Logo

चिसिँदै गएका आस्थाहरू



Spread the love

–सीता पाण्डे

शिरीषको फेदमुनिको रित्तो फलैँचा देखेर ऊ टक्क अडिन्छ र थकाइ मार्न त्यहीँ थचक्क बस्छ । हिँड्दा हिँड्दा लखतरान थाकेको ऊ, पसिनाले निथ्रुक्क भिजेको उसको अनुहारमा अब कुनै उत्साह र जाँगर छैन र शरीरमा अगाडि बढ्ने तागत पनि छैन ।

आज ऊ धेरै हिँडि सकेको छ । हिँड्न त हिजोअस्ति पनि हिँडेको हो – आफूले पास गरेका प्रमाणपत्रहरू र नागरिकताको प्रमाणपत्रको फाइल च्यापेर । यसरी ऊ धेरै दिन हिँडि सकेको छ  । मानौँ यो उसको नियति नै भइ सकेको छ । तर ऊ आज जस्तो निराश र थकित भने कहिल्यै भएको थिएन । आज जस्तो हताश कहिल्यै भएको थिएन ।  उसलाई विश्वास थियो – त्यस पल्टको अन्तर्वार्तामा ऊ निश्चय नै सफल होला । हुन त बी . ए . पास गरेपछिका वर्षहरूमा उसले धेरै पटक फाराम भरेको हो, अन्तर्वार्ता दिएको हो र धेरै पल्ट धेरै मानिसहरूको मन जितेको हो, विश्वास जितेको हो र आश्वासन पनि निकै नै पाएको हो । नपाएको त केवल सफलता मात्रै । स्कुलदेखि बी.ए.सम्मको अध्ययनको दौरानमा ऊ कहिल्यै फेल भएको थिएन ।अझ स्कुलमा छँदा त सधैँ पहिलो वा दोस्रो बाहेक अरू केही भएन पनि । बी.ए.को परीक्षा पनि उसले दोस्रो श्रेणीमा पास गरेको थियो ।

धेरै पल्टको अन्तर्वार्ताको परिणामको लिस्टमा आफ्नो नाम नपाउने अभ्यस्त जस्तै भइ सकेका उसका आँखाहरूले यस पल्ट पनि नपाउँदा आश्चर्य नमान्नु पर्ने हो , आँखाहरू नतिरमिराउनु पर्ने हो । तर अहँ, त्यसो भएन । उसका आँखाहरू तिरमिराए । उसलाई लाग्यो – आँखाहरूले उसलाई धोका दिँदै छन् । उसलाई विश्वास भएन – यस पल्टको अन्तर्वार्ताको परिणाम टाँसेको लिस्टमा पनि उसको नाम छैन भन्ने कुरामा । उसले त्यो लिस्ट फेरि दोह¥यायो , तेह¥यायो र चौह¥यायो पनि । तर पनि उसको नाम कतै भेटिएन । यस पल्ट उसले खल्तीबाट एउटा मैलो रुमाल झिकेर पसिना पुछ्यो । अनि पसिनासँगै अनुहारमा छाएका विश्वासका रेखाहरू पनि ।

यस पल्टको अन्तर्वार्तामा ऊ किन विश्वस्त थियो भने एक जना विशिष्ट ओहदाका मान्छेले उसको प्रतिभाबाट प्रतिभाबाट प्रभावित भएर आश्वासन मात्रै हैन कि विश्वास पनि दिलाएका थिए । र अन्तर्वार्तामा सोधिएका प्रश्नहरूको जवाफ पनि उसले राम्रै नै दिएको थियो । उनीहरूको ‘ डनहिल ’ च्यापिएका ओठहरू पनि निकै नै खुलेका थिए र अनुहारमा पनि दयालु भावहरू झल्केको उसले महसुस गरेको थियो । तर कस्तो दुर्भाग्य !

यस पल्ट पनि उसको नाम निस्केन । एक मन लाग्यो उसलाई आफ्नै गाउँमा फर्केर जाऊँ र त्यहीँ बसूँ । हुन त नगएको पनि होइन । गएर बसेको पनि हो । तर के गरोस्, उसका लागि गाउँमा आखिर रित्तो गाउँ बाहेक अरू केही थिएन । सम्झन्छ – गाउँमा चारैतिर अनिकाल व्याप्त छ ।

मानिसहरू भोकभोकै मर्न लागि रहेछन् । पोहोर साल पनि पानी परेन सुक्खा लाग्यो । बालीनाली केही पनि भएन । किसानहरूले समयमा धान रोप्न पनि पाएनन् र गहुँ छर्न पनि सकेनन् । यस पालि पनि उस्तै छ । बाली लाग्नु पर्ने खेतहरू पटपटती फुटेका छन् । गर्मी पनि उस्तै । हप्प, उकुसमुकुसिएको वातावरण । साउन लागि सक्दा पनि एक थोपा पानी परेको छैन । अनिकालले झन् भयानक रूप लिइ सकेको छ । तै पनि मानिसहरू यस्तो चर्को घाममा पनि कामको खोजीमा निस्कि रहेछन् । तर काम भने कतै पाउन सकिरहेका छैनन् र खान पनि पाएका छैनन् । कोही दुई दिनदेखि भोका छन् त कोही तीन दिनदेखि भने कोही पानी मात्र पिएर प्राण धानि रहेका छन् । तर प्रकृतिले एउटा सहायता भने यो दिएको छ कि यो ठाउँमा आँपहरू निकै फलेका छन् ।

मनग्गे त हैन, तापनि तिनीहरूका प्राण धान्नमा यसले निकै मद्दत गरेको छ । मान्छेहरू आँप खाएर पनि सधैँ प्राण धान्न सक्दैनन् र वर्षा याममा निस्किने कमिलाका ताँतीहरू झैं कामको खोजीमा जताततै भौँतारिइरहेछन् – छ्यापछ्यापती चारैतिर । तर काम पनि कसले पो लगाउने र यस्तो अनिकालको बेलामा । साहु, महाजन जस्ता देखिने केही धान, अन्न हुनेहरू पनि जगेडा राखेको अन्न खाँदै छन् । उनीहरू यस्तो अनिकालको बेला केही काम पनि दिन सक्दैनन् र अन्नपात पनि खर्च गर्न सक्दैनन् ।

यस्तै हाहाकारको भुमरीमा रिँग्दै रिँग्दै उसले सोचेथ्यो – ‘ यस्तो अनिकालले हाहाकार भएको बेला गाउँमा यसरी कति दिन गुजारा चलाउन सकिन्छ ? ’सायद , त्यस बेला उसले यो प्रश्न आफैँमाथि गरेको थियो । अस्ति मात्र उसले सुनेथ्यो – पारिको कोहवरा गाउँमा भोकले एउटा मदिसे छाउरा ( बच्चा )मा¥यो रे । र अरू कति कति , को को मरे उसलाई गणना गर्ने चासो छैन , फुर्सत पनि छैन । बरु ऊ नै जीवनमा केही गर्ने तृष्णामा बढी बाँच्न मृत्युको पन्जाबाट भागीभागी हिँडि रहेछ । यसै क्रममा ऊ यो सानो सहर दमकमा आइ पुगेको हो । यो सहर, सहर त के भन्नु गाउँको अलि ठूलो बजार भने पनि भो । यहाँ मान्छेहरूको राम्रै ओइरो हुन्छ । पहाडे, मदिसे, शिक्षित अशिक्षित सबै थरीका र यो ठाउँ यस्तो हो – काम दिने मान्छेहरूको अखडा र काम खोज्ने मान्छेहरूको धुइरो ।

ऊ पनि केही काम पाउने आशामा झुण्डिदै आइ पुगेको हो बालुवाडीदेखि यहाँसम्म । तर काम पाउने यस पल्टको चान्स पनि गुमेपछि र आफूले झगडा गरेर ल्याएको अलि अलि पैसा र चामल पनि सिद्धिएपछि ऊ फेरि अति नै निराश हुन्छ एकपल्ट – जीवनदेखि नै । अबका बाँकी दिनहरू बाँच्ने रहर छैन उसलाई । तर ऊ सहजै मर्न पनि त सक्दैन । उसलाई एउटा मृगतृष्णा छ यस कुराको कि उसले पढेको छ बी.ए.सम्म । अझ त्यो पनि दोस्रो श्रेणीमा पास गरेको ऊ । त्यसैले नै उसले आजसम्म बाँच्ने साहस जुटाएको छ । सोच्छ – जीवनमा उसले गर्नु पर्ने कुरा धेरै बाँकी नै छन् । मात्रै उसलाई एउटा जागिर मिलोस् र जीवन निर्वाहको चिन्ताबाट मुक्त होस् न । यो मर्ने कुरा अनिकाललाई नै अब उसले ठेक्का दिएको छ । मर्न अब ऊ रतुवामा हामफाल्न सक्दैन । आखिर त्यहाँ पानी पनि त छैन ।

ऊ फिस्स हाँस्छ र पुनः सोच्छ – मर्नु नै छ भने पुलबाट पनि त हामफाल्न सकिन्छ । तर अहँ, यो झन्झट पनि उसले किन गरोस् ? हुन सक्छ, आगोको जस्तै बढ्दै गएको मानिसहरूको पेटमा सल्किएको ज्वालाले उसलाई पनि कुनै न कुनै दिन लपेट्न सक्छ र त्यो बेला नआउन्जेलसम्म ऊ यसरी नै आफ्ना रहरहरूको पछाडि दौडि रहन सक्छ । यसरी ऊभित्रभित्रै एउटा दृढ विश्वास बोल्छ ।

अब घामले उसको पिठ्युँ पोल्न थाल्छ । देख्छ – घामले बेन्चलाई नाघेर पनि उसको ढाडमाथि चढि सकेछ । हाई गर्दै ऊ बेन्चबाट जुरुक्क उठ्छ र पल्लो छेउमा गएर उभिन्छ । अब के गर्ने ? बाँकी दिन ? एउटा प्रश्न भएर उभिन्छ–समय उसका लागि । एउटा आस लाग्दो दिन पनि ऊबाट फुत्कियो । घडी हेर्छ – भर्खर साढे एक बज्दै रहेछ । उसलाई आजको यो दिन निकै लामो लाग्छ ।

पर देख्छ – थुप्रै केटाकेटीहरू हुलका हुल बाँधेर बाहिर निस्कि रहेका छन् । ती केटाकेटीहरू प्रायः पाँच – छ वर्षदेखि बाह्र – तेह्र वर्षसम्मका देखिन्छन् । ऊ त्यसको बोर्ड पढ्ने कोसिस गर्छ । सायद , किन्डरगार्टेन होला, तर ठम्याउन सक्दैन । सोच्छ – अब उसको काम पनि छैन । अब ऊ त्यतैतिर लम्किन्छ । देख्छ – ‘ सन राइज बोर्डिङ स्कुल ’ प्रस्ट लेखिएको बोर्ड झुण्डिएको । ऊ अब नगिचै आइ पुगेछ । देख्छ – केही केटाकेटीहरू खाजा खाँदै छन् , कोही चिप्लेटी खेल्दै छन् , कोही दौडिँदै छन् । साना केटाहरू निलो हाफपेन्ट , सेतो सर्ट र रातो टाईमा छन् र साना केटीहरू निलो स्कर्ट र सेतो सर्टमा छन् । केटाकेटीहरूको हूल देखेर उसले यस बेलाको आफूलाई सम्पूर्ण बिर्सियो ।

उसले ती कलिला नानीहरूलाई धेरैबेरसम्म हेरिरह्यो । उसलाई लाग्यो , ती कलिला नानीहरू गुलाफका थुँगा हुन् । आहा ! कत्ति राम्रा ! कतिकोमल ! उसलाई पनि ती गुलाफका थुँगामा एक पात्र भएर मिसिन मन लाग्यो । तर अब एकाएक उसलाई आफ्नो स्थितिको बोध भयो । आफ्नो बाल्यकाल यस्तै बोर्डिङ स्कुलमा नबिते पनि उसले साधारण स्कुलदेखि कलेजसम्म पढेकै हो । उसले स्कुलमा बिताएका आफ्ना दिनहरू सम्झ्यो । अहँ , उसको बाल्यकाल यिनीहरूको जस्तो त थिएन । उसले बाल्यकालमा त्यत्ति दुःख नझेले पनि त्यत्ति रमाइलो वातावरण भने पाएन तापनि उत्साहका साथ पढ्यो र आज बी.ए पासको प्रमाणपत्र बोकेर धेरै ठाउँमा आफूलाई मोलतोल गर्दै हिँडेको छ ।

सोच्छ – यदि यही स्थिति कायम रहँदै गयो भने आजको बिस वर्षपछिको भयावह परिवेश झन् कस्तो होला ? ऊ एक पल्ट आत्तियो पनि । ऊ यो स्थिति अबोध , मासुम केटाकेटीहरूलाई भोग्न दिन चाहँदैन । ती निर्दोष आत्माहरूमा समयले ल्याउने वज्रपात परेको देख्न चाहँदैन । अझ त्योभन्दा पर – ती सुन्दर सपना बुन्ने कलिला आँखाहरूमा अनायास ढाक्ने बादलहरूलाई हेर्न चाहँदैन र एउटा हुर्किन लागेको आस्थालाई बिचमै किराले खाएको ऊ सहन सक्दैन ।

बरु ऊ चाहन्छ – यदि ती कोपिलाहरूलाई फक्रिन परिवेश छैन भने ती रोपिँदै नरोपिऊन् अथवा तिनीहरूले अहिल्यै मृत्यु स्वीकार गर्नुपर्छ । आँधी , हुरी र घामको ताडनालाई सहनु पनि व्यर्थ छ । यदि यहाँ कुनै फूल फुल्न सक्दैन भने यस मरुभूमिमा यी बिरुवाहरू रोप्ने पनि कसैलाई अधिकार छैन । मर्फियाको इन्जेक्सनमा बेहोस बनाइएका सपनाहरूलाई अब ब्युँझाउनु हुँदैन । ऊ अहिले नै यिनीहरूको खुसी पुछ्न चाहन्छ …। ऊ झल्याँस्स हुन्छ – त्यो कलिलो बालकको घाँटीतिर लम्किएका उसका पन्जाहरू स्कुलको घण्टीको आवाजसँगै अनायासै टक्क रोकिन्छन्… ।

प्रतिक्रिया दिनुहोस्