Logo

बाेलीकाे बगैँचा



Spread the love

–युवराज नयाँघरे

बगैँचा नडुलेको धेरै भएकोले लेखक अरु सबैलाई लिएर बादलमुनिको बगैँचा डुल्न निस्कन्छन् । उनी प्रकृतिमा देख्छन :

“ हिऊँद ओर्लन्छ अनि बर्खा । जाडो झर्छ अनि ताप । शिशिर खस्छ अनि गर्मी। त्यस्तै अरुहरु कत्ति–कत्ति । आरुको फूल , गोदवरीको महक, भैचम्पाको पराग देख्छु बगैँचामा टम्मटम्म ।

फूलबारी, कोठेबारी र तोरीबारीमा बिच्छिएको बोली | हार मान्नुपर्यो तिनले, जित्नेहरु भेटौँला- बेसुरे, रद्दी र धुर्त ओठलाई तंपाई-हामी ।

बगैँचासँगै मौसमको खेल ।

फेरि झरी । फेरि असिना । फेरि बिजुली र फेरि चट्याङ । फेरि …,फेरि… । छोरो र कसिंगर बगैँचाका पात र परागमा बस्छन् । जुरेली र कर्याङकुरुङ अनादिकालको क्रम जोड्छन् । पातबाट रिसाएर गएको बतास गएको गएकै गर्दैन नि । यो प्रकृति बोली । र , यो बोलीमा कुनै अपराध छैन, न छ पाप वा कुकृत्यको पुनरावृति । छैन निरन्तर आक्रमण ।

कलिलो घामले

पोतिएको

ए रुख !

तिमी हामीलाई

देखाउन सक्छौँ

कस्तो हुन्छ –

प्रकृतिपीडा !! ”

प्रकृतिसँगै मानवजीवनलाई एकाकार एवंम् सादृश्य तुल्याउँदै निबन्धकार भावुक बन्छन् । प्रकृतिका डडेलोले आतंक फैलाउँछ । यो प्रकृतिपीडाको अनुभूति रुखले गरेकै हुन्छ । बादलमुनिको उक्त प्राकृतिक बगैँचाभित्र निबन्धकारले मानवजीवन पनि देख्छन् । मानव–प्रकृतिबीच स्वासको सापट अनादिकालदेखि चल्दै आएको छ । यो अजम्बरी छ ।

अहिले मानवको यस बोलीको बगैँचामा रुखा, कर्कश, एवंम् आडम्बर बोलेर व्यवहारहरु बढेका छन् । मानव यति बेला के गरौँ भन्ने दुविधामा छन् । यस्ता फरक बगैँचामा बोलीलाई निबन्धकार बेग्लै अर्थसँग फुलेका अभिव्यक्तिहरु अगाडि सार्दछन् । टेलिभिजनमा गरिब देशका धनीहरु ढाँट कुरा गर्छन् । यस्तो टिप्पणी गर्ने दलाल यज्ञनिधि को बोलि उद्धृत गर्दै अहिले नायकको अभियानमा जुटेका नेताहरुको हुर्कदों मौसमी खेतीलाई यसरी सुनाउछन्:

“दाहाल यज्ञनिधि दाइले भन्नुभएको छ कतै- “टेलिभिजन खोलेपछि गरिब देशका धनीहरु देखिन्छन् । र, तिनका ओठबाट ढाँट कुराको फलाको सुन्न पाइन्छ, सुललित तालमा ।”

फूल बर्षमाथि कांडाको अंकुश, यै हो ।

प्रजातन्त्रको उपलब्धि यहीं भो भने पनि हुन्छ । नेता नायक भएर व्यस्त छन् अभिनयमा .। हामीहरु साँझ बिहान प्रजातांत्रिक प्रभ्याशको बिमुग्धिंदै तालीका शालिक बनाइरहेछौँ … बनाइरहेछौँ । र, बोलीको बगैँचाका बीउ बिजन उमार्न, हुर्काउन तन्मयताकासाथ जुटिरहेछौँ… जुटिरहेछौँ ।”

बागबजारमा एक घनिष्ट मित्रसँग निबन्धकारको भलाकुसारी हुन्छ । ती साथी आफूलाई बेफुर्सदी गरिखाने मान्छे ठान्छन् । यस्तै केहीहरु चिनीमा झुम्मिएका घिउकमिला जस्ता हुन्छन् । यहाँ क्रान्ति अघि र क्रान्तिपछिका यस्ता गरिखाने र लुटिखाने धेरै भेटिन्छन् । यसरी दु:ख, व्यथा, अभाव, निराश आदिले सताइरहेको वर्गसँग समृद्धि र हर्षले उग्राएको लुटाहा वर्गलाई निबन्धकार यसरी तुलना गर्छन्:

