Logo

मैले चुनौतिलाई प्रेम गर्न सिकेको छु।



Spread the love

बाग्लुङमा जन्मिएका भूपिन खड्का चितवनमा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्राध्यापक रहेका छन् । सानैदेखि साहित्यमा रुचि राखेका भूपिन विशेष गरी कविकाे रूपमा बढी चिनिन्छन् । कविकाे रूपमा चिनिए पनि भूपिनले निबन्ध अनि उपन्यासमा पनि कलम चलाएका छन् । उनले ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’, ‘हजार वर्षको निद्रा’, ‘सुप्लाको हवाईजहाज’ जस्ता कविताकृति, ‘चौबीस रिल’  नामक निबन्ध कृति र मैदाराे नामक उपन्यास प्रकाशित गरिसकेका छन् ।

भूपिनसँग सल्लेरी खबरको शुक्रबारीय विशेषांक ‘सल्लेरी कोलाज’ का लागि विकाश मरासिनीद्वारा गरिएको अक्षरको कुरा यसरी सुरु भयो ।

१. तपाईंको लेखनप्रति कहिले देखि झुकाव थियो ?

अव्यवस्थित रुपमा बाल्यकालदेखि नै । गाउँको हुलाकबाट रेडियो नेपालको बालकार्यक्रमका लागि कविता पठाउथेँ । धेरै समय कुराएर बाशुदेव मुनाल र नुपुर भट्टाचार्यले मीठोसँग वाचन गरिदिन्थे ।हप्तामा एक दिन बालकविहरू रेडियोमा कविता सुनाउन जान्थे । घरको पिँढीमा बसेर उनीहरूलाई सुन्थेँ । मेरो ठूलो सपना हुन्थ्यो कि म पनि त्यहाँ पुगेर प्रत्यक्ष कविता सुनाऊँ उनीहरूले झैँ । तर, त्यो मेरो सपना नै रह्यो ।

स्कूलमा कहिले काहीँ हुने शुक्रबारे साहित्यिक कार्यक्रमका प्रतियोगितामा भाग लिन्थेँ र पुरस्कार पाउथेँ । एसएलसी दिने समयसम्म मैले केही कविता, नाटक र दुई उपन्यास लेखिसकेको थिएँ ।उपन्यास ब्रम्हाण्ड र ताराको पाण्डुलिपि अझै सुरक्षित छ । हार्ड कभरवाला मोटो पूजाकापीमा मैले किशोर प्रेमको रुमानी प्रेमकथा लेख्ने कोसिस गरेको थिएँ । टोल्सटोयको युद्ध र शान्तिको नामबाट प्रभावित भएर उपन्यासको नामाकरण गरेको थिएँ ।

व्यवस्थित रुपमा लेखनमा लाग्नुपर्छ भन्ने लागेको चाहिँ पोखरा आए देखि हो । पृथ्वीनारायण बहुमुखी क्याम्पसमा स्नातक पढ्ने बेला देखि । महिनाको पहिलो शनिबार हुने समता काव्य सन्ध्यामा जान्थेँ, कविता सुनाउथेँ र अग्रज समकालीन साथीहरूको तारिफ सुनेर बगरको डेरा फर्किन्थेँ ।

तेजनाथ घिमिरे, सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पंगेनी, बिनोद गौचन, हरिदेवी कोइराला, बद्री बिनोद प्रतिक, मदन भण्डारी मुमुक्षु, प्रकाश घिमिरेजस्ता अग्रज, रमेश श्रेष्ठ, जे, अस्मिता, रोशन शेरचन, सरस्वती श्रेष्ठ सरू, सुकुम शर्मा, इन्द्रराना प्रतीकजस्ता ठिक अघिल्लो पुस्ताका कवि अनि दीपक समीप, रमेशचन्द्र घिमिरे, धनप्रसाद तामाङ, तीर्थ गुरुङ, सुरेश रानाभाट, पुष्प आचार्य, सरिता तिवारी, सरस्वती प्रतीक्षा, केशु शर्मा, अदिती शर्मा आदि पछिल्लो पुस्ताका कविहरूको सत्सङबाट मैले धेरै कुरा सिकेँ । चित्रकार दुर्गा बराल दाइ पनि आउनुहुन्थ्यो । समता काव्य सन्ध्या मजस्ता युवाकविहरूको लागि एक गजबको काव्य पाठशाला थियो । म त्यस काव्य पाठशालाप्रति सधैँ अनुगृहित छु ।

