२४ जेठ, काठमाडाैँ – कोरोना महामारी रोकथामको अग्रभागमा रहेर काम गर्दा सङ्क्रमित भएका बाँकेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले कोरोनालाई जितेर आज घर फर्किएका छन् ।
सङ्क्रमण पुष्टि भएपछि खजुरास्थित कोरोेना विशेष आइलोलेशन अस्पतालमा बसेका उनीहरुको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन् । स्वास्थ्यकर्मी र सञ्चारकर्मी दम्पती हुन् भने सुरक्षाकर्मी नरैनापुरस्थित कालाफाँटा प्रहरी चौकीमा कार्यरत छन् ।
कोरोना जितेर घर फर्किएका सबैलाई खजुराबाट बिदाइ गरिएको थियो । बाँकेमा अहिलेसम्म ४५ जनाले कोरोनालाई जितेर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । बाँकेमा आज १२ जना थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज थप १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै सङ्क्रमितको सङ्ख्या २६७ पुगेको हो ।
आज गरिएको परीक्षणमा बाँकेका तीन स्थानीय तहका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित नेपालगञ्ज उपमहानगरपालिका– १ का ४१ वर्षीया महिला, बैजनाथ गाउँपालिका– ६ का ३८ र ३२ वर्षीय पुरुष तथा वैजनाथ गाउँपालिका– २ का ३७ वर्षीय पुरुष, खजुरा गाउँपालिका वडा नं ४ का एक महिलासहित तीनदेखि ३८ वर्ष उमेर समूहका सात जना र वडा नं ५ का २२ वर्षीय पुरुष रहेको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।
गत वैशाख १९ गते पहिलो पटक बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमण देखिएको थियो । नेपालगञ्जबाट शुरु भएको सङ्क्रमणका क्रममा नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा, वैजनाथ हुँदै जानकी गाउँपालिकासम्म पुगेको छ । जानकी गाउँपालिकामा ४०, नेपालगञ्ज उपमहानगरपालिकामा ३४, राप्तीसोनारी गाउँपालिकामा २६, डुडुवा गाउँपालिकामा २५, खजुरा गाउँपालिकामा १३ जना र वैजनाथ गाउँपालिकामा ११ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।