–डा. ताना शर्मा
यसपालिको असार १ गते म असाध्यै विचलित भएँ । मैले यसरी भावनात्मक रुपले कहिल्यै मन मारेको थिइनँ । यसरी मन मार्नको पनि प्रशस्त कारणहरु छन् । ती कारणहरुमध्यै प्रमुख त म यसैपल्ट म टुहुरो हुन पुग्नु पनि हो । बा हुन्जेल यस विशाल ब्रह्माण्डमा निकै चुरीफुरी गर्ने म जतिसुकै र जत्रोसुकै भए पनि भुसुनु थिएँ, तर सूक्ष्म मुसुनु भए पनि कताकता आकाशजस्तै विशाल छाति भएका मेरा बा हुनुहुन्थ्यो र मेरा शिरमाथि उहाँको स्नेहको हात थियो भनेर म ढुक्क थिएँ ।
मेरो कोही छैन, मभन्दा अनुभवी कोही छैन र मेरो रक्षामा कोही उभिंदैन भन्ने जुन त्रासले आज म कहाली छुटाइछुटाइ रोइरहेको छु, त्यसको आभाससम्म पनि मलाइ थिएन । म आफ्ना समस्त कमजोरीहरुलाई एकातिर थन्काएर परिस्थितिका भयावह पहरामा सहर्ष र सगर्व सिङ्गौरी खेल्दै आएको थिएँ ।
तर म असार १ गते निकै रोएँ । रुनु मनलाई हलुको पार्नु हो भन्ने धेरैको सोचाइ छ, तर हेर्नोस् जति रोयो उति भक्कानु फुटेर आउँछ, जति भक्कानु फुटायो उति सर्वाङ्ग थर्थराएर आउँछ र जति अंग अंग थर्थरायो उति हृदय विदीर्ण भएर आउँछ, छाती छियाछिया भएर आउँछ र मुटु नै ढक्कढक्क हुँदै बाहिर छचल्किएर आउँछ ।
असार मुसलधार पानी पर्ने समय हो । र मेरो जन्म असारमै भएको थियो । म जन्मेको बेला बेतोडसित पानी परिरहेको थियो । पूर्वको माइ खोलो र पश्चिमको पुवा खोलो तलतल उर्लेर दुबै नै हेरी नसक्ना र तरी नसक्ना भएका थिए । अरु त अरु, सस्याना खहरे खोल्साहरु समेत तँ छाड् र म छाड् गर्दै गर्जदैं र कुर्लदै ओह्रालो हुत्तिरहेका थिए ।
र म त्यसै भयावह वर्षको प्रचण्ड गर्जनलाई चिर्दै पहिलोपल्ट शिशु मुठी कसेर चिन्डे कपालमा चिच्याएको थिएँ । मैले शिशु मुठी उझाएको, विद्रोह गरेको र याँहार याँहार गर्दै कुर्लेको साठी वर्ष पुग्न लाग्दै छ र त्यही भावनाले मलाइ घरिघरि दगल्च्याइरहेको छ, पिरोलिरहेको छ र पिल्साइरहेको छ ।
ओहो ! यी साठी वर्षहरु मैले त बालक भएरै बिताएछु, ख्यालख्यालमै बिताएछु र केही पनि गर्न नभ्याई र नसकी बिताएछु । हो, यी मेरा निमेषभर जति पनि नलाग्ने साठी वर्षहरु मैले कति सरलतासाथ बिताएछु ।
अस्ति चैत्र २६ गते बिहान पाँच बजे पो एउटा नमिठो फोनले मलाइ बिउँझायोः“लौ बा त अब हुनुहुन्न ।” यसरी म बिउँझे । एउटा नितान्त खेलाँची जीवनयात्रा, एउटा लक्ष्यहीन वेवास्ताको बँचाइ र कसैका भरमा, कसैका आडमा र कसैका संरक्षणमा खेल्दै आएको एउटा अनियन्त्रित सुरेली मुटुमा एक थप्पड लागेर एकाएक ठप्प भयो, बन्द भयो, रोकियो ।
