Logo

बुझक्कड साइँला काका ‘बिरबहादुर’



Spread the love

यत्रतत्र सर्वत्र सबै कुरा जाने बुझेको, बुझाउने प्रयास नै नगर्ने अधिक जमातको सर्वश्रेष्ठ प्रतिनिधि पात्रको रुपमा रहेका बिरबहादुरलाई एक गाउँ, समाज, सहरको कुनैपनि बस्तीमा बसोबास गरी जीविकोपार्जन गर्ने काल्पनिक पात्रका रुपमा उभ्याइएको छ ।

गन्यमान्य कुल घरानमा जन्मेकोमा बिरबहादुर आफूले आफैलाई निकै पढेको जान्ने बुझ्ने र दार्शनिक सम्झिन्छन् । उनी पेशाले भनौँ या रहर बाध्यताले भनौँ नदी किनारमा नाउँ चलाउँछन् । उसको जीविका केही हदसम्म यसरी नै चल्दैछ । परिवारको साइँला सन्तान भएर हो वा साइँलाको पहिचान नै हो, उनलाई गाउँमा प्रायः सबैले साइँला काकाका नामले चिन्दछन् । उनी गाउँमा अरुभन्दा आफूलाई सबै विषयवस्तुको ज्ञाता नै सम्झन्छन् । उनको आफ्नै छुट्टै रवाफ छ गाउँमा । कहिलेकाहीँ थोत्रो भाषण दिएरै भएपनि स्वार्थवादी राजनीतिमा समेत इच्छा राख्दछन् । संयुक्त पारिवारिक संरचना भए पनि बिरबहादुरको बसोबास भने छुट्टै छ ।

दैनिक बिहान घाट निस्कन्छन्, साँझ अबेरसम्म भए पनि देखावटी सेवा भावलाई प्रदर्शन गर्दै सेवा भावनाका नपच्ने गफ लगाउँदै यात्रुलाई नदी किनारमा त्रास र आनन्दका कथित गफ लगाएर दैनिक जीवनयापन चलाउनु साइँला काकाको नसेवा भावको संज्ञा हो । न त ती काकाले आफ्नो घर परिवारलाई सुख सयल दिनको निमित्त नै हो । यो त काकाको समयसँगै चलायमान भइ आफ्नो स्वाग देखाएर अधिक बुझ्ने भनिएका बौद्धिक वर्गको सङ्कीर्ण ट्याग लगाउन बाहेक केही होइन ।
परापूर्वकालमा राणाहरुले गर्ने कुण्ठित व्यवहारभन्दा रत्ति पनि फरक र कम छैन साइँला काकाको व्यवहार ।

उनी त बिरबहादुर आफ्नो नामलाई साँच्चिकै देशको सार्वभौमसत्ता र स्वाधिनताको निमित्त रक्षा गर्ने वीर योद्धासँग अझ कहिलेकाहीँ तुलना गर्न पनि भ्याउँछन् । कल्पनाभन्दा माथि गएर भनी दिन्छन्, साेंची दिन्छन र पो अचम्म लाग्नु यो समाजको आम नागरिकलाई सामान्य कुरा बनिसक्यो । उनको व्यवहार हेर्न समेत आम नागरिक अर्थात् समाजका अन्य जोसुकैलाई बिरबहादुर प्रतिको सोंचाई, हेराई र बुझाइ समेतले भन्न थालिसक्यो, ‘अधिक बुझक्कडको एक प्रखर पात्र ।’

साइँली काकी उजेली गाउँमै छिन् । उनका तीन छोरी छन्, छोरा भने छैनन् । काकी हालचाल गर्भवती छिन् । गर्भमा भएको भ्रुणको चेकजाँच हेरचाह खानपिनमा सन्तुलनपना इत्यादि अझै भनौँ, एउटा स्वस्थ फुर्तिलो, तन्दुरुस्त बच्चालाई जन्म दिनु अघिको शारीरिक, मानसिक, सामाजिक यावत् विषयवस्तुबारे अनभिज्ञ वा अन्जान छिन् । उजेली काकी सिर्फ बच्चा उत्पादन गर्ने मेसिन वा यन्त्रको रुपमा बाहेक ती अधिक बुझ पचाइएका बुझक्कड साइँला काकाले बुझ्ने भने होइनन् ।

साइँला काका बिरबहादुर पुरुष प्रधान देशमा पुरुषत्वको नामले राज गर्ने प्रवृत्ति र छोरा नपाए स्वर्गको ढोका नै खोलिदैंन भन्ने कथित निम्न स्तरको मानसिकताबाट ग्रसित समाजले सिकाएको कुबुद्धिलाई पालेर होस् वा छोरा नभएको आक्रोशले नै किन नहोस् उनी, काकी र ती नाबालिका छोरीप्रति दिनहुँ कुद्रताको व्यवहार प्रदर्शन गर्न भने कत्ति पनि डगमगाउँदैनन् ।

