एजेन्सी । अमेरिकाका सर्जन जनरल डा. जेरोमी आडम्सले जर्ज फ्लोइडको हत्याको विषयलाई लिएर गरिएको प्रदर्शनको कारणले अमेरिकामा दोस्रो चरणको संक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।
जर्जको हत्यापछि अमेरिकाका विभिन्न ठाउँमा मानिसहरुले विरोध प्रदर्शन गरिरहेका छन् । एकै ठाउँमा अत्याधिक मात्रामा भेला भएपछि दोस्रो चरणको संक्रमण हुन सक्ने आडम्सको विचार रहेको छ ।
आडम्स भन्छन्, “जातिय विभेदविरुद्धको यस प्रदर्शनले प्रदर्शनमा सहभागी भएका व्यक्ति र उनीहरुको समुदायमा पर्ने असरले मलाइ चिन्तित बनाएको छ ।”
अमेरिकाले कोरोनाको प्रकोप नियन्त्रण गर्न सकेको छैन । विश्वमा सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका बनेको छ । जोन्स होप्किन्स यूनिभर्सिटीका अनुसार अमेरिकामा कोरोना भाइरसबाट मर्नेहरुको संख्या एक लाख ६ हजारभन्दा बढी रहेका छन् भने संक्रमितको संख्या १८ लाख ३१ हजारभन्दा बढी रहेका छन् ।