एजेन्सी । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको आतंक विश्वभर फैलिएको छ । कुनै ठाउँमा संक्रमितको संख्यामा कमी आइरहेको छ त, कुनै ठाउँमा बढी । आउनुहोस् जानौँ, विश्वमा कहाँ के भइरहेको छ ।
१. जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार विश्वभर कोरोना भाइरसबाट ७० लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने मर्नेहरुको संख्या चार लाख कटेको छ ।
२.अमेरिका विश्वको सबैभन्दा बढी प्रभावित राष्ट्र हो । अमेरिकामा कोरोना भाइरसबाट १९ लाख ४२ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने एक लाख दस हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।
३.ब्राजिल विश्वको दोस्रो प्रभावित राष्ट्र हो । ब्राजिलमा कोरोना भाइरसबाट ६ लाख ९१ हजारभन्दा धेरै संक्रमित भएका छन् भने ३६ हजारभन्दा धेरैको मृत्यु भएको छ ।
४.संक्रमणको हिसाबले रुस तेस्रो स्थानमा रहेको छ भने बेलायत चौथो र पाचौँ स्थानमा भारत रहेको छ ।
५.भ्याटिकन सिटीले कोरोना भाइरसबाट मुक्त भएको घोषणा गरेको छ । मे महिनाको सुरुवातमा भ्याटिकन सिटीमा १२ जना कोरोना संक्रमित भएका थिए ।
६.एक अमेरिकी सांसदले चीनले अमेरिका र बेलायतलाई भ्याक्सिन बनाउन नदिएको आरोप लगाएका छन् ।
७.ब्राजिलका राष्ट्रपतिले सरकारी वेबसाइटमा भएको कोरोनाको आंकडा हटाउँदा आलोचित भएका छन् । ब्राजिलमा कोरोना भाइरसको कारणले गर्दा एक महिनामा दुई स्वास्थ्यमन्त्रीले राजीनामा दिइसकेका छन् ।
८.साउदी अरेबियामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक लाख नाघेको छ । साउदी अरेबियामा संक्रमित हुनेहरुको संख्या १,०१,९१४ पुगेको छ भने ७१२ जनाले ज्यान गुमाइसकेका छन् ।
९.अफगानिस्तानमा कोरोना भाइरसबाट बितेको २४ घण्टामा ३० जनाको ज्यान गएको छ । अफगानिस्तानमा पहिलो पटक एक दिनमा यति धेरैको ज्यान गएको हो । अफगानिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २०,९१७ पुगेको छ भने ३६९ जनाले ज्यान गुमाइसकेका छन् ।
१०.विश्व बैंकका अध्यक्ष डेभिड मालपासले कोरोना भाइरसको कारणले गर्दा ६ करोड मानिस गरिबीको रेखामुनि जाने बताएका छन् । उनले अर्थव्यवस्थामा हुने घाटा एक दशकसम्म रहने पनि उल्लेख गरेका छन् ।
११. अमेरिकामा १०३ वर्षीय वृद्धाले कोरोना भाइरसलाई जिती घर फर्किएकी छिन् ।