कहिले नबुझ्ने र सकरात्मक कुराहरुप्रति कहिल्यै चासो र मोह नदेखाउने प्रवृतिका ती साइँला काका बिरवहादुर वैदेशिक रोजगारीमा हिँड्छन् । उजेली काकी काकाको विदेश यात्रापछि थोरै भए पनि पारिवारिक खुसी पाउँछिन् की ? छोरीहरुको लालनपालनमा सरलता आउला की ? गाउँमा दिनहुँ शारीरिक, मानसिकताका साथ साथै सामाजिक परिवेशमा आँच आउन थोर बहुत कार्यहरुबाट छुटकारा पाइएला की ? भन्ने तमाम उनका ती निराशाबाट केही थोरै भए पनि जीर्ण आशाका त्यान्द्राहरु पलाउन थालेका छन् ।

प्रायः परिवर्तनकारीको कुरा सुन्ने, पढ्ने र परिवर्तनको पक्षधर हुँ भन्दै फुक्दै हिँड्ने ती बिरबहादुर भने कहिल्यै परिवर्तन हुन सकेनन् । साइँला काका प्रदेश गए स्वदेशमा रहेको घर, परिवार, समाज र देशप्रति प्रेम गर्लान् ? घरका काकी छोरीहरुको हेरचाह गर्लान् ? सद्भाव देखाउलान् भन्ने त कता हो कता झन निष्ठुरी सावित भैदिन्छन् । फोन गरेर गाउँघर, समाज उजेली काकी र परिवारप्रति फोन आउला भन्ने ती आशातित काकीका आँखा र छोरीका ती आशाहरु निराशामा परिणत भैदिन्छन् । उल्टै गाउँको पसले काकाको टेलिफोनबाट फोन गर्न खोज्दा समेत बेखबर भैदिन्छन ती बिरबहादुर र उनका हर खबरहरु ।

बिरबहादुर परम्परागतवादी साेंच भएका भनौँ भने जानी नजानी दर्शन र आदर्शवादका उत्कर्षमा पुगेर गफ बजारी दिन्छन् र दर्शाइदिन्छन् । अझ कुरा नबुझ्ने र अथ्र्याउन नसक्नेलाई त विचार परिवर्तन गर्न समेत बाध्य तुल्याउँछन् उनी । हरेक कुरा बुझेका गाउँमा गन्ने मान्ने सरहका व्यक्ति सम्झाैँ भने उनको त्यो क्रुद्धता, महिला हिंसा, पुरुषवादी तल्लो स्तरको सोंचाइ यस्तै उनको व्यक्तित्व र परिवेशमा प्रश्न चिन्ह खडा गर्ने ठाउँ भेटाउन जो कोहीलाई पनि सजिलै हुन्छ ।
कमाएको जति सबै आम्दानी र सम्पत्ति मद्यपान र धुम्रपान गरेर खर्चिनु, छोरीलाई कयौँ पटक जन्मेकोमा बोझपना खडा गर्नु, पारिवारिक जिम्मेवारी बहनमा हरबखत पन्छिनु यस्ता गैर जिम्मेवार विचारले भरिपूर्ण बिरबहादुरले कहिलै सम्झेनन्– छोरा–छोरी बराबर हुन भनेर ।

अझ उल्टै गाउँका सभाहरुमा बोल्न समय पाउना साथ यतिसम्म आदर्शवादी र आधुनिकता निकालिदिए की तालीले गडगडापूर्ण र स्यावासी पाए । तर, साइँला काकाले भने जति बुझेका देखेका र सुनेका कयौँ कुरा विचार र दर्शन व्यवहारमा उतार्न भने कहिलै सकेनन् ।
कि पढेर कि परेर सिकिन्छ भनिन्छ नि । उनले पढेका पनि छन् र परेका पनि । पढेर, परेर पनि केही वैचारिक र व्यवहारिक परिवर्तन गर्न नसक्नु वा परिवर्तित नहुनुलाई एक बेलाका शासकले शासितलाई गरेको दिनहुँ व्यवहारजस्तो, अमानवीयताको पराकाष्ठा जस्तो अझ भनाैँ भने परम्परागतवादी सङ्किर्ण र निम्न स्तरको सोच विचार लिएर समाज परिवर्तन गर्छौँ भन्दै हिँड्ने समाजको मूल मन्त्र र नाराबाट परिलक्षित भएजस्तो ।