अनि जब मैले असार महिनामा टेकेँ मलाइ भाउन्न भएर आयो । यहीं असार महिनाको ९ गतेले मलाइ यस आतेशलाग्दो पृथ्वीमा खसालेको थियो । आमाको बन्द र न्यानो पेटबाट पेलिएर र ठेलिएर सालनालसहित भुइँमा एक्कासि बज्रन पुग्दा म नाङ्गो थिएँ, निम्जो थिएँ र नगण्य थिएँ । मुडुलो टाउको लिएर निःसहाय, निरुद्येश्य र निरुपाय रुँदै मैले यस भुइँमा टेकेको साठी वर्ष पुग्दै छ र यतिका वर्षसम्मको पिताको निरन्तर प्रवाहित स्नेहको नदी स्वाट्टै सुकेको हुनाले म हठात् बिउँझेको छु । म सानै छँदादेखि नै बा सम्झाइरहनुहुन्थ्यो–“ठुलाबडालाई भेट्न गइरहनु, उनीहरुको सेवा गरिरहनु !” मैले बा छउन्जेल यस पवित्र अर्तीलाई पटक्कै टेरपुच्छर लगाइँन र अब त झन् मलाइ त्यसरी मायालु पारामा सम्झाउने पनि कोही छैन । उहाँ मलाइ चाकरी गर्ने प्रोत्साहन मेरै राम्रो होस् भनेर दिनुहुन्थ्यो, तर म भने एक कानले सुनेर अर्को कानले उडाइदिन्थेँ । त्यसैले पो म यसरी आज असफल जीवन बाँचिरहेको रहेछु । म अब हठात् बिउँझेको छु ।
अरु–अरु मान्छेहरुले किरियापुत्री भएर कहर काटेको देख्दा म यस्तो संस्कारप्रति मनमनै रिसाउँथे, दुई चार शब्द विरोधमा बोली पनि हाल्थेँ र आफूलाई पनि यस्तो पर्ला भन्ने कुरामा विश्वासै गर्दिनथेँ । तर मेरा कपालमा चिसो पानी खन्याएर छुराले स्र्यार स्र्यार पार्दै नाउले खौरन लाग्दा पो म झसंग भएँः एहे ! मलाइ त फेरि पनि शिशु हुने मौका पो मिलिरहेको त होइन ? म आफ्ना जन्मदाताका लागि शिशु हुँदै थिएँ । बर्बर आँसुका दानाहरु खस्दै गए र मलाइ आफ्नो त्यति थोरै केश भएकामा ग्लानी भयो । मसित शरीरभरी भालुकैजस्तो बाक्लो केश भइदिएको भए म मेरा पिताका नाउँमा सारा रौँ खौरेर शरीरभरी पहाड थुपारिदिन्थेँ र त्यति मात्र होइन, त्यस्तो बाक्लो झ्यापुल्ले केश काट्ने बित्तिकै उम्रने भइदिएको भए साठी वर्ष काट्दै उम्रँदै गरेका समस्त मेरा केशहरु म आफ्ना प्यारा बाको लागि त्यस दिन खौरिदिने थिएँ । तर मैले जतिसुकै स्नेह प्रकट गर्न खोजे पनि, रोए पनि र केश खौराए पनि मेरा बा अब फर्कनुहुन्नथ्यो । अनि समस्त ब्रह्माण्ड मेरो चिल्लो टुहुरो टाउकामा फननन घुम्न थाल्यो ।
टाउको बेस्मारी घुम्दै थियो, आँखामा तिरिमिरी झ्याइँ पार्दै थियो । जुत्ता वा चप्पल नलगाई पहाडको ढुङ्गेनी गोरेटोमा जीवनको पहिलोपल्ट ओह्रालो झर्दा मैले आफूलाई एकातिर विवश, व्यथित र विपन्न पाइरहेको थिएँ भने अर्कातिर पिता गुमाएपछि हुने असुरक्षित स्थिति र मानवको सहायताहीन आदिम युगको सामञ्जस्यले म दार्शनिक भइरहेको थिएँ ।
खुला आकाशमुनि साबुन प्रयोग नगरी चिसो धाराबाट लोटामा पानी भरी चिण्डे टाउकोमा खन्याउँदाको अनुभव सृष्टिमा मानवले पाएको चेतनाको पहिलो झुल्को झैं मेरो मस्तिष्कमा फुर्यो । सातै जनाले नुहाइसकेपछि सेता धोतीले शरीर ढाकेर हामी ढिकुरातर्फ लाग्यौँ । एकातिर मलाइ दाजुभाइको आपसी सहयोग प्रतीकात्मक लाग्यो भने अर्कातिर दाउरा बालेर आफै पकाइने तरकारी, दाल र अचारबिनाको आदिम निस्तो भाग केराको पातमा बाँडेर खाँदा मनुष्य विकासको इतिहास दोहोर्याइएको अनुभूति भयो । अप्ठ्यारो भन्दा अप्ठ्यारो परिस्थिति पर्दा पनि मानिस बाँच्दै र बढ्दै आएको कुराको ज्ञान दिन नै यस्तो संस्कार चलाइएको त थिएन ? पिता नहुँदा दाजुभाइमा हुनुपर्ने स्नेह र