एजेन्सी । कोरोना भाइरसको सन्त्रासले सारा संसार थर्कमान भएको छ । अधिकांश देशमा लकडाउन गरिएको छ । मानिसहरु घरमै थुनिएका छन् । आउनुहोस् जानौँ, विश्वमा कहाँ के भइरहेको छ ?
१. विश्वभर कोरोना भाइरसबाट ५८ लाख तीन हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने ३ लाख ५९ हजार ७९१ जनाले ज्यान गुमाएका छन् ।
२.अमेरिका विश्वको सबैभन्दा धेरै प्रभावित राष्ट्र हो । अमेरिकामा १७ लाख २० हजार संक्रमित रहेका छन् भने मर्नेहरुको संख्या एक लाख एक हजारभन्दा धेरै रहेको छ ।
३.संक्रमणको हिसाबले ब्राजिल विश्वको सबैभन्दा दोस्रो ठुलो देश हो । ब्राजिलमा कोरोना भाइरसबाट ४ लाख ३८ हजार संक्रमित भएका छन् भने २६ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।
४.रुसमा ३ लाख ७९ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । तर, रुसमा मर्नेहरुको संख्या भने न्यून रहेको छ । रुसमा कोरोना भाइरसबाट ४ हजारभन्दा बढीको ज्यान गएको छ ।
५. बेलायतमा कोरोना भाइरसबाट २ लाख ७० हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने मर्नेहरुको संख्या करिब ३८ हजार पुगेको छ ।
६.स्पेनमा २ लाख ३७ हजारभन्दा धेरै संक्रमित छन् भने २७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
७. चीनमा २८ मेको दिन पाँच नयाँ संक्रमित फेला परेका छन् । यी संक्रमितमा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन ।
८.इङ्ग्लिस प्रिमियर लिग जुन १७ बाट सुरु हुने बताइएको छ । प्रिमियर लिगसँगै इटालीयन साइड सिरी ए पनि जुन २० बाट सुरु हुनेछ । यसभन्दा अगि बुण्डेसलिग मे १६ बाट सुरु भइसकेको छ । स्पेनिस लिग ला लिगा पनि जुन ११ बाट सुरु हुनेछ ।
९.अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको उत्पत्ति भएपछि चीनविरुद्ध बोलिरहेका हुन्छन् । उनले फेरि कोरोना भाइरसलाई चीनले दिएको निकै खराब उपहार भनेका छन् ।
१०. कुनै पनि अमेरिकाको निकै प्रभावित क्षेत्र बनेको न्यूयोर्कमा लकडाउन खुकुलो गरिने भएको छ । न्यूयोर्कमा जुनको दोस्रो साताबाट लकडाउन खुकुलो गरिनेछ ।
११.अफ्रिका महादेशको इथोपियामा तिव्र गतिले कोरोना भाइरसको संक्रमण बढेको छ ।
१२. वल्र्ड फुड प्रोग्रामले ल्याटिन अमेरिकन र क्यारिबियन राष्ट्रहरुमा करिब १४ मिलियन मानिसलाई खाद्य संकट हुनसक्ने बताएको छ । कोरोना भाइरसले यस साल खाद्य संकटको खतरालाई बढाएको छ ।
१३.दक्षिण अफ्रिकाको सरकारले लकडाउन खुकुलो बनाउने घोषणा गरेको छ । दक्षिण अफ्रिकामा २७ मार्चपछि साताको चार दिनको लागि रक्सी बिक्री गर्न पाइने अनुमति दिइएको थियो । यसै गरी चर्चमा एक पटकमा पचास मानिस जम्मा हुन पाउनेछन् ।
१४. अमेरिकामा बेरोजगारीको संख्या बितेको १० सातामा चार करोड पुगेको छ । गएको साता २१ लखले बेरोजगारी भत्ताको लागि निवेदन दिएका थिए ।
१५. बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले बेलायतमा घरभन्दा बाहिर सोमबारबाट समूहमा ६ जनासम्म मिल्न सक्ने बताएका छन् । फ्रान्सका प्रधानमन्त्रीले बार र रेस्टुरेन्ट खोल्नको लागि अनुमति दिइसकेका छन् ।