“जो घाँटीको किलकिलेसम्म खाइरहेछ दु:ख, जो काँधमा बोकेर हिँडिरहेछ व्यथा, जो कुदिरहेछ अभावको आगोमा, जो घुँडा टेकाईरहेछ निराशाका दलदल भासमा त्यो लुटिखाने मान्छे । अनि जो भुँडी भरी उग्राईरहेछ सुख, जो आँखाभरी फुलाइरहेछ हर्ष, जो नाडीभरी दगुराईरहेछ समृद्धि- त्यो गरिखाने मान्छे ।

बोलीको बगैचामा यो कस्तो फूल ।”

तीन बर्षमै सबैभन्दा बढी जाडो भएको त्यो रात निबन्धकार घर जानका लागि गाडी चढ्न सहिद गेट लम्कदै छन् । राष्ट्रिय सभागृहकाे छेउमै भर्खर सहर पसेका एक हुलसँग उनको जम्काभेट हुन्छ । भीडबाटै भृकुटीमण्डपका कार्यालयहरु, बत्ती बलेका तलाहरु र भात बासी राखे पनि काम बासी नराख्ने कर्मचारीहरुको टिप्पणी सुनिन्छ । यस्तो बोलीको बिरुवा रोपिएको सन्दर्भमा ती दयनीय जनताको विश्वास र भरोशालाई नेतृत्वले केही गरिदिन नसकेको टिप्पणी निबन्धकारले यसरी गर्छनः

“तर देशले खोजेको यो विश्वास र भरोसा के राजधानी ले दिएको छ त ? ती चोखा हृदयका फूललाई काठमाण्डौं कति बर्साउँछ- असिना, तुसारो, र चट्याङ !!! म बोलीको बगैँचामा फक्रेका फूल सम्झिएर त्यसरी नै चिसिएँ, जति चिसोबारे टेलिभिजनले भनेथ्यो ।

झन्डा सिउनेलाई

नसोध

झन्डामा चन्द्र र सूर्य किन छ ?

तिमी-

सुर्य भएर बचाउ देश

चन्द्र भएर बचाऊ देश ।”

आज मान्छेको व्यक्तित्व बोलीमै सीमित छ । जनतालाई शोषण गर्न वा ठुङ्न बानी परेकाहरु कहिलै उपवास नबस्ने टिप्पणी यहाँ गरिएकाे छ । यस्ता वर्गहरु बोलेरै पिठो बिकाइरहेछन् । यिनलाई बोलीको बगैँचाका नपुंसकहरु मान्न सकिन्छ । यस्तालाई युगले सम्मानपूर्ण व्यवहार गरेकोमा निबन्धकार आक्रोश पोख्छन् । रुखका बोली पवित्र हुने आमाको टिप्पणीमा उनी मानक चिन्तनको अनुभूति गर्छन । ठूलाको आदर्श वचन सुनिए पनि सद्भाव नपाइएको वर्तमान सन्दर्भप्रति व्यंग गर्दै निबन्धमा भनिएको छ:

“आमा भन्नुहुन्थ्यो- “ पवित्र हुन्छन रुखका बोली ।”

म आमाका सुस्केरामा मानक चिन्तन अनुभूत गरिरहेछु । शब्दको मरण अर्थात असफलताको भुकभुके बिहानमा हामीले किन आमाहरुलाई थुनिरहेछौँ- क्रुताको पिन्जरामा ।

“ठुलाहरुको मन पनि ठुलै र महानै हुन्छ नि ।” पढियो मात्रै । अब त्यो सद्भाव पाईएन, देखिएन छेउकुना कतै । उहीं वचनवाणको परिकार पाकेको छ र सजाइएकाे छ भतेर । र, थिलथिलएर शरीरमा सोला छ, ज्वाला छ र गला- गलामा रोदन छ एक्लो ।”

‘थुतुनो र मुतुनो जोगाउनु’ भन्ने बुबाको बाल्यकालको आदेशलाई सानोमा लेखकले सिन्दुरेले सताउने र नागराज रिसाउँदा ‘तुरी’ सुनिने अन्धविश्वाससँग जोडेका हुन्छन् तर पछि युवाअवस्थाको चन्चलतालाई टिप्पणी गरिएको रहेछ भन्ने रहस्य बुझ्छन् । यस्ता मान्यतालाई युग हैन मान्छे उच्छृङ्खल हुनाले गरिएको तर्क स्वीकार्दै निबन्धकार भन्छन्:

“थुतुनो र मुतुनो जोगाउनु” बाले भन्नुभो’ सानामा । नुहाउँदा सुलुल्ल सुरुवालमै तुर्काइन्थ्यो. र, सिन्दुरेले सताउँथ्यो । नागराजा रिसाए भने ‘तुरी’ सुनिन्छ । सानामा साथीभाईबीच बहस चल्थ्यो र निस्कन्थ्याे निष्कर्ष । तर बाले ‘मुतुनो’ भन्नुभएको अर्थ त बैंसको चुचुरो उक्लंदा पो सम्झन पुगियो झल्यास्स । बा बोलीको बगैँचामा फुलिरहनुभा’छ ढकमक्क ।

