उन्नाइसौँ शताब्दिका सबैभन्दा लोकप्रिय उपन्यासकारहरुमध्ये गनिन्छन् चार्ल्स डिकन्स । धेरै समीक्षकहरुले डिकन्सका उपन्यासहरुलाई शेक्सपियरका नाटकहरुसँग राखी भन्न चाहन्छन्– अंग्रेजी भाषाका दुई अनमोल मणि ।
डिकन्सले लगभग तीन हजार पात्रहरु सृष्टि गरे । उनले सृष्टि गरेका धेरै पात्रहरु जस्तै –साम वेलर, यूरिया हिप, मिकाबर, डेभिड कपरफिल्ड, पेक्सनिफ मानिसहरुको दिल दिमागमा प्रिय मानिसको रुपमा बसेका छन् ।
क्रिसमसको बेला लण्डनमा एउटा सानो पुस्तक प्रकाशित भएको थियो । धेरै मानिसहरुले यसलाई संसारको महान पुस्तक भने । पुस्तकबारे चारैतिर हल्ला फैलियो । उक्त पुस्तक थियो डिकन्सको क्रिसमल क्यारोल ।
क्रिसमस क्यारोल प्रथम संस्करणमा एक हजार प्रति छापिएको थियो । दुई सातापछि पन्ध्र हजार । त्यसपछि त धेरै नै छापियो । अनि बन्यो क्रिसमस क्यारोल विश्वको प्रसिद्ध किताब । क्रिसमस क्यारोलबाट ख्यातिमा पुगे पनि उनलाई अझ माथि पुर्याउने पुस्तक चैं पिकविक पेपर्स थियो । प्रस्तुत किताबमा हास्य छ, परिहास छ, हाँसाको मुल फुटेको छ । त्यसपछि उनी सारा देशवासीको नजरमा प्रिय भए । विश्वका महान उपन्यासमा वार एण्ड पिस र पिकविक पेपर्सलाई मान्ने थुप्रै थिए ।
अंग्रेजी साहित्यमा भाग्यमानी साबित हुने अहोभाग्य डिकन्सको थियो । सुरुमा उनले लुकेर कथा लेख्थे अनि ती कथा सम्पादकलाई पठाउँथे । सुरुको कथा लेख्दा उनी २२ वर्षका थिए ।
चाल्र्स डिकन्सले जम्मा चार वर्ष विद्यालयमा बिताएका थिए । तैपनि अंग्रेजी साहित्यमा पन्ध्रवटा महान उपन्यास लेखे अनि उन्नाइसौँ शताब्दिका महान उपन्यासकार बने ।
चार्ल्स डिकन्स सन् १८१२ को फेब्रुअरी ७ मा जन्मिएका थिए । उनको बाल्यकाल सुखदमै बितेपनि उनी दश वर्षको भएपछि भने विभिन्न आपतहरु आउन थाले । उनका बुवाले ऋण तिर्न नसक्दा डुबेका थिए । ऋण तिर्न नसकेपछि उनी जेल जानुपर्यो । घरमा खानेकुरा थिएन । डिकन्सले घरमा भएका सामानहरु बेच्न थाले । पछि उनले भनेका थिए– मैले किताब बेच्दा मुटु नै चुँडिएलाजस्तो भएको थियो ।
परिवार धान्न नसकेर उनकी आमाले आफ्ना छ जना बच्चाहरुलाई लिएर जेलमा पतिसँग बस्न थालिन् । डिकन्सले आफ्ना बाबुलाई मिकाबरको रुपमा डेभिड कपरफिल्डमा उतारेका छन् ।
बाह्र वर्षको उमेरमा डिकन्सले एउटा कारखानामा बोतलमा लेबल टाँस्ने काम गर्न थाले । कारखाना निकै फोहोर थियो । उनले त्यति बेला श्रमिक वर्गको जीवन देखे, उनका दुख पीडालाई नजिकबाट नियाल्ने मौका पाए । उनले त्यो कारखानाको गरिबी पछिसम्म भुल्न सकेनन् । जसले गर्दा उनका कृतिमा जेलको विम्ब र उत्पीडित बालकहरु देख्न सकिन्छ । उनका बाबु जेलबाट छुटेपछि उनी फेरि विद्यालयमा भर्ना भए ।
डिकन्सले पछि पत्रकारिता रोजे । सोही पेशामा छँदा उनी मेरियाप्रति आशक्त भए । मेरियाका बाबु पैसावाला थिए र डिकन्सजस्तो गरिब पत्रकारलाई छोरी दिन चाहेनन् । मेरियाले पनि डिकन्सलाई साथ दिइनन् । तर, डिकन्सले मेरियालाई जिन्दगीभर भुल्न सकेनन् । पछि मेरियाले डिकन्सलाई म तंपाईलाई सधैं माया गरिरहने छु भनी चिठी पठाएकी थिइन् ।
सन् १८३६ मा डिकन्सले बिहे गरे । पन्ध्र वर्षमा डिकन्सका दसवटा बच्चा भएका थिए । डिकन्ससँग उनकी साली पनि बस्थिन् । उनी निकै सुन्दर थिइन् । सत्र वर्षको उमेरमा सालीको मृत्यु भएपछि डिकन्स शोकमा डुबे । डिकन्सले सालीको औँठी जीवनभर लगाइरहे ।
उनले धेरै उपन्यासमा घरेलु सुखका दृश्यहरुको सजीव वर्णन गरेका छन् तर, उनको घरमा भने त्यो सुख थिएन । सारा संसार जितेका डिकन्सको घरमा शान्ति थिएन । उनकी श्रीमतीसँग उनको मन मिलेन । सन् १८५८ मा पारपाचुके गरे । त्यसपछि डिकन्सले ४६ वर्षको उमेरमा १९ वर्षकी अभिनेत्रीसँग मायाप्रिती जोडे ।
डिकन्सका उपन्यासमा हास्य छ, विनोद छ, कारुणिकता र मानवता छ । यसैले उनी आफ्नो समयका सबभन्दा लोकप्रिय लेखक बने । उनलाई हरेक क्षेत्रका मानिसले पढे, प्रशंसा गरे, पूजा गरे । अहिले समीक्षकहरु उनका उपन्यासमा भएका प्रतीकात्मक र अति यथार्थवादी गुणहरुलाई केलाउँदै छन् । उनी उपन्यासका आधुनिक गुरु काफ्का, दस्तोभिस्कीको लहरमा उभिन्छन् ।
उनले बेलायतका ठुला–ठुला सामाजिक र सांस्कृतिक परिवर्तनहरु देखे । कृषिप्रधान देश विस्तारै व्यापारिक र औद्योगिक युगमा प्रवेश गरेको, जहाँ धनाढ्य वर्गको आधिपत्य थियो । उनका उपन्यासहरुले यिनै परिवर्तनहरुलाई देखाएका छन् । पिकविक पेपर्समा बग्गीमा आरामदायी यात्रा छ, गाउँको काव्यात्मक दृश्य छ । डम्बी एण्ड सनमा लण्डनको व्यापारिक संसार र रेलको यात्रा छ । फेरि आवर म्युचल फ्रेण्डमा लण्डनका धुलिधुसर र निस्तेज साँझहरु छन् । जुन भौतिकवादी समाजमा मानवीय क्षयका प्रतीक हुन् । डिकन्सको सोंचाइ के थियो भने उपन्यासकार आफ्नो युगको व्याख्याता मात्र नभइ मनोरञ्जनदाता पनि हुनुपर्दछ । उनले पाठकहरुलाई खुब मनोरञ्जन दिए जुन अरु कसैले दिन सकेनन् ।
डिकन्सको भाषामा कविताको सुवास छ । उनी सामाजिक आलोचक हुन्, मनोरञ्जनदाता हुन्, कवि हुन् । समाजको आलोचना गर्ने उनको शक्ति र मनोरञ्जन दिन सक्ने उनको सामथ्र्यको एउटै स्रोत थियो– त्यो हो मानव आचरणको विचित्रता देख्न सक्ने उनको क्षमता । त्यहीं कुरालाई उनी आफ्ना उपन्यासमा भव्य रुपमा उतारेका छन् । एउटा आलोचकले मनोरञ्जक स्वरमा बोलेको हुनाले जनता जर्नादनका उनी प्राणप्यारा लेखक भए । उनको आलोचनाले गर्दा बेलायतमा धेरै राजनीतिक र सामाजिक सुधारहरु भयो ।
उनले सामाजिक कुरीतिहरुमाथि हमला गरे । जेलको भ्रमण गरे, अनाथालयहरु हेरे अनि त्यहाँको दुर्दशाको भण्डाफोर गरे । उनले वेश्याहरुका घर बनाएका थिए । उक्त घरको नाम युरानिया कटेज राखिएको थियो ।
डिकन्स अमेरिका गएको बेला उनलाई हेर्न भनी धेरै उत्सुक भएका थिए । टिकट नपाउँदा उत्पात मच्चाएका थिए ।
डिकन्सले सारा संसारको मान पाए, सम्मान पाए, धन त कति हो कति । तर उनले बालककालको गरिबी भने भुल्न सकेनन् । सोही कारणले गर्दा उनले गरिबहरुकै कथा लेखे ।
अन्तिम दिनहरुमा आइपुग्दा उनी ख्यातिको चरमचुलीमा पुगेका थिए । सन् १८७० को ८ जुनमा उनले एडविन डुड लेख्दै थिए । ९ जुनमा उनी यस संसार छाडी बिदा भए ।