Logo

अन्योलमा चामल खरीद



Spread the love

२० जेठ, काठमाडाैँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख क्विन्टल चामल खरीदका लागि तेस्रो पटक सार्वजनिक बोलपत्र आह्वान गर्दा निवेदन नपरेपछि चामल खरीद नै अन्योलमा परेको छ । कम्पनीसँग मौज्दात चामल सकिनै लाग्दा नयाँ खरीदका लागि बोलपत्र आह्वा भएको करीब दुई महिना बितिसक्दा समेत खरीद प्रक्रिया शुरु हुन सकेको छैन ।


पहिलो र दोस्रो पटकको बोलपत्र आह्वानमा कुनै निवेदन नपरेपछि बजारको अवस्थानुसार दरमा केही परिमार्जन गरी पुनः तेस्रो पटक आह्वान गरिएको थियो । व्यवसायीको आग्रहानुसार बोलपत्रमा परिमार्जन गरी तेस्रो पटक प्रकाशन गर्दा १५ निवेदन परे पनि छनोट हुन नसकेको कम्पनीले जनाएको छ ।


कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार १५ जनाको आवेदन दर्ता भए तापनि दर धेरै भएपछि छनोट हुन नसकेको हो । उनका अनुसार तेस्रो पटकको आह्वान समेत छनोट हुन नसकेपछि नयाँ विकल्पका बारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलको तयारी गरिएको छ ।

चामल खरीदका लागि पहिलो पटक गत चैत ५ गते ३० दिनको समयसीमा राखेर बोलपत्र आह्वान गरिएको थियो । त्यसैगरी दोस्रो र तेस्रो पटक १५÷१५ दिनको समय राखेर पुनः गत वैशाख १० र यही जेठ १ गते बोलपत्र आह्वान गरिएको थियो । तेस्रो बोलपत्रको समयसीमा जेठ १५ गते सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्