतिले नेपाललाई सर्वस्व सुम्पिएको छ । गंगाका पिता हिमालयको सबभन्दा उच्च शिखर यहीं छ, सुनौला खानी यहीं छन्, सञ्जीवनी बुटी यहीं पाइन्छन् अर्थात् यो चिजको कमी छ भनेर ठेस लगाउन पाइंदैन । अब बाँकी रह्यो नेपालीको उचित परिश्रम र विज्ञानको सहायता आर्थिक परिस्थितितिर पनि हामीले ध्यान दिनैपर्छ । त्यसो भए अमेरिकामा जस्तै यहाँ पनि सुनको खोला बग्ला, अनि यो देशको चहक देखेर विदेशीहरु पनि जिब्रो काट्नेछन् । आपसमा झगडा गर्न लाग्यौँ भने त उल्टो थपडी बजाउने छन् ।
कति सहरियाहरुले चार भन्ज्याङभित्रलाई मात्र नेपाल सम्झिएका छन्, नेपालको परिधिभित्र कति जिल्ला छन्, कस्तो–कस्तो परिस्थिति छ, कहाँ कुन–कुन चिजको उत्पत्ति हुन्छ, कहाँ कुन किसिमको सुधारको आवश्यक छ इत्यादि कुरा उनीहरुलाई पत्तै हुँदैन । मेचीदेखि महाकालीसम्मको नै सुधार नगरी के नेपाल सुध्रला र, उत्तर र दक्षिणतिर पनि उत्तिकै ध्यान दिनुपर्छ । तराई सपार्न सकेनौँ भने हाम्रो कुन गति होला ? छातीमा तासकै भोटो लगायौँ भने पनि सुरुवाल र टोपी भाङ्ग्राको भिर्याँै भने के सुहाउला ? देशको प्रत्येक अंग नसजाएसम्म कसरी नाक ठाडो पार्ने ?
देश एउटा विराट हो । उसका आँखा हजारौँ छन्, ती पनि ज्यादा सुक्ष्म र विशाल, उसै हुँदा हाम्रा मन पनि उसले देख्छ अनि आडम्बर गरेर छकाउन सकिएला र ?
२००८ सालको गाइजात्रामा समेत देशप्रेमका नक्कली लहरहरु देशले देख्यो । कुनै गाइजात्राले तीनतारे झण्डा लिएको छ त कसैले चारतारे, अनि कसैले पाँचतारे पनि । फेरि कसैले महिला संघको नक्कल गरे त कसैले युवा संघको, तर यस्तो नक्कलले मात्र देश चहकिलो हुने होइन । फेरि राग तथा द्वेषबाट उठेको सक्कली दिलबन्दी भएपनि कलह सिवाय के हुन जाला र ? मुख्यतः प्रत्येक नेपालीको मन मानवताको मुहान बनाउनु पर्छ अनि पो संघको उद्धेश्य र कार्य एकैनासको होला, नक्कली देशप्रेमले मानव दानव नबनोस् भन्नका लागि हामीले सकेसम्म कोसिस गर्नुपर्दछ, यदि त्यसमा सफल हुन सक्यौँ भने सपना विपना हुन्छ पृथ्वी स्वर्ग हुन्छ । आफ्नो देशको अनुहार हेरी सुहाउँदो उपचार गरेमा सफल नहुने भइंदैन ।
यस शासनका सुत्रधार हो, ए प्रमाणपत्रका पात्र हो । ए पैसाका पिशाच हो ? ए पुराना गुप्तचर हो, ए भँडुवा हो, ए नयाँ दलका दलाल हो, ए कालका बजारका बजाज्यू हो, ए स्वार्थका खानी हो, भँडुवाका अन्धभक्त हो देशप्रेमको मुकुण्डो लगाएर दुनियाँलाई नछकाउनुहोस् भनी तंपाईहरु सबैसँग म प्रार्थना गर्छु । भर्खरै बलेको निध्याउरो बत्तीलाई निभाउन नखोज्नोस् बल्ल तल्ल फुल्न लागेको बिरुवालाई उखेल्ने कुचेष्टा नगर्नुहोस् । एउटै दलको कुसाहस र कुकृतिले गर्दा १ करोडको शिरमा कीरा नपार्नुहोस् । हेर्नोस् देशप्रेमीले त जुलाहाले जस्तै छुट्टिएका तन्तुलाई एकै ठाउँमा जोड्नुपर्छ, मालीलेजस्तै छरिएर फूललाई एउटै सूत्रमा उन्नुपर्छ, फेरि माउरीलेजस्तै ठाउँठाउँमा फुलेको फूलको रस ल्याएर स्वदेशमा घार तयार गर्नुपर्छ ।
बहादुरी सिंहासन राखेर कोशी र गण्डकीका जलले स्नान गराउँदै दिव्य वस्त्रले सिंगारी कलाको माला पहिरायौँ भने देशको आधी पूजा हुन्छ, अनि विज्ञानको सुगन्धित धूप सल्काएर निरन्तर बिजुली बत्ती बाली असल–असल नैवेद्य चढायौँ भने भक्ति ठहरिनेछ । सद्भावनालाई त कुनै हालतमा छोड्नु हुँदैन, नत्र अलिनो दाल खाएजस्तो हुन्छ । भित्री श्राद्ध नभइ लाजगालका डरले बनावटी देशप्रेम देखाउनु कमजोरी हो । अरुमाथि पुग्न आटे भन्दैमा हडबडाएर उफ्रन खोज्दा पनि तीन बल्ड्याङ खाइने सम्भव हुन्छ । उसैले शक्तिअनुसार छिटो–छिटो पाइला चलाउनु उत्तम हो ।
वास्तवमा देश भनेर देशवासीको समष्टिमा हामीले लक्षण गर्नुपर्दछ । देशवासीको प्रगति हो, देश काश्मीरजस्तै भू–स्वर्ग भए तापनि देशवासी बदमास भए भने के त्यो देशको उन्नति हुन सक्ला ? बरु मरुभूमि भए पनि देशवासी साँच्चिका उद्योगी भए भने चाँडै नै फलेफुलेको तुल्याउन सक्दछन् । हाम्रो देशचाहिँ त पहाडै–पहाडले नाङ्गा पहाडहरु त्यसै तेर्सिरहेका छन् कति खानीहरु दबेका दब्यै छन्, कति खोलानालाहरु बेकम्मा भयौँ भनी कराइरहेछन्, कति पर्ती जग्गाहरु त्यसै पडिरहेका छन् । उद्योगका करोडौँ साधनहरु सडिरहेछन् । त्यसका निमित्त हामीले खै दृष्टि पुर्याएको ? उसैले सबैसँग गुहार माग्छु । आउनुहोस् काँधमा काँध मिलाएर देशलाई उठाऔँ र स्विटजरल्याण्डको बाजे बनाऔँ ।