Logo

के चीनमा धेरै पहिलाबाट नै सुरु भएको थियो कोरोनाको प्रकोप ?



Spread the love

एजेन्सी । कोरोना भाइरस संक्रमणको सुरुवात चीनको बुहान सहरबाट भएको थियो । त्यसपछि छोटो समयमा नै विश्वका लगभग हर देशमा फैलियो । विश्वभर कोरोना संक्रमणबाट ७१ लाखभन्दा धेरै संक्रमित र ४ लाखभन्दा धेरैको ज्यान गइसकेको छ ।

अमेरिका लगायतका विभिन्न देशहरुले कोरोना भाइरस चीनको बुहानमै उत्पत्ति भएको सन्देह जनाउँदै आएका छन् । अमेरिकाले चीनलाई पटक–पटक भाइरसलाई लिएर पारदर्शिता नभएको आरोप पनि लगाउँदै आएको छ । चीनले भने प्रस्तुत आरोपको खण्डन गर्दै आएको छ ।
तर, एक अध्ययनमा अर्कै कुरा दाबी गरिएको छ ।

हाभर्ड मेडिकल स्कुलको एक शोधमा बताइएको छ कि चीनमा कोरोना भाइरसको संक्रमण निकै पहिलेबाट नै सुरु भएको थियो ।

स्याटेलाइटको सहायताले बुहान सहरको केही तस्वीरको अध्ययन गरिएको छ । यी तस्वीरहरु सन् २०१९ अगस्टका हुन् । जसमा बुहान सहरका अस्पताल बाहिर ठुलो संख्यामा गाडीहरु देखिएको छ । अध्ययनका अनुसार यो सम्भव छ कि कोरोनाको केस देखिनुभन्दा पहिला नै चीनमा कोरोना भाइरसको प्रकोप सुरु भएको थियो ।

शोधकर्ताहरुले अनुसन्धान गर्ने क्रममा बुहानका पाँच ठुला अस्पताल बाहिर अचम्मित तरिकाले गाडीको भीड लागेको बताएका छन् । अस्पताल पुगेका मानिसहरुमा खोकी, ज्वरो, झाडापखालाजस्ता समस्याले सताएको हुन सक्छ । यी सब कोरोना भाइरसको सामान्य लक्षण हुन् ।

डा. जोन ब्राउनस्टे प्रस्तुत अध्ययनको प्रमुख शोधकर्ता हुन् । उनले एक टीभी अन्तर्वार्तामा यो तथ्यले भाइरसको उत्पत्ति बुझ्नलाई महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

उनले भने, ‘ अक्टोबरमा केही भइरहेको थियो । स्पष्ट रुपमा भन्नुपर्दा कोरोना भाइरसको सुरुवात अगाडि केही सामाजिक व्यवधान पक्कै थियो ।’

सन् २०१९ को डिसेम्बरमा चीनले विश्व स्वास्थ्य संगठनलाई कुनै अज्ञातको कारणले निमोनिया जस्तो केसहरु आएको भनी सूचना दिएको थियो । यसको नौ दिनपछि चीनका अधिकारीहरुले निमोनिया भएका केसहरुबाट कोरोना भाइरसको पहिचान भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्