Logo

साहित्यको बदलिएको आकाशमुनि बसेर म हृदयचन्द्रसिंह प्रधानलाई सम्झिरहेछु – राजु झल्लुप्रसाद



Spread the love

राजु झल्लुप्रसाद साहित्यलाई माया गर्ने एक सचेत पाठक हुन् । उनले कविता, लेख रचनाहरु पनि लेख्छन् । यो साताको सल्लेरी वार्तामा हामीले उनै राजुसँग पुस्तक–चलचित्रको वार्ता गरेका छौँ ।

१.सर्वप्रथम पढेको किताब ?

स्वभवत : पाठ्यक्रम नै   हुने भए  । त्यसपछि मैले  पितृसूक्त पाठ गरेको, सुनेको एवं केही पृष्ठ पढेको हुनुपर्छ । स्वस्थानी, रामायण र हितोपदेश (नारायण पण्डित) पढेको अहिले सम्झना भयो । मेरो देश र मेरो सेरोफेरो यी दुबै किताबहरू मेरो सम्झनामा अटाइरहेका छन् । यसबाहेक पल्पसा क्याफे, सेक्सपियरको रोमियो जुलियट, देवकोटाको मुनामदन/शकुन्तला,  ७/८ कक्षामा पढेका किताबहरूको नाम हुन् ।

२.सबैभन्दा बढी मन पढेको किताब ?

सबैभन्दा बढी मन परेकाे किताब स्वस्थानी हो । त्यसपछि भैरव अर्यालका निबन्धहरू पर्छन् ।  शंकर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’  मैले सबैभन्दा धेरैपटक किनेको र पढेको किताब हो । इश्वरवल्लभको ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’, गोपाल प्रसाद रिमालको ‘आमाको सपना’, मोहन कोइरालाको ‘हिमचुली रक्तिम छ’, श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ – कविता संग्रह,  गुरुप्रसाद मैनालीको ‘नासो’, विजय मल्लको ‘एक बाटो अनेक मोड’-कथा संग्रह,  एन्टन चेखभ र ओ. हेनरीको ‘छोटा कथाहरू’, कलेक्टेड वकर्स अफ खलिल जिब्रान,  गोविन्द गोठालेका केही कथाहरू र पल्लो घरको झ्याल (उपन्यास), लैनसिंह वाङ्देलको ‘लंगडाको साथी (उपन्यास)’, भूपि शेरचनका कविता (कवितासङ्ग्रह), मास्टरसाबको मेरी निलिमा (उपन्यास),..यिनै हुन् ! यी किताबहरू निकै पटक पढे पनि पढ्न सिफारिस पनि गरिरहेको हुँ, गरिरहेको छु ।

यस्तो लाग्यो की मैले  निकै कम पुस्तकहरू फेरि-फेरि पढेको रहेछु । मैले माथि उल्लेखित लेखकका अन्य कतिपय किताबहरू पढ्दापढ्दै यसै थन्काएको पनि छु । यसबाहेक अन्य सीमित  लेखक होलान्, जसलाई मैले पढेँ तर तीनका किताबहरू दोहाेर्याएर पढ्ने आँट र हिम्मत नै गर्न सकें ।

३. कस्ता खालका किताबहरु रोजाइमा पर्छन् ?

यसमा धेरै कुराको प्रभाव पर्ने रहेछ । संगत, समय, स्थान, उमेर र चेतना ! अहिले म गैर-आख्यानहरू पढिरहेको छु । मिथक र संस्कार/रितिरिवाज जन्य किताबह, पूर्वीय दर्शन र पश्चिमा दर्शनका पुस्तक, इतिहास (नेपाल बाहिरको, प्रयाश: युद्धरू) पढिरहेको छु (डकुमेन्ट्री हुनाले हेरिरहेको छु भन्न सहज भयो) ।

रोजाईमा यो..त्यो भन्ने छैन । अनि यो त्यो प्रकार (खालका) भन्ने पनि छैन । तर एउटा सर्त छ- लेखकको नाम वास्ता नगरिकन पढ्ने ।  लेखकको नाम पढेर किताब किन्ने/पढ्ने बानीका कारण म निकै पटक प्रताडित भएको छु । अब अहिले त्यसो गर्दिंन । ..मेरो रोजाईमा कथा र निबन्ध बढी पर्दछन् ।

४. किताबले समाजको प्रतिनिधित्व गर्नु पर्दछ भन्ने गरिन्छ ? समाजको प्रतिनिधित्व कत्तिको गरेको पाउनु हुन्छ ?

