एजेन्सी । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिएको छ । आउनुहोस् जानौँ, कुन देशमा के भइरहेको छ ।
१.विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सिक्लोरोक्विनको ट्रायलमा रोक लगाएको छ । मलेरियाको औषधिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोक्नको लागि परिवर्तनकारी हुन सक्ने बताएका थिए । डब्ल्यूएचओले यसको कुनै फाइदा नभएको भनी परीक्षण रोकिदिएको छ । दुई दिन पहिला अमेरिकाले पनि यसको प्रयोग रोक्ने भनी फैसला गरेको थियो ।
२. ब्राजिलमा बुधबार कोरोना भाइरसबाट १२६९ जनाको ज्यान गएको छ । यसको साथै ब्राजिलमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या ४६,५१० पुगेको छ । कोरोना भाइरसबाट अमेरिकापछि मर्नेको संख्या ब्राजिलमा अत्याधिक रहेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३२,८८ संक्रमित भएका छन् । हालसम्म ब्राजिलमा ९ लाख ५५ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । संक्रमितको हिसाबले पनि ब्राजिल दोस्रो स्थानमा रहेको छ ।
३.विश्वभर कोरोना भाइरसबाट मर्नेहरुको संख्या करिब ५ लाख पुगेको छ । ८३ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।
४. अमेरिकाका एक स्वास्थ्य विशेषज्ञले अमेरिका अझै पनि कोरोना भाइरसको पहिलो चरणमै रहेको र दोस्रो चरण आउन बाँकी रहेको बताएका छन् । लकडाउनमा लगातार खुकुलो गर्दा अमेरिकाका राज्यमा संक्रमणको संख्या बढिरहेको छ ।
५. कोरोना भाइरसको दोस्रो चरणलाई देख्दै जर्मनीले आगामी चार महिनासम्म ठुला समारोहमा प्रतिबन्ध लगाउने कुरामा सहमत भएको छ । चान्सलर एंगेला मर्केलले सबै १६ राज्यका प्रमुखसँग बैठक बसेकी थिइन् । सोही बैठकमा अक्टोबरको अन्त्यसम्म समारोहमा प्रतिबन्ध गर्ने निर्णय पारित भएको थियो ।
६.चीनको राजधानी बेइजिङमा कोरोना भाइरसका संक्रमित भेटिने क्रम जारी रहेको छ । बुधबार बेइजिङमा ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
७. बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३ लाख कटेको छ । हालसम्म बेलायतमा ४२ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
८.भारतमा बितेको २४ घण्टामा कोरोना भाइरसबाट १२,८८१ जना संक्रमित भएका छन् भने ३३४ जनाले ज्यान गुमाएका छन् । यसका साथै भारतमा संक्रमित हुनेहरुको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ भने १२,२३७ जनाले ज्यान गुमाएका छन् ।
९.साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ लाख ४१ हजार २३४ पुगेको छ ।
१०.पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ लाख ५४ हजारभन्दा माथि पुगेको छ भने २,९७५ जनाले ज्यान गुमाएका छन् ।