युग थेत्तरो कि मान्छे ? मन छैन सोध्ने । तथापि रोकिई-रोकिई थेत्तरो हुने क्रम यथावत् छ । अनि त सोध्ने आँटको लिङ्गे पिङ मच्चियो मनमा ।

‘ थुतुनो र मुतुनो’ यस कारण बल्झियो मनमा- देशले फलिफाप त्यसैमा पाइरा’ छ । घोडा चढ्नेहरु पर्खाल चढ्दा होओइनन् । तर अभ्यासका निम्ति पर्खाल पनि चढ्दा हुन् नि । झरिझुट्ट गहना लाउने सुन्दरीलाई अझै एक थोकको लोभ हुन्छ रे । त्यो लोभ अर्थात् त्यो एक थोक के हो ? जे पनि हुन् सक्छ । म परिन त्यो टन्काइमा । ”

आजको युगमा बोली नै देश, संस्कृति, सम्प्रदाय, शक्ति, उपासना आदि सबै बनेको छ । पढेको आदर्श यथार्थमा रुपान्तिरित हुन सकेको छैन । बोली नजानिँदो पाराले बेग्लिएका छन् । यस्तो खुल्ला निर्यात् गर्न सकिने बोलीप्रति टिप्पणी गर्दै निबन्धकार भन्छन्ः

“अचेल बोली नै देश, संस्कृति, सम्प्रदाय, शक्ति वा उपासना । किन विद्यालय वा विश्वविद्यालयका बार्दली भरिभराउ छन्, हँ । वर्णमालाका बोली नै बेग्लिंदा छन् । विपरीत हुँदा छन् अक्षरका अर्थ र ज्ञानका नदीबाट पवित्र तरङ्ग ! प्रगति त्यस कुरामा भयो– बोली । अब बोलीको कुनै छेकाभाँजा बिना निर्यात गर्न सकिन्छ ।

अन्नपात या फसल– बोली र खमार वा भकारीमा– बोली । ब्याङ्क वा योजनामा– बोली । वाणिज्य वा उद्योग– बोली ।”

देशमा प्रजातन्त्र आएको छ । यो सबैका लागि मग्मगाउँदो फूल हो । यसलाई मन पराउँदै बर्सेनी करोडौँ रुपियाँ विदेशिएको छ । यस्तो रकम स्वदेशकै उन्नतिमा लगाउनु राम्रो हुन्थ्यो भन्दै निबन्धमा यसरी वर्णन गरिएको छः

“प्रजातन्त्रमा मालाहरु, फूलहरु बिक्छन् । गोष्ठी, जयन्ती, दिवस र सत्कार त भइरहन्छन् । अब बोलीको बगैँचामा फुलेका मगमगाउँदा फूलले माला बनाउने प्रयत्न नगर्ने किन ? जसबाट बर्सेनी विदेसिने करोडौँ रुपियाँलाई आफ्नै देशभित्र खपत र गतिशील बनाउन सकिन्छ । अथवा बाघमुखे थैलीमा थुन्न सकिन्छ ।

नेताहरु डाक बढाबढ गरिरहेछन्– निर्लज्जता बरु बेहोरौँ परन्तु तोलाको बोली खोलामा नहालौँ । प्रजातन्त्रमा सास फेर्दै छु । यहीं पुनीत वायुले सिकाएको ज्ञान हो, मलाइ यो ।”

बादलमुनिको बगैँचामा हिजो आज देश हाँक्ने नेताहरुको बोलीहरु फुलिरहेका छन् । यिनका ती बोली नस्ल सुधारिएका अत्याधुनिक फलफूल बन्न आतुर छन् । यस्तै बोलीमा फूलहरु चढाएर नेतागण सहिदको सम्मान गर्नेजस्ता छन् । व्यवहार पटक्कै सुध्रिएको छैन । बोलीका यिनै फूलका किसिममा नयाँपन थपियोस् भन्ने व्यङ्गोक्ति यसरी व्यक्त गर्दै निबन्ध टुङ्गिएको छः

“बादलमुनि बगैँचा ।
टुँडिखेल, बादलुमुनिको बगैँचा ।
देश हाँक्नेहरु नस्ल सुधार गरिएका अत्याधुनिक फलफूल हुन उद्यत छन् हिजोआज । अब बोलीका फूलहरु हेरौँ मनमाफिक । त्यो बगैँचाबाट फूल गुच्छा टिपौँ र नजिकै बोली बिर्सिएर बसेका सहिदगेटका सालिकलाई चढाउँ ।

फूलका प्रकारमा नयाँ किसिम र नाम थपियोस्– नेपाली बकबक ।”

प्रतिक्रिया दिनुहोस्