सहयोगको भावना नुहाउँदा, खाँदा, लहर लागेर उकालो ओह्रालो गर्दा र सुत्दा प्रतिबिम्बित भएको मैले देखेँ । चाहे भुइँमा पराल र त्यसमाथि राढी ओछ्याएर कम्मल ओढी लहरै खाँदाखाँद गरेर सुत्दा होस् चाहे नुनबिनाको घिउ र चिनीसित तात्तातो भात पातमा खाँदा होस् अथवा बाहिरका कसैलाई नछोइ सेता धोती बेरी बस्दा, निख्खर पानीमात्र लगाएर लुगा पखाल्नु, माटाले भाँडा माझ्नु, नांगै खुट्टा हिँड्नु र तीतेपातीको डाँठले दाँत माझ्नु प्रारम्भिक युगकै द्योतक थिए । संस्कारले समग्र क्रियाकलापले मलाइ जीवनका अपरिवर्तनीय सत्यहरु, इतिहासको विकासक्रम र शारीरिक तथा मानसिक शुद्धिको ज्ञान दिइरहेका थिए । वास्तवमा हाम्रा संस्कारको पालनामा म जीवनकै पाठ पढिरहेको थिएँ ।
दसौँ दिनको बिहान हामी दाजुभाइले एकार्काका छोटा केश फेरि खौरिदियौँ । छर्छती रगत निस्क्यो र तीतेपाती निचोरेर त्यसको हामीले रगत बग्नबाट रोक्यौँ । छरछिमेकहरु भन्थेः विचराहरुलाई ज्यादै कष्ट भयो, तर हाम्रा दिनहरु क्स्तो वेगसाथ बिते भने तेह्र दिन त झिमिक्क आँखा झिम्काएजस्तै हामीबाट चिप्लेर गए । मेरा पितामा पचासी हिउँदहरु र मेरा साठी वर्षहरु ती तेह्र दिनजस्तै खुस्केर हेर्दाहेर्दै चढ्दै गएजस्तै सारा कुराहरु रमिता हुँदे गए, उदाहरण बन्दै गए, भविष्यका मार्गदर्शन बन्दै गए । तेह्र दिनसम्म शोक मनाउँदाका समस्या घटनाहरु सभ्यताको क्रमिक विकासका ज्वलन्त नमुना पो रहेछन्, कर्तव्यप्रति सजग पार्ने साधना पो रहेछन् र सांस्कृतिक गरिमाका बुँदाहरु पो रहेछन् ।
हाम्रा पिताको शरीर खरानी नै भएर गयो । यो यस्तो यथार्थ थियो जसलाई म केही गरेर पनि रोक्न, छेक्न र फेर्न सक्दिनथेँ । मेरा लागि पिताको पचासी वर्षको आयु पनि छोटोजस्तो, उहाँको देहावसान असामयिकजस्तो लाग्छ ।
खाइ नखाइ रातदिन उहाँ मोटर हिँड्ने बाटाहरु बनाउनमा तल्लीन भएको, छिमेकीहरुलाई पानी खुवाउन दशतिर व्यवस्था मिलाइ हिँडेको र इलामको पूर्वी भेगमा अंग्रेजी विद्यालयहरु खोल्न र चलाउन घरि इलाम, घरि विराटनगर, घरि कलकत्ता र घरि काठमाडौं धाएका सारा दृश्य मेरा अगाडि नाचिरहेकै छ । हो, धेरैले यी कुराहरुलाई बिर्से होलान् र नयाँ पुस्तालाई त विकास त्यसै जङ्गदारी उम्रेझैं स्वाभाविक रुपले उम्रेको भन्ने लाग्ला, तर मेरा लागि भने पशुपतिनगरदेखि फिक्कलसम्म, बुधबारेदेखि माई खोलासम्म र विशेषगरी गोदकमास्तिरको सुकवीर गोलाइबाट गाडीमा गुज्रँदा बाकै अनुहार, बाकै त्याग र बाकै योगदानको झझल्को भइरहन्छ ।
र साठी वर्ष बित्दै छन् र म किन बाले देखाएका बाटामा हिँडिन वा हिँड्न पाइन भनेर भित्रभित्रै पिरोलिन्छु । जसैजसै्र दिन, महिना र वर्षहरु बित्दै जान्छन् मनमा कहाली छुट्दै जान्छ, छाती बटारिंदै जान्छ र आँखा बर्सिँदै जान्छन्, खनिदै जान्छन्, आइरिदै जान्छन् ।
असार हो, पानी दर्किनै पर्छ । मान्छे हुँ, आँखा खुलेपछि आँसु खनिदै जान्छ, बग्दै छचल्किँदै जान्छ ।