–अर्जुन रिजाल
प्रतिज्ञा
यो जगत भगवानहरुको हो
भुतकालमा
कैयौँ लडाइँहरु भए
अनगिन्ती राक्षसहरु मारिए
केवल यहीं सुन्दर जगतका लागि ।
वर्तमानमा,
पातालको सर्वश्रेष्ठ प्राणी मानव
निरीह भइ सूक्ष्म जीवाणुसँग लड्दै छ
कहीं कतै भगवान् पनि लड्दै होलान्
अन्यथा भगवानको रुपमा
जीवाणु लड्दै छ हामीसँग
आखिर हामी मनुवा
यो जगतको लागि राक्षसभन्दा तल कहाँ रह्यौ र ?
भविष्यमा जसो होला
कुनै दिन यो जीवाणु पनि परास्त होला
तब कृपा गरीं त्यहीं खुशीमा
विजयको अर्को चाड नरचियोस्
अर्को भगवान नथपियोस्
अर्को धर्म नफैलियोस् ।
हाललाई मेरो प्रार्थना
उपलब्ध भगवानसँगै छ
यो लडाइँमा हामीलाई मौका देउ
यो जगतलाई जगत नै छोड्ने छौँ
कृपा सुनिदेउ यो प्रतिज्ञा जगतको ।
बनमाराकाे फूल
पुरुष हेर स्वार्थी छ
तिम्रो प्रशंसा गर्न
तिम्रो गालाको रङ हेरेर
लालीगुराँसलाई राम्रो भनिदियो ।
तर, तिमीले त याद गरेकी छौ पक्कै
बनमाराको पनि फूल हुन्छ
कसैले कानमा सिउरेर तस्वीर नखिचाए पनि
उसलाई हेरी कुनै गीत नरचिए पनि
देखेर उसलाई काेही नटोलाए पनि
मनुवा छाडेर परजीवीलाई आकर्षित गर्छ ।
परागसेचनमा भाग लिन लगाएर हेर
आफै संसार फैलिन्छ
मनुवा रुष्ट छ कथित बनमाराको फूलसँग
हेर न नाम नै बनमारा राखिदियो
सेतो फुल्ने बनमाराको त्यो फूल
तिम्रो शरीरको कुनै अङ्गसँग मेल खाएन क्यार
सेता दाँतका लहर भन्नलाई हिमाल भेट्टाएँ
ओठको वर्णन गर्न पिपल पात समाएँ
अन्त्यमा बनमारालाइ हत्यारा नै ठहराएँ ।
मेरी आमा बनमारालाई चिन्नुहुन्छ, मान्नुहुन्छ
बाल्यकालमा चकचक गर्दै गर्दा हात छिल्दा
बनमाराको पात थिचेर लगाउ निको हुन्छ
त कहिले कमिलाले खाएर काउलीको बिरुवा खस्रक्क पर्दा
जरामा बनमारा लेर राखिदेउ त ।
जब तिमीलाई देखेँ, बनमाराकाे साथ छाडेँ
लालीगुराँसको प्रशंसामा जुटेँ
लालीगुराँसको के तिम्रो प्रशंसामा लागेँ
म पनि हेर मानिस नै हुँ
स्वार्थी बनिदिएर परिचय छर्लङ्ग पारेँ ।
तर,
म अझै नि भन्छु
आजै यसकाे नाम परिवर्तन गरिदेउ
कुनै नाम छ भने भनिदेउ
लाल छाप लगाएर नेपाली कागजमा लेखिदेउ ।