तर अझै पनि व्यवस्थित लेखक हुन सकिरहेकाे छैन ।

२. कविता, निबन्ध हुँदै उपन्यास लेख्नुभयो ।मैदारो उपन्यासलाई २४ वर्षको तपस्याको रुपमा लिने गरिन्छ । विधा परिवर्तन गरी लेख्दा कस्तो महसुस गर्नुभयो ?

मेरो विचारमा, बहुविधामा कलम चलाउनुलाई विधा परिवर्तनु भन्नु सही होइन । परिवर्तनले त नयाँ विधामा लागे पछि फर्केर फेरि पहिलाका विधामा नआउनु भन्ने अर्थ लाग्छ । मेरो लेखन जीवनमा त्यो असत्य हो । मैलेआख्यान लेखेँ, यसको अर्थ अब कविता निबन्ध लेख्दिन भन्ने होइन । लेखकले एकसाथ विविध विधामा काम गर्न सक्छ । म कविता र निबन्धसँगसँगै लेखिरहेको हुन्छु । उपन्यास लेख्दा भने मैले अन्य विधा कम नै लेखेँ ।

बहुविधामा काम गर्ने लेखकबारे नेपालमा केही मानिसहरूको सोच अलिक अनुदार पाउँछु ।मानिसहरू सोंचिदिन्छन् की लेखकले एकै विधामात्र लेख्ने कसम खाएर त्यो विधामा लागेका हुन्छन् ।सत्य त्यस्तो हुँदैन । वास्तवमा त्यस्तो कसम कोही लेखकले खाएको हुन्छ भन्ने मलाई लाग्दैन । मेरो अनुभव भन्छ कि लेख्न खोजेको विषयवस्तुले अभिव्यक्त हुने सबैभन्दा प्रभावकारी विधा आफै छनौट गरिदिन्छ । त्यो विषयवस्तुलाई अर्को विधामा लेख्नै नसकिने भन्ने त हुँदैन, तर सबै विधामा उत्तिकै प्रभावकारी रुपमा प्रस्तुत गर्न सकिंदैन । लेखकले विधा छनौट गर्दा त्यस कुराको ख्याल गर्छ ।

म हरेक विधालाई उत्तिकै सम्मान र जिम्मेवारीपूर्वक अपनाउने कोसिस गर्छु र हरेक विधामा बढीभन्दा बढी लेखन आनन्द लिएर लेख्ने कोसिस गर्छु । मलाई लागिरहन्छ कि प्रकाशनपूर्व लेखन मेरो हातमा हुन्छ, मेरो नियन्त्रणमा हुन्छ । मैले लेखनलाई न्याय गर्न यहीं बेला अधिकतम प्रयास गर्नुपर्छ । प्रकाशनपछि त लेखनकर्म मेरो हातमा हुन्न । मेरो नियन्त्रणबाट त्यो मुक्त भैसकेको हुन्छ ।

बहुबिधा लेखन चुनौतिपूर्ण यात्रा हो । मैले चुनौतिलाई प्रेम गर्न सिकेको छु।

३. कविता, निबन्ध र उपन्यासमध्ये कुन विधा तपाईंलाई सर्वाधिक प्रिय लाग्छ ?