त्यो त गर्नै पर्यो, लेखकको दायित्व नै हो । उसकाे लेखकीय दायित्वबोध हो- समाज !  चाहे उसको लेखनी निजात्मक (व्यक्तिनिष्ठ) होस् या परात्मक (वस्तुनिष्ठ) ।  लेखकले खास स्थिति/परिस्थिति, अवस्था/व्यवस्थाको मूल्यांकन, दिशासूचन र मार्गदर्शन अघि सारी पाठकलाई चेतनशील बनाउनु पर्छ । त्यसो गरेको खण्डमा समाजको एक अंश- किताबमा संग्रहित भइरहन सक्छ ।

कुनै पनि लेखनीमा निजात्मकतता भएको खण्डमा समाजको प्रतिनिधित्व हुन सक्ने भयो । लेखकको आत्मस्पर्शता छ भने त्यसले समाजको प्रतिनिधित्व गरिरहेकै हुन्छ । उदाहरणको रुपमा सोह्र साँझलाई हेर्नुस । सबै जातका फूलबारीलाई हेर्नुस । दाडिमको रुखनेर, अन्तरमनको यात्रा, जुँगा, वैकुण्ठ एक्सप्रेस, मैले देखेको नेपाल, घनचक्कर, सर्पदंश, काठमाडौं फिभर, संस्कृत काव्यकथाकुसुम..आदिलाई लिन सकियो ।

दोस्रो प्रश्नको उत्तर माथिको आएको हुनुपर्छ !

५.नेपाली साहित्यमा कुन–कुन विधाको किताब कमी पाउनु हुन्छ ?

विधाको कमी ? म पूर्णत: जान्दिंन- साहित्यका कुन-कुन विधाहरू अस्तित्वमा छन् । सरोकार राखेको पनि रहेनछु । वर्तमान नेपाली साहित्यमा विधाको कमी नहोला, छ त केवल यसको इतिहास, परिपक्कता र स्व:मूल्यांकनको कमी ।

समकालीन अवस्थालाई नियाल्दा कविता, कथा, उपन्यास, गजलक…सबैको बाक्लो चाङ छ, अग्लो पहाड बनिसकेको छ । यसमा पस्दा  कम्मर सड्किने पीर रह्यो !  गाली खाइने भइयो ।

समकालीन अवस्थामा निबन्ध विधा बिहानीपखको मधुरो जुनझैं अपहेलित बनेको छ । यात्रा-साहित्य साँझको छाया जस्तो धमिलो बनिसकेको छ । कविताको घाम चर्किएको छ । गजलका बादलहरू मडारिरहेको छ । मुक्तकका चट्याङ परिरहेकै छ । कथाको इन्द्रधनुष कहिले कसो देखिने गरेको छ । समकालीन  साहित्य आकाश- यस्तो नहुने पर्ने..यस्तै भइरहेको छ ।

साहित्यको बदलिएको आकाशमुनि बसेर म हृदयचन्द्रसिंह प्रधानलाई सम्झिरहेछु ! उनी भन्छन्, ” साहित्य-जस्तो हामी ठानिरहेका छौँ, त्यतिमात्रै कहाँ हो र ? जुन होइन भन्छौं- त्यो पनि साहित्य रहेछ ! कत्रो विवाद !”

६.सरकारले किताबमा कर लगाएको छ । यस बारेमा तपाईं के भन्नुहुन्छ ?

हो, लगाएको छ । नेपाली बिक्रेताहरु भारतीय मुद्रणमा निर्भर भए, यसले एकातर्फ आयात बढेर ब्यापार घाटा बढायो भने अर्कोतर्फ नेपाली मुद्रण उद्योग धरासायी भए । यहाँनेर नेपाल मुद्रण उद्दोगकै यहीं गुनासोलाई सरकारले सुनेको हो, बस् यत्ति हो !

सरकारको यस कदमको पक्ष/विपक्ष कतै पनि छैन म  । यो त्यो होइन, किताब चाहिँ पढ्नुपर्छ ।जिज्ञासा मेटाउन किताबबाहेक उपयुक्त छनोट अर्को थोक हुन् सक्दैन, सकिरहेको देख्दिंन म ।यसका लागि नेपाली (नेपालमै छापिएका र भारतमा छापिएर नेपाल आएका) र विदेशी (अन्य देशमा छापिएको र अन्य देशदेखि आयत गरी भारतमा पुनमुद्रण गरी नेपाल भित्रिने) दुवै थरि किताब आम मानिसको पहुँचसम्म पुग्नु पर्छ । यो मेरो व्यक्तिगत मान्यता हो ।

अब यसलाई यसरी बुझेको छु मैले चाहिं, नेपाल मुद्रण उद्दोग र नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघ दुबैका आ-आफ्ना एजेन्डाहरू छन् ।

नेपाल मुद्रण उद्दोग सरकारको कदमलाई  स्वागत गरिरहेको छ ! ऊ मानिरहेको छ, सरकारले स्वदेशी उद्योग प्रवर्द्धन गरेर लगानीको सुरक्षा र रोजगारीको प्रत्याभूति गर्नेछ ।  सरकारले  मुद्रण कार्यका लागि आवश्यक मेशिन औजार, उपकरण र प्रविधिको क्षेत्रमा सरकारले सहयोग गर्दै आएको हो, गर्दै जान्छ ।  विदेशी (मुख्यतः भारत) छापाखानामा नेपाली पुस्तक छापेर लुकाएर नेपाल ल्याई बेच्ने चलन हट्नेछ । नेपालको पैसा नेपालमै रहेनछ । उसका कुराहरू सुन्दा ठिक सुनिन्छ ।

अब यहाँनेर विभिन्न प्रश्नहरू उठ्छन् । पेपर क्वालिटी, बाइन्डिङ, प्रकाशनमा लाग्ने खर्च र गुणस्तरका विषयहरूको सम्बन्धमा । मुद्रण मेशिन, मसी र प्लेटदेखि कागजसम्ममा कर लाग्ने भएकाले नेपालमा मुद्रण महँगो हुन पुगेको छ । शैक्षिक सत्र नजिकिंदै गर्दा पुस्तक छपाइ अल्लारेपन देखाइरहने वर्तमान नेपाल मुद्रण व्यवसाय कहिले ठिक हालतमा आउने हो ? यी यस्ता प्रश्नको जवाफ आजको भोलि नै न सरकारले दिन सक्ने अवस्था छ न नेपाल मुद्रण उद्दोग नै । बस्, यिनीहरू हामी गर्छौं, हुन्छ भनिरहेका छन् । यसमा कसरी विश्वास गर्ने ? सरकारका अनेकन थुमथुमाइहरू थाहा छ । बस्..थुमथुमाइहरू मात्रै, यो अर्को थुमथुमाइ पनि हुनसक्छ !

अर्कोतर्फ, नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघ सरकारको विरोधमा छ । ऊ मानिरहेको छैन कि सरकारको भने अनुसार काम गर्छ या त्यस अनुरुपको वातावरण तय गर्छ । ऊ आफूलाई ‘पुस्तकप्रेमी भन्न रुचाउनेहरू’ को आडभरोसा लिएर प्रकाशक र पुस्तक विक्रेताहरूमार्फत आन्दोलन चर्काउन तल्लिन छ । ऊ भनिरहेको छ, स्वदेशी उद्योग बचाउने प्रयासको नाममा ज्ञानमाथि कर लगाईयो । ज्ञानको व्यापार गर्न खोजियो । भ्रष्ट सरकारले सङ्घीयताको बढ्दो प्रशासनिक खर्च धान्न करको दायरा बढाएन, कर छुट प्रदान गरिएको वस्तु (पुस्तक) मा कर थोपर्यो । विदेशी पुस्तक महँगो हुने भएपछि कतिपय पुस्तक सबैले किन्न सक्ने हुँदैनन् अनि अनाधिकृत रूपमा पुनरुत्पादन गर्ने संस्कृतिले बढावा पाउने सम्भावना बढ्छ।”….उसका कुराहरू पनि सुन्दा ठिक सुनिन्छ ।

 ऊ ‘बजारमा पुस्तक छैन, यसको असर पाठकमा परेको छ !’-यस वाक्यलाई ‘ब्रम्ह वाक्य’ बनाइरहेको छ । यो वाक्यको वास्तविकतामाथि पनि प्रश्न उठायौँ । बजारमा पुस्तक किन छैन ?.. किनभने सरकारले उसले विदेशबाट छापेर ल्याएको किताबको मुनाफामा कर लगाउने भनेको छ । अर्कोपाटो माग बढेपछि मूल्य बढ्नु व्यापारिक वरदान हो । यस कुरामा केही हदसम्म (पूर्णत होइन) प्रकाशक र पुस्तक विक्रेताहरू सिद्धहस्त छन् ।

त्रिविले सिफारिस गरेको ८० प्रतिशत पुस्तकको छपाइ नेपालमा नहुने र विदेशबाट आयात गर्नुपर्ने वर्तमान अवस्थामा देश छ । यसमा कर बढ्दा विद्यार्थीहरु मारमा परेको वास्तविकता कटु यथार्थता हो । यस लडाइमा प्रथम प्रहार यहाँनेर भएको छ, र हुँदै गइरहेको छ । सरकारले उचालेको दुई धारे तरबारको मार अचानो (विद्यार्थी) मा परेको छ । यस चोटमा सरकार, मुद्रण उद्दोग र प्रकाशक संघ, कसैलाई कुनै चासो छैन । यो उनीहरूको सरोकारको क्षेत्रभित्र नै अट्दैन । यस्तो देख्छु ।

कर लगाउनुको मुख्यतः उद्देश्य राज्य कोषको अभिवृद्धि, आय तथा सम्पत्तिको समानुपातिक वितरण, सामाजिक दृष्टिले नकारात्मक वस्तुको प्रयोग र उपभेागमा निरुत्साहन र लगानी अभिवृद्धि गर्नु हो । यो कुरा यी तिनै तहले बिर्सिएका छन् । यहाँ त्, सरकार माली बनेको छ । नेपाल मुद्रण उद्दोग र नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघ गोरु बनिरहेका छन् ,जुधिरहेका छन् । विद्यार्थी र निम्न आय भएका बौद्धिक/सचेत पाठक दुबो बनेका छन्, मडारिरहेका छन्, पिल्सिरहेका छन् । सरकार बस रमिते बनिरहेको छ । ताली पिटेर लडाइ कतिखेर अझ रोमान्चक मोडमा पुग्नेछ, पर्खिरहेको छ । शासकको प्रवृति नै हुन्छ- हल गोरु जुधाएर बाली मास्ने । यहाँ यहीं भइरहेको हो । बस् यति..!

७. सर्वप्रथम हेरेको चलचित्र ?

राजेश हमाल अभिनित कुनै फिल्म थियो- भुँडे टीभीमा हेरेको थिएँ । नाम याद भएन । अहिले ‘दोबाटो’ याद आयो । यो दोस्रो पनि हुनसक्छ र बीसौँ पनि । मैले सम्झिन सकिंन ।

८. सबैभन्दा बढी हेरेको चलचित्र ?

हामी तीन भाइ, तारे जमिन पर, थ्री इडियट्स, हेराफेरी, धमाल, सूर्यवंशम, अवतार भयाे, इन्टु दी वाइल्ड, फरेस्ट गंप र टाईटनिक थुप्रै पटक हेरेँ । नटसम्राट, इन्सेप्सन, सिक्रेट विन्डो, कोठानाडी, प्यारासाइट, गुड विल हन्टिङ लगायत फिल्महरू अर्को पटक पनि हेर्न सकिने फिल्महरू हुन् ।

९. कस्ता खालका चलचित्रहरु हेर्नुहुन्छ ?

माथिका दुई प्रश्नमा केही नामहरू आए नै । त्यसबाहेक साँघुरो, कालोपोथी, बर्फी, एक डाक्टर की माैत, कहानी, ब्ल्याक, मेरा नाम जाेकर, इन द नेम अफ गड, मा इ मिर, लभिङ भिन्सेन्ट, डगतुथ, मिडनाइट इन पेरिस, ट्याक्सी ड्राइभर, बाइसाइकल थिभ्स, वन फ्लु ओभर द कुक्कु नेस्ट लगायत अरू पनि ।

यी चलचित्रहरूले बन्द कोठामा कैद मलाई बाहिर निकालिरहे । मेरो सोचाइको क्षितिजबाहिर, विचारको बादलमाथि, चेतनाको इनार पिँधमा या त अप्ठ्यारा/अँध्यारा गुफाहरूको भित्तासम्म पुर्याए । चलचित्रले कमसेकम मेरो कुनै एउटा जिज्ञासा मेटाउनुपर्छ या ममा थप एउटा जिज्ञासा बढाउनुपर्छ । नत्र म ती चलचित्र राम्रो मान्दिंन र, तिनका नाम पनि सम्झिरहन्न ।

१०. नेपाली चलचित्रको विकास नहुनुको कारण ?

प्रथमत : यो प्रश्न र यस प्रश्न इतरको मानिसकता !

विकास नहुनु भन्नाले नभएको भन्ने बुझियो । तर त्यसो होइन, गति मात्रै धिमा भएको हो ।

पहिले पहिले राजेश हमालले ‘हे…’नगर्दासम्म फिल्म चल्दैन थियो, अहिले दयाहाङ राईले ‘पादने’ या गाउँले लवजमा नबोलिदिए नचल्ने अवस्थाको सिर्जना कसले गर्यो ? यो प्रश्न नै तंपाइको प्रश्नको उत्तर हो ।

यसरी नाम किटान गर्नुको कारण पात्र विशेषलाई अर्थाएर परिवेश चित्रण गर्न मात्रै खोजेको हुँ । चलचित्र रुचाउने एक तिहाइ समूह यति खेर फ्यान्टसीबाट सरल परिवेश मन पराउने भइसकेका छन् । कारण हो-उसँग प्रशस्त ग्याजेट्स छ । ग्याजेट आफैंमा एक उचाईको फ्यान्टसी हो । त्यसैसँग उठबस गर्दा गर्दा वाक्क भएको ऊ गाउँले परिवेश र डार्क कथाहरू फिल्ममा खोजिरहेको छ । यस क्रममा ऊ सकेसम्म आफ्नै देशका चलचित्र खोज्छ, नपाएको खण्डमा बाहिर निस्कन्छ र उतै हराउँछ । फर्किन मन चाहि गरिरहन्छ, तर सक्दैन । म यतै अट्छु ।

बाँकी दुई भाग आज पनि कमेडी, रोमान्स र एक्सन मुभीलाई चाख दिईरहेको छ र, बिडम्बना भन्नुपर्छ यी जनाराका फिल्महरूमा एकनासपन छ । एकै कथा र विषयवस्तुलाई घुमाइ फिराइ पैसा असुल गरिरहेका छन् । बिहान आलु प्याज पकाएको भान्छेले बेलुका प्याज आलु पकाएर पाहुनालाई जिल्लाए जस्तो !

प्राविधिक समस्या पनि छन् । हाम्राे देशको जनघनत्व कै कुरा आउँछ । म जस्ता सिनेप्रेमीहरू पनि कारण हुन् । यस अलावा फिल्मकर्मीहरूमाथि ठूलो मात्रामा दोष थोपार्छु म । नेपाली सिनेमामा समावेश गरिने प्रायः कथा नेपाली समाजभन्दा बाहिरबाट ल्याइएको भेटिन्छ । यो ठूलो भड्खारोमा नेपाली सिनेक्षेत्र जाकिएको छ र, सिनेजगतले पनि परिवारवाद र नातावाद अँगालेको छ- जुन कलाका अन्य क्षेत्रहरू (साहित्य, चित्रकला र संगीत) मा कम देखिन्छ ।

यति धेरै कथाहरू भएको वर्तमान नेपाली समाजमा कथाविहीन सिनेमाहरू उत्पादन भइरहेको छ । हिरो हिरोइनमा फोकस गर्दा पटकथाहरूलाई वास्ता नगर्दा  निर्देशनको सवालमा नेपाली सिनेमाहरू चुकिरहेका छन् । अझ पनि धुर्मेसे/माग्ने बुढा र मुन्द्रेलाई फोकस गरेर सिनेमा बनाइँदा पात्रअनुसारको चरित्र चित्रण आउन सकेनन्, उनीहरूको नाम र अनुहारमात्र सिनेमामा अटिरह्यो ।यसले नगद कुम्लाएर नेपालको सबैभन्दा कमाउने फिल्मको रुपमा दर्ज हुनु एक ठाउँमा छ तर यस्ता फिल्मले नेपालको प्रतिनिधित्व गर्नु दुर्भाग्यपूर्ण अवस्था हो ।

यस अलवा पनि केही फिल्म राम्रा बनेका छन् । सबै आयामबाट कथा, लाइट, अभिनय, विषयवस्तुको उठान, प्रस्तुति, संगीत, पात्र र उसको चरित्र निर्माण, लोकेसन । कालो पोथी, साँघुरो,  सेतो सूर्य, पशुपतिप्रसाद, झोला, वासुदेव, नुमाफुङ निकै अब्बल र गतिला नेपाली फिल्महरू हुन् ।

प्रतिक्रिया दिनुहोस्