हुन त नदी किनारमा नाउ खियाउँदाका बखत देखि नै यस्तै शासक र बुझक्कड व्यवहारका धनी एक्कासि भएका भने होइनन् । छोराको ठूलै चिन्तन राख्ने समाज र समुदायले कहिल्यै सिकाएन छोरीले पनि छोरा सरह नै काम गर्छन्, शाख जोगाउँछन, समाज परिवर्तनका सवालमा छोरा सरह आवाज उठाउँ छन् भनेर । उल्टै सिकायो पुरुष प्रधान देश, छोरा नै सर्वोपरी हो भन्ने धारणा । यसैको उपज स्वरुप जन्मिन्छन् बिरबहादुर पात्र साइँला काका ।

जीवनको करिब आधा उमेर भनाैँ वा पुरै जवानी बुझ पचाएर बिताएका साइँला काका भने अहिले हर बखत बेखबरकै सुचिमा छन् । उनी जीवित छन् तर उनको मानसपटलमा कैयौँ सवारलाई किनारामा वारपार गराएँ, समाज र गाउँमा भाषण गरेर परिवर्तनका नारा लगाएँ, परिवर्तनकारी उपमा समेत आफूले आफैमा लगाएँ । अन्ततः न समाज परिवर्तन भयो न त साेंचमा, न त विचारमा, न त व्यवहारमा नै ।

उजेली काकी चार सन्तानलाई लालन पालन गर्दा भोगेका, देखेका, गरेका केही पीडा, संघर्ष र मर्म कहिल्यै देख्ने, सुन्ने र प्रत्यक्षदर्शी हुने चाहना बोकेनन् बिरवहादुरले ।

उजेली काकीलाई सुत्केरी व्यथाले च्याँप्दा साइँला काका भने परदेशी भूमिमा जीविकोपार्जनको निमित्त संघर्ष गर्छन् वा विलासिता, मोज मस्तीमा उम्दा रमाएका छन् । यस चिन्ताले उजेली काकी लगायत परिवार विक्षिप्त चिन्तामा छट्पटाइरहेका छन् । आफूले जवानीमा रमाईलो गर्ने बहानामा सम्भवतः कमै क्रियाकलाप मात्र जो बाँकी रहेका होलान तर एउटा गृहिणी साइँली उजेली काकीका कति रहर चाहना र आकांक्षाहरुलाई नचाहेर पनि तुहाउन पर्यो ।

समयले कोल्टो फेर्यो, गाउँका अधिकांश मान्छेहरुमा समय सापेक्ष परिवर्तन आयो । हुँदा खानेहरु आफ्नै पौरखले हुने खाने भए । आम मानिसको बुझाई एक स्तरकै भए पनि दिनहुँ परिवर्तन भइरह्यो । गाउँमा विकास निर्माणका कार्यले स्थान पाए । गाउँको स्वरुप पनि लगभग फेरियो । कुप्रथा, विखण्डकारी वैचारिक विचारधारा राख्नेहरु पनि आधुनिकतासँगै परिवर्तन भइ समाजसँग हातेमालो गर्दै हिँडन थाले । तर, स्वयम बिरवहादुरको देखाइ, बुझाइ र गराइ भने पटक्कै परिवर्तन भएन ।

धेरै समय पछाडि बिरबहादुरको सवार हुन्छ । तर उनी झन् अभद्र, अव्यवहारिक र अपूर्ण भएर नै आए । विदेश गए पनि उनी फेरिन सकेनन् । गाउँलेहरुले उनी फेरिने कल्पना गरेका थिए । कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा हाल्यो जस्ताको त्यस्तै भन्ने उखान उनमा लागु हुन्छ । उनी त फेरि पनि सदावहार बुझपचाएका बुझक्कड साइँला काका सावित हुन्छन् ।

यस्तै बिरवहादुरको खोल ओढेका कतिपय साइँला काकाहरु हर कोही समाज, गाउँ वस्ती र गल्लीभित्र तमाम भेटिन्छन् । छोराछोरीबीच विभेदरहित व्यवहार गर्न, पुरुष प्रधानको ट्यागको अन्त्य, महिला सशक्तिकरण, महिलाप्रतिको हिंसाको अन्त्य र अहमतावादी सोचलाई न्युनीकरण गर्न बुझेको परिवर्तन र सिकेको शिक्षालाई व्यवहारमा उतारी सुनौलो र सभ्यपूर्ण परिवार, समाज र देश निर्माणको निमित्त साइँला काका बिरवहादुर पात्रको व्यवहारमा देखिएको बुझक्कडको अन्त्य हुन जरुरी छ ।


नाेट–साइँला काका बिरवहादुर र काकी उजेली काल्पनिक पात्र मात्र हुन् ।

प्रतिक्रिया दिनुहोस्