सबै विधा मेरा लागि उत्तिकै प्रिय छन् । मेरो जीवनमा तिनका आ–आफ्नै प्रभाव र विशिष्ठता छन् ।तिनीहरू सँगको प्रेममा मैले बिताएका आनन्दमय पलहरू छन् ।

हामी लेखकहरू प्रायजसाे विधा वा कृतिलाई लैङ्गिक प्रेमसँग तुलना गर्छौँ र भन्छौँ पहिलो प्रेम वा दोस्रो प्रेम वा अन्तिम प्रेम । म चाहिँ यसलाई सन्तान प्रेमजस्तो ठान्छु । जसरी बाउआमाले आफ्ना सबै सन्तानलाई समान र तुलना गर्न नमिल्ने प्रेम गर्छन्, विधा वा कृतिको प्रेम पनि त्यस्तै हो । घटी बढीको हिसाव किताब अर्थहीन छ ।

सोंची ल्याउँदा मैले सबैभन्दा लामो समय कवितासँग नै बिताएँ । कहीँ कतै कविताप्रति बढी प्रेम देखाएको छु भने पनि यसलाईअन्यथा लिइनु हुँदैन ।

४. तपाईंको सृजनामा कस्ता खालका विषयवस्तुहरु समेट्न रुचाउनु हुन्छ ?

विषयवस्तुको फ्रेम मेरो रुचिको विषय होइन, आदत पनि होइन । जीवन बाँच्ने क्रममा वा जीवनजगतको अवलोकनको क्रममा जुन विषयले मेरो मनमस्तिष्कमा बढी हस्तक्षेप गर्छ, म त्यहीं विषयमा लेख्न मन पराउँछु । तर जुन विषयमा लेख्छु, म त्यहाँ सामाजिक न्याय र मानवीयताको खोजी गर्छु । लोककल्याणको चिन्ता गर्छु । प्रकृतिप्रतिको हाम्रो जिम्मेवारी खोज्छु । केही प्रयोग गर्न मन पराउँछु ।

यद्यपि नेपालमा पार्टी, गुट वा समुदायको फ्रेमभित्र एक्टिभिजमकाे व्याख्या गर्ने गलत प्रचलन छ । म सोंच्छु, लेखकको एक्टिभिजम लेखन नै हो र यस अर्थमा म पनि उहिलेदेखि एक्टिभिजममा सामिल छु । अश्पृष्यताको कहालीलाग्दो मुद्धामा लेखिएको मैदारो मेरो एक एक्टिभिजम हो, पर्यावरण कविता र निबन्धहरू लेखनको अर्को एक्टिभिजम । लेखनमा म समग्र मानवतावादी विचारको एक्टिभिजममा छु । यसभित्र धेरै महत्वपूर्ण कुराहरू अटाउँछन् ।

५. तपाईका अनुसार लेखक कस्तो हुनुपर्दछ ?

एकसाथ बालकजस्तो जिज्ञासु र दार्शनिक जस्तो ज्ञानी । यद्यपि यी दुई स्वभाव एकसाथ बोक्न कठिन छ, तर मेरो विचारमा सफल लेखकका लागि सर्वाधिक जरुरी यहीं हो । बालकको जस्तो जिज्ञासा भावले तपाईँलाई प्रयोग र अवलोकनको लागि प्रेरित गर्छ, प्रयोगले शैली निर्माण गर्न मद्धत गर्छ ।दार्शनिकको ज्ञानले लेखनलाई व्यवस्थित गरिदिन्छ । म हरेक सफल लेखकमा यी दुई भावको प्रतिबिम्व देख्छु ।

६. साहित्य र समाजको सम्बन्ध कस्तो हुनुपर्ने हो ? कस्तो भइरहेको छ ? साहित्यले समाजमा कस्तो प्रभाव पारेको छ ?

समाजरुपी युनिभर्सलसेटको एक महत्वपूर्ण सवसेट हो साहित्य । समाजका लागि साहित्यमा सबै थोक त होइन तर साहित्यका लागि समाज लगभग सबैथोक हो । साहित्य जस्तै धेरै सवसेटहरू मिलेर समाजको निर्माण हुन्छ । जस्तै जनसङ्ख्या, राजनीति, व्यवस्थापन, अर्थ–वाणिज्य, धर्म –संस्कृति, मानवसम्वन्ध, भूगोल, पर्यावरण आदि । तर साहित्य बिना समाजले असल गुण, मानव मूल्य, सिर्जनात्मक चिन्तन, सौन्दर्य र चिरस्थायित्व प्राप्त गर्न सक्दैन । साहित्य गुणवान र सभ्य समाजको लागि एक महत्वपूर्ण आधार हो । साहित्यले समाजको हृदयलाई गम्भीर रुपले हस्तक्षेप गर्ने ल्याकत राख्छ । समाजलाई गतिशिल र मानवीय बनाउने पर्यावरण निर्माण गर्न पनि साहित्य र कलाले सधैं सघाउँछ ।

नेपाली साहित्यले नेपाली समाजलाई के दियो ? यसलाई व्याख्या गर्नु सजिलो छैन । यसलाई समाजका अन्य सवसेटहरूको सापेक्षमा हेर्नुपर्छ भन्ने लाग्छ । मेरो विचारमा ( राजनीति, अर्थतन्त्र, व्यवस्थापनका तुलनामा साहित्यले नेपाली समाजलाई धेरै कुरा दिएको छ । तर विश्वसाहित्यको तुलनामा हेर्दा हामीले धेरै गर्न बाँकी नै छ ।

७. नेपाली साहित्य जुन स्तरमा हुनुपर्ने हो त्यो स्तरमा छैन । यस बारेमा तपाईं के भन्नुहुन्छ ?

स्तरीयतामा सम्झौता गरेर यथास्थितिमै सन्तुष्टि लिनु हुँदैन । जुनसुकै भाषाको साहित्य होस्, त्यसमा स्तर वृद्धिको खोजी त सधैं अपेक्षित हुन्छ नै ।

मेरो विचारमा, साहित्यको विकास सम्बन्धित भाषाको विकास र विस्तारसँग प्रत्यक्ष जोडिने हुनाले लामो र विस्तारित इतिहास भएका भाषाको साहित्यसँग छोटो र सीमित इतिहास भएका भाषाको साहित्यलाई सोलोडोलोमा तुलना गरेर हेर्दा समस्या हुन्छ । लामो र विस्तारित इतिहास भएका अङ्ग्रेजी, रसियन, स्पेनिस वा अन्य भाषाको साहित्यसँग हाम्रो नेपाली साहित्यको तुलना जटिल कुरा हो । किनकि तुलनात्मक रुपमा नेपाली भाषाको त्यति लामो इतिहास छैन र यो सीमित क्षेत्रमा बोलिन्छ ।

यसको अर्थ यस्ता भाषाको साहित्य सधैं कमजोर हुन्छ भन्ने पनि होइन ।

खासमा भाषाको राजनीति र विविध संयोगहरूले स्तरमा प्रभाव पारेको हुन्छ । छोटोमा भन्दा, साहित्य कलाका स्तरको मापन गर्ने एकै मानक आधारहरू हुँदैनन् । तर हामीहरूले धेरै मेहनत गर्न जरुरी छ ।

८. सरकारले पुस्तकमा लगाएको कर बारेमा के भन्नुहुन्छ ?

सक्षम सरकारसँग नागरिकहरुले कर बारे धेरै केरकार गर्दैनन् । किनभने सरकारले कर लिए बापत् उनीहरुले सुबिधाको राम्रो प्रत्याभूति पाएका हुन्छन् । उनीहरू कर तिरे बापत् आफ्ना सन्तानहरुले पनि सहुलियत पाउँछन् भनी ढुक्क हुन्छन् । जसरी कर लगाउनु राज्यको अधिकार हो, कर बापत् पाउने सुबिधा खोज्नु हरेक नागरिकको अधिकार हो ।

म पुस्तकमाथि लागेको करको यस कारण बिरोध गर्छु कि कर तिरेर मैले केही विशेष सहुलियत पाएँ भन्ने लाग्दैन । पाउँछु भन्ने विश्वास पनि लाग्दैन ।

९. उपन्यासपछि के लेख्ने सोंच बनाउनु भएको छ ?

केही सोंच र योजनाहरू छन् । तर कोरोनाकाे कारणले कतै केन्द्रित भएर काम गर्न सकिरहेको छैन । फुटकर कामहरूमा नै लकडाउन जिन्दगी चलिरहेको छ । यसै पनि म छिटो लेख्न सक्ने लेखक होइन ।

विकाश मरासिनी सल्लेरी खबरको कला साहित्य ब